सोलुखुम्बु । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उहाँका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिनुभयो ।
सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको थियो ।
आङ्रिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मनुभएका आङरिताको पुर्रख्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलोपटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।
आरोहणका क्रममै रहनुभएका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उहाँ बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उहाँ आरोहणमा नगएको परिवारको भनाइ छ ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित हुनुभएको थियो ।
दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उहाँकी छोरी डोमाले बताउनुभयो ।
यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ । आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । उहाँको सात वर्षअघि पत्नीको निधन भएको थियो ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ