लण्डन कोरोनाको ‘हटस्पट’ बन्न केही दिन मात्र बाँकी

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण लकडाउन र कर्फ्यु लगाइएका इङ्ल्याण्डका उत्तर पूर्वी र उत्तर पश्चिमी क्षेत्रहरु भन्दा लण्डन दुई वा तीन दिन मात्र पछि रहेको भाइरस संक्रमणको विश्लेषकहरुले बताएका छन् ।

स्काइ न्युजका अनुसार संक्रमणको विस्तारमा ती क्षेत्रहरुलाई लण्डनले भेट्टाउनै लागेको छ ।

विश्लेषकहरुले केही दिनअघि गरेको विश्लेषणमा ती क्षेत्रहरुको दाँजोमा लण्डनमा संक्रमण फैलन दुई साता लाग्ने बताइएको थियो । तर पछिल्लो समयमा लण्डनमा ह्वात्तै संक्रमण बढेको पाइएको छ ।

भाइरस संक्रमणको आक्रामक अवस्था थाहा पाएपछि लण्डनका मेयर सादिक खानले सरकारलाई तत्काल नियन्त्रणकारी कदम चाल्न अनुरोध गरेका छन् । उनले रेष्टुरेन्ट तथा बारहरुको खुल्ने समय कटौती गर्न सुझाव दिएका छन् भने घरैबाट काम गर्न मिल्नेहरुलाई कार्यालय नआउन पनि उनले सुझाएका छन् ।

लण्डनमा यससाता  (सेप्टेम्बर ११ सम्ममा)२ हजार २८९ कोरोना संक्रमित भेटिएका छन् जबकि अगिल्लो साता जम्मा १ हजार ८२२ जना मात्र संक्रमित थिए ।

लण्डनभित्र रेडब्रिज बोरोमा प्रति एक लाख मानिसमा ३९दशमलव २ कोरोना पोजिटिभ भेटिएको छ भने हाउन्स्लो मा ३७ दशमलव ३ र इनफिल्डमा ३० दशमलव ६ भेटिएको छ ।

तर लण्डनका कुनै पनि बोरोमा हालसम्म लकडाउन गरिएको छैन। जबकि प्रति एक लाख मानिसमा ३९ दशमलव ५ पोजिटिभ केस भेटिएको काउन्टी डर्हममा स्थानीय लकडाउन लगाइसकिएको छ ।

कोरोना संक्रमणको दर प्रति १ लाख मानिसमा ४० भन्दामाथि जानासाथ सरकारले लकडाउन लगाउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री