एनआरएनएमा लैङ्गिक विभेद !

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले संस्थाका कामकारवाहीमा द्धैध चरित्र प्रदर्शन गरेका छन । गत ४ देखि ६ सेम्टेम्बरसम्म अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक र दोस्रो ज्ञान सम्मेलनमा महिला प्रतिनिधित्व नभएकोमा आत्माआलोचना गर्ने र सम्मेलन उत्कृष्ट गरेको भन्दै आयोजकलाई बधाई ज्ञापन गर्ने दुवै काम एकै पटक गरि द्धैध चरित्र प्रदर्शन गरेका हुन ।
क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलनमा संघका उपाध्यक्ष रवीना थापा, संयोजक भोमा लिम्बु र डा. बिष्णुमाया परियारलगायतलाई कार्यक्रमको निमन्त्रणा समेत नदिई महिला प्रनितिधित्व शुन्य गराउने क्षेत्रीय संयोजक राजन त्रिपाठीलाई उत्कृष्ट कार्यक्रम आयोजना गरेको भन्दै बधाई दिएको  विज्ञप्ती बुधबार जारी जारी भएको छ । संघ अध्यक्ष पन्तद्वारा हस्ताक्षरित विज्ञप्तीमा क्षेत्रीय संयोजक राजन त्रिपाठीलाई उत्कृष्ट सम्मेलन आयोजना गरेकोमा बधाई दिएका छन । अमेरिकाज क्षेत्रका अमेरिका र क्यानाडालाई एकै पटक बधाई ज्ञापन गर्दै महिला प्रतिनिधित्वका बिषयलाई अध्यक्ष पन्तले सामान्य रुपमा लिदै खासै मान्यता दिएका छैनन् । उल्टो सम्मेलनको प्रसंसा गरेका छन ।
तर, अध्यक्ष पन्तकै सल्लाह र सुझाबमा संस्थागत धारणा बाहिर ल्याउने संघका प्रवक्ता डिबी क्षेत्रीले अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठकमा महिला प्रतिनिधित्व हुन नसकेकोमा आत्माआलोचना गरेको विज्ञप्ती बुधबार नै जारी गरेका छन । पन्तकै अध्यक्षतामा बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालयको बैठकले महिला प्रतिनिधित्वका कमि कमजोरी र त्रुटीका बारेमा आत्माआलोचना गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोराउने प्रतिवद्धता व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ । वैठकले महिला तथा यूवाहरुको सकृय सहभागिता विना एनआरएन अभियान अपुरो हुने भएकाले उनीहरुको सहभागीताको वातावरण बनाउने समेत निर्णय गरेको छ ।
उक्त बैठकमा क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय यूवा संयोजक बिमला सापकोटा र राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरेको उपस्थिति थियो ।

 

 

एनआरएनएमा लैङगिक विभेद
यसैवीच, गैरआवासीय नेपाली संघको भित्रको लैङगिक विभेद विश्वभर उजागर हुदै सतहमा आएको छ । विश्वभर ८० भन्दा धेरै ठाउँमा राष्ट्रिय समन्वय समिति गठन गरेको संघले गत साता अमेरिकाज क्षेत्रीय सम्मेलन र ज्ञान सम्मेलनमा महिला प्रतिनिधित्व गराउन असफल भएपछि संस्थाका नेतृत्वकर्ताहरुको नियत उजागर भएको हो ।
गत ४, ५ र ६ सेप्टेम्बरमा अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला तथा दोस्रो ज्ञान सम्मेलनमा महिला प्रतिनिधित्वलाई स्थान नदिएपछि चर्काे विरोध भएको थियो । उक्त विरोध लगत्तै एक जना महिलालाई हतारमा गरि झुक्याएर सम्मेलनमा बोलाइएको थियो । अमेरिकाज क्षेत्रबाट संघमा प्रतिनिधित्व गर्ने संघका उपाध्यक्ष रवीना थापा र महिला संयोजक भोमा लिम्बु, आईसिसि सदस्य डा. बिष्णुमाया परियारलाई निमन्त्रणा समेत गरिएको थिएन ।

उक्त घटनालाई लिएर क्षेत्रीय संयोजकहरुले संघको नेतृत्वको कार्यशैली प्रति भत्सर्ना व्यक्त गरेका छन । गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रका उप-संयोजक राम सि पोखरेल, संघ अमेरिकाज क्षेत्रीय महिला संयोजक उमा कार्की थापा र संघ अमेरिकाज, क्षेत्रीय यूवा संयोजक बिमला सापकोटाले छुट्टाछुट्टै प्रेस विज्ञप्ती मार्फत संघको लैङगिक विभेदका बिरुद्ध खेद व्यक्त गरेका हुन ।
तीन क्षेत्रीय संयोजकले संघ अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, महासचिव हेमराज शर्मा र सचिव गौरीराज जोशीलाई ध्यानाकषर्ण गराउदै महिलाहरुले उठाउनु भएको प्रश्नहरुको समयमै उचित सम्बोधन गर्ने तर्फ पहल गर्न विशेष आग्रह गरेका छन ।

विज्ञप्तीहरु :

आदरणिय सम्पुर्ण गैरआवसिय नेपाली दाजुभाई तथा दिदिबहिनिहरु र सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक नमस्कार .!!

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ४ देखी ६ सम्म आयोजना भैरहेको यहाँहरु सम्पूर्णलाई सर्वविदित नै छ। यतिखेर हामी प्रवासमा छौ , र प्रवासमा रहने महिला पुरुष दुबैको आशा केन्द्र रहेको गैर आवासिय नेपाली संघमा मैले शुरुदेखी आफ्नो तन मन र धन सहित एनआरएनए युएस्एलाई सक्दो सकेको सहयोग गर्दै आएको हुँ। लामो समयदेखी सामाजिक क्षेत्रलाई निरन्तरता दिंदै एनआरएन अमेरिका मार्फत सम्पूर्ण नेपाली दाजु भाई, दिदी बहिनीहरुको हक र हितको निम्ति समयको माग अनुसार आफुसंग भएको सक्षमता र अनुभवलाई लिएर यहाँसम्म आईरहँदा आज सम्पन्न भएको उद्घाटन कार्यक्रममा व्यवस्थापन गर्ने साथीहरुले आधा आकाश ढाकेका महिला आमा दिदी बहिनिहरुको साख गिराउने काम गरेको म अत्यन्त दुखीत छु। उद्घाटन कार्यक्रममा एनआरएनए भाईस प्रेसिडेन्ट, आईसिसि महिला संयोजकलगायत महत्वपूर्ण महिला नेतृहरुको घोर अपमान भएकोले यो कुप्रवृतिको घोर भत्सर्ना गर्दछु। नेपाली समाज पुरुषवादी सोचले आक्रान्त छ भन्ने धेरैलाई लागिरहेको बेला यो कटु सत्यले अझ गाँजेको महसूस गरेको छु। जीवनमा ठुलो संघर्ष पार गर्दै नेत्रित्वमा पुगेर समाजलाई आशा र प्रेरणा दिनु हुने महिला नेत्रीहरुले बोल्ने प्रभावशाली कार्यक्रम महिलाको आवाज मा सहभागी हुँदै गर्नु भएका वक्ताहरुले उद्घाटन सत्रमा आधा आकाश ढाकेका सिङ्गो महिला जगतको अपमान भएको महसूस गर्दै सो कार्यक्रममा सहभागी नहुने सुचना दिनु भएकोले दु:खको साथ भोली सेप्टेम्बर -५ तारिख हुन गईरहेको “Women voice “कार्यक्रम रद्द गर्न गरिएको सुचना दिन पर्दा हृदय छिया-छिया भएको छ । यस दु:खद घडीमा गैरआवासीय नेपाली संघका क्षेत्रीय महिला संयोजक (अमेरिकाज) को हैसियतले सम्पूर्ण महिला दिदिबहिनिहरुलाई यस अपमान विरुद्द आवाजप्रती ऐक्यबध्दता जनाउनु हुन आग्रह समेत गर्दछु । यस अवस्थामा हाम्रा आदरणिय पुरुष दाजु भाईहरुले समेत हामीमा भएका मानव अधिकारको हनन र यो घोर अन्यायको विरुद्द हामीलाई साथ दिन विनम्रतापुर्वक आग्रह गर्दछु। अन्तमा सम्पूर्ण महिला दिदि बहिनिहरुको हक़ , हित र शसक्तिकरणको लागि सदैव तत्पर रहेको प्रतिबध्दता सहित महिला एकता तथा समानतालाई सहकार्यमा रुपान्तरण गरौ र हैकम वादी सोचलाई बदलौ भन्दै सम्पूर्णमा सहयोगको लागि अपील गर्न चाहन्छु । धन्यवाद!

उमा कार्की थापा क्षेत्रीय महिला संयोजक (अमेरिकाज ) गैरआवासीय नेपाली संघ

 

आदरणीय सम्पूर्ण गैर–आवासीय नेपालीमा नमस्कार ।

गैर– आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रको आयोजनामा यही सेप्टेम्बर ४ देखि अमेरिका क्षेत्र स्तरीय क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय ज्ञान सम्मेलन संचालन भैरहेको छ । ३ दिने सम्मेलनको दोस्रो दिन सम्म आइपुग्दा बिभिन्न फोरमहरु संचालन भैरहेका छन् । यस सम्मेलनका क्रममा भएका फोरमहरुमा आधा आकाश ढाकेको महिलाको सहभागिता शुन्य प्राय: देखिदा त्यसले साच्चिकै लज्जाबोध गराएको छ ।

अझ भन्ने हो भने गैर आवासीय नेपाली संघको अभियानमा सँग सँगैं पाइला अघि बढाइरहनुभएका दिदी– बहिनीहरुलाई पनि यस्ले पिडा दिएको अनुभूति मैले पनि गरेको छु । पक्कैपनि महिला सहभागितालाई लिएर सामाजीक संजालहरुमा विभिन्न टिका टिप्पणी र आलोचनाहरु प्रकट भएका छन् । यो विषयलाई लिएर विरोधका स्वरहरु पनि बाहिर आइरहेको छ, यसले संस्थाको आगामी कार्यक्रमहरूमा महिलाको सम्मानजनक सहभागिता गराउनका लागि सकारात्मक सन्देशको प्रवाह गरेको छ भन्ने मलाई लाग्दछ छ । अहिले जारी सम्मेलनमा महिलाको सहभागिता शुन्य प्राय: गराईएको अवस्थालाई लिएर एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय वैठक तथा सम्मेलनका लागि अहोरात्र खटिनु भएकी अमेरिकाज क्षेत्र महिला संयोजक उमा कार्की थापा र क्षेत्रीय युवा संयोजक बिमला सापकोटाले त बिज्ञप्ती नै जारी गरी सम्मेलनमा महिलाको सहभागीता सुनीश्चीत नगरिएको भन्दै भेला तथा सम्मेलन बहिष्कार गर्नु भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितीका महिला उपाध्यक्ष रविना थापाले समेत सम्मेलनमा आफुलाई औपचारीक रुपमा नबोलाइएको भनाई व्यक्त गर्नुभएको छ । साथै एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला संयोजक भोमा लिम्बु , आइसिसी सदस्य डा. बिष्णुमाया परियार र सामाजीक अभियन्ता तथा एर्टोनी अभिमा उप्रेतीले पनि सम्मेलनमा महिला सहभागीता नगराईएको भन्दै सामाजीक संजालहरुमार्फत दु:ख व्यक्त गर्दै विरोध गर्नुभएको छ । समानता र स्वतन्त्रताको आधारभुमि मानीने अमेरिकाज क्षेत्रले आयोजना गरेको ज्ञान सम्मेलनमा महिला सहभागीताको बिषयलाई लिएर यसखालका टिका टिप्पणी आउने अवस्था बन्नु ज्यादैं दु:खद पक्ष हो । ज्ञान, सिप, क्षमता र जिम्मेवारीका हिसाबले दक्ष महिलाहरु हुँदा हुँदैपनि सम्मेलनमा सम्मानजनक रुपमा महिला सहभागीताको सुनिश्चीतता बेलैमा गराउन नसक्नु ठुलो र गम्भिर कमजोरी हो । अमेरिकाज क्षेत्रको उप–संयोजकको हैसीयतले सम्मेलनमा भएको यो कमजोरी प्रति नैतीक जिम्मेवारी मैलेपनि लिनै पर्दछ । तर यति भनिरहँदा यो पनि भन्नै पर्दछ व्यवहारत: कार्यक्रम कसरी गर्ने र कुन रुपवाट लैजाने, कुन–कुन व्यक्तिहरुलाई सहभागि गराउने, कार्यक्रमहरुलाई कसरी व्यवस्थित गराउने जस्ता विषयहरुमा एनआरएनए अमेरिकाज क्षेत्रीय समितिमा त्यो रुपवाट छलफल हुन नसकेको पनि यहाँहरु सबैमा प्रष्ट पार्न चाहन्छु ।

अहिले जारी क्षेत्रीय कार्यक्रमको सन्दर्भमा क्षेत्रीय समिति बढी जिम्मेवार हुनुपर्ने हो र जवाफदेही पनि हुनुपर्ने भएकाले सबै कार्यक्रमसँग सम्बन्धित विषयहरुमा क्षेत्रीय समिति निर्णायक हुनुपर्नेमा त्यस्तो हुन नसक्नु पनि अहिले देखिएको कमजोरी हुनुको एउटा कारण हो भन्ने मलाई लाग्दछ । सम्मेलन तथा क्षेत्रीय वैठकको उद्घघाटन देखि लिएर अन्य फोरममा बेलैमा महिलाको सम्मानजनक सहभागीता सुनीश्चीतता गराउन नसकेकोमा मेरो भागको नैतीक जिम्मेवारी लिंदै म सम्पुर्ण एनआरएन महिलाहरुसमक्ष माफी माग्दछु । साथै कार्यक्रमको उद्घघाटन समारोहमा अमेरिका,क्यानडा लगायत यस क्षेत्रमा पर्ने देशहरूमा सक्रीय नेपाली संघ संस्थाका व्यक्तित्वहरूलाई आमन्त्रण गर्न नसकिएकोमा र यी बाहेक पनि देखिएका अन्य कमजोरी प्रति पनि माफी चाहन्छु ।

हामीले यत्रो ज्ञान र सिप आदान–प्रदानका कुरा गरिरहँदा महिलाको सहभागीतालाई बिर्सनु हुँदैनथ्यो । दक्ष महिलाहरुको खोजी गरी उहाँहरुलाई ज्ञान र सिप आदान प्रदानको यो अभियनामा बढी भन्दा बढी सहभागी गराउन सक्नु पर्दथ्यो । गल्ती भएकै हो । अब यसबाट पाठ सिकेर आगामी दिनमा हरेक कार्यक्रम, फोरम र अभियानमा महिलाहरुको सम्मानजनक सहभागीताको सुनिश्चितता गर्न सम्बद्ध सबै पक्षहरुसँग म आग्रह गर्दछु । यसतर्फ विशेष ध्यान दिन , किन यस्तो हुन गयो र आगामी दिनमा यस्तो हुन नदिनका लागि के गर्न सकिन्छ त्यसबारे विशेष चासो राख्न एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्त , अमेरिका क्षेत्रका पूर्व क्षेत्रीय संयोजक समेत रहनुभएका हालका आइसिसी उपाध्यक्ष सोनाम लामा , महासचिव डा.हेमराज शर्मा , अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय संयोजक हालका आइसिसी सचिव गौरीराज जोशीको पनि बिशेष ध्यानाकर्षण गराउँदै महिलाहरुले उठाउनुभएका प्रश्नहरुको बेलैमा उचित सम्बोधन गर्नेतर्फ पहल गर्न पनि विशेष आग्रह गर्दछु । धन्यवाद । जय एनआरएन ।

राम सि. पोखरेल उप– संयोजक गैर आवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र

 

नमस्कार बुवाआमा, दिदिबहिनी तथा दाजुभाइ दु:खका साथ केही कुराहरु शेयर गर्दैछु ।

अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला तथा दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ४, ५ र ६ का दिन भैरहेको कुरा सम्पूर्णमा जानकारी भएकै हो । अहिलेको २१औं शताब्दी, त्यसमा पनि अमेरिकामा यसरी समान प्रतिनिधित्वको लागि लडाईं लडनु पर्ने कस्तो लज्जास्पद परिस्थिती! ८० भन्दा बढी देशमा आफ्नो सन्जाल फैलाउन सफल भएको NRNA र यस्का अभियन्ताहरुले आफ्नै दिदिबहिनी सहकर्मिलाई समाबेशि ढंगले अगाडि बढाउन नसक्नु आँफैमा आपत्तिजनक छ । हिजो सम्पन्न भएको NRNA Americas Region को उद्घाटन समारोहमा पहिला योजना भए अनुसार एउटा पनि महिला प्रतिनिधित्व नभएको अवस्थामा हाम्रो घोर बिरोध पछि १ जना महिला देखाउनका लागि उपस्थित गराइनुको कुनै औचित्य छैन। हामी एकातिर युवा प्रतिनिधि, महिला प्रतिनिधिको माग गर्छौ काम गर्ने बेलामा तर जब नेत्रीत्वमा प्रबर्धन गर्ने बेलामा तल्लो स्तरको कन्जुस्याइँ किन ? यसरी NRNA का बिभिन्न मुद्दाहरुमा छलफल गर्नका लागि आयोजना गरिएको क्षेत्रीय भेलाको उद्घाटन समारोहमा NRNA का मुख्य ब्यक्तिहरु, ग्लोबल नेत्रित्व, संयोजक तथा अन्य बिभिन्न संघ संस्थालाई समाबेश नगरिनु त्रुटीपूर्ण छ । युवा पुस्ता तथा महिला सहभागिताकालागी आन्तरिक रुपमा धेरै पटक आह्वान गर्दा पनि कुनै सुनुवाई नभएको अवस्थामा अर्थात हाम्रो अस्तित्व स्वीकार नगरेको अवस्थामा कुनै पनि कार्यक्रम गर्नुको औचित्य नरहेकोले आज हुने भनेको युवा आवाज कार्यक्रम रद्ध गरिएको कुरा जानकारी गराउन चाहन्छु। यसका साथै समानता, सम्मान र प्रबर्धनका लागि हाम्रो यस अभियानमा साथ दिनु हुन सम्पूर्ण युवा दिदिबहिनी/दाजु भाई तथा बुवाआमालाई हार्दिक अनुरोध गर्दछु ।

बिमला सापकोटा क्षेत्रीय युवा संयोजक, अमेरिकाज

प्रतिक्रिया

सम्बन्धित सामाग्री