कुलवीरको शालिक निर्माण : अभियन्ता राईद्धारा एक हजार १५ पाउण्डको प्रतिबद्धता

राई दम्पत्ति चेक हस्तान्तरण गर्दै

अल्डरसट (बेलायत)।प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागिका सामाजिक अभियन्ता शुशिला राई र नरेन्द्रकुमार राईले एक हजार १५ पाउण्डको प्रतिवद्धता व्यक्त गरेका छन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूके आईसिसि सदस्य राई र उनका श्रीमान् राईले मंगलबार एक हजार १५ पाउण्डको आर्थिक सहयोगको प्रतिवबद्धता व्यक्त गरेका छन । किरॉंत राई यायोख्खा यूकेका केन्द्रीय सदस्य राई र आईसिसि सदस्य राईद्वय अभियन्ता समेत हुन ।

राजनीतिज्ञ स्वर्गीय रामप्रसाद राईको पारिवारिक पृष्ठभूमिका हुर्किएकी श्रीमति राईको संयोजनमा गत बर्ष नेपालका तराई क्षेत्रका बाढी पीडितलाई आर्थिक वितरण गरिएको थियो । सामाजिक अभियन्ता तथा एनआरएनए आईसिसि सदस्य राईले थापाको शालिक निर्माणमा सहयोग गर्न पाउँदा खुशि लागेको बताइन् । बेलायतको मिनी नेपाल मानिने अल्डरसटमा बन्न लागेको प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागिका सहयोग आउने क्रम जारी छ ।
गोरखा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लागत लाग्ने अनुमान गरिएकोमा छोटो समयमै आधा भन्दा बढी रकमको प्रतिवद्धता प्राप्त भएको छ ।
नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोरखाहरुको योगदानका बारेमा बेलायतका नेपालीको आगामी पुस्तालाई जानकारी दिन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको थापाले बताए ।
शालिक राख्नका लागि स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटीले सन् २०१५ देखि काउन्सिलसित अनुरोध गर्दै आएकोमा रसमुर काउन्सिलले अनुमति दिएको छ । काउन्सिलले अल्डरसट हाइस्ट्रिटको प्रिन्सेस गार्डेनमा सो शालिक राख्ने अनुमति दिएको हो ।
काउन्सिलले सो क्षेत्रको सुरक्षाका साथसाथै शालिकको मर्मतसम्भार र हरेक वर्ष परेडसमेत आयोजना गर्ने आस्वासन दिएको थापाले जानकारी दिए । तर शालिक बनाउन लाग्ने खर्च भने बेलायतका नेपाली समुदायबाटै उठाइने उनले बताए । “यो बेलायतबासी नेपालीहरुको लागि गौरवको योजना हो । त्यसैले नेपालीहरुबाटै बाँकी पैसा उठ्ने पूर्ण विश्वास छ ।”
गत फेब्रुअरीदेखि मात्र काम शुरु गरेको प्रोजेक्टले कोरोनाको महामारीकै बीच करिब २५ हजार पाउण्ड संकलन गरिसकेको छ । १ हजार पाउण्डभन्दा माथि चन्दा दिनेहरुको नाम शालिकसँगैको शिलालेखमा राखिने भएपछि यस्तो ऐतिहासिक काममा सरिक हुन नेपाली संघसंस्था र समाजसेवी व्यवसायीहरुले जागरुकता देखाएका छन् । प्रोजेक्टले एकैपटक चन्दा दिन असमर्थहरुका लागि छ महिनामा किस्ता गरेर तिर्न सकिने पनि बताईएको छ ।

प्रोजेक्टको मुख्य कार्यका रुपमा रहेको मूर्ति निर्माणका लागि आर्ट काउन्सिलबाट स्वीकृति मिलिसकेको छ भने प्रतिष्ठित कलाकार एमी गुडम्यानले भिसी कुलवीर थापाको मूर्ति बनाउने जिम्मा पाएकी छिन् । उनले बनाएका मूर्तिहरु विभिन्न स्थानमा प्रतिस्थापन भइसकेका छन् भने उनको कलाको प्रदर्शनी पनि भइसकेको छ । पूर्ण कदको मूर्ति बनाउन करिब ६६ हजार पाउण्ड लाग्ने बताइएको छ ।
प्रशस्त चन्दा संकलन भएमा शालिकसँगै चौतारा बनाउने र त्यसमा चन्दादाताहरुको नामावली, भिसी कुलवीर थापाको संक्षिप्त जीवनी लेख्ने प्रोजेक्टको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री