बेलायतमा जाडो याममा झण्डै लाखको ज्यान जान सक्ने

 

तस्बिर : फाइनान्सिलय टाइम्स

लन्डन । बेलायत सरकारको वैज्ञानिक समितिले जाडोयाममा कोभिड–१९ का कारण धेरै मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ । सेज वैज्ञानिक समूहको प्रतिवेदनमा ८५ हजार जनासम्मको कोभिड १९ का कारण ज्यान जान सक्ने उल्लेख गरिएको छ ।
बेलायतका संचार माध्यमको एक गोप्य प्रतिवेदनमा कोभिड १९ नियन्त्रण गर्न सरकारलाई विभिन्न सुझावसमेत दिइएको छ । यद्यपी, विद्यालयहरू भने खुलाइ राख्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
बीबीसी न्युज नाइटले सो गोप्य दस्तावेज फेला पारेको हो । सो समूहले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र स्थानीय निकायहरूलाई जाडोयामका केही महिना शवगृह व्यवस्थापन, दाहसंस्कार र अन्य सेवाबारे पूर्वतयारी गर्न सजिलो होस् भन्ने उद्देश्यले सरकारका लागि प्रतिवेदन बनाएको हो ।

दस्तावेजको मुख्य अनुमानमा विद्यालय खुला रहनेछन् र सरकारको ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइन परिधि कोभिड संक्रमण रोक्न घरपरिवार बाहिर ४० प्रतिशतमात्र प्रभावकारी हुने उल्लेख छ । प्रतिवेदनले जुलाई २०२० देखि मार्च २०२१ सम्मको सबैभन्दा बढी मृत्युलाई अड्कल गरेको छ ।

यसले इंग्ल्यान्ड र वेल्समा कोभिड १९ का कारण ८१ हजार जना र कोभिडबाहेक अन्य रोगले २७ हजार मर्न सक्ने जनाएको छ । स्कटल्यान्डमा २ हजार ६ सय र नर्दन आयरल्यान्डमा १ हजार ९ सय जनाको कोभिड–१९ का कारण मृत्यु हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कार्ल हेनेगनले उक्त दस्तावेजमा गरिएका अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो संक्रमण लहरबाट केही नसिकिएको देखाएको बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।

यसअघि प्रधानमन्त्री बोरिस जोन्सनलाई बैज्ञानिहरुले यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने खतरासँग जुध्न एउटा सार्वजनिक छानबिन गराउन आह्वान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री