काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुर्ण पालना गर्दै जनजीवन ठप्प पारेर कोरोनाविरुद्ध एकता देखाइएको छ । सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र बस्तीमा चहलपहल शून्य बनेको छ । गएराति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ । सुरक्षाकर्मी सबेरै ४ बजे सडकमा परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ ।
उल्लङ्घन गर्नेलाई कारबाही
तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उल्लङ्घन गर्ने करिब तीन हजार सवारी साधनसहित चालकलाई कारबाही गरिएको छ । त्यस्तै एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा एक घण्टा राखेर कारबाही गरिएको छ ।
महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएर कारबाही गरिएको बताए । निषेधाज्ञा उल्लङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू कारबाहीमा परेका छन् । आफूखुसी सञ्चालनमा आएका सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।
कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेलामा पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखरलखर सडकमा हिँड्दा सुरक्षाकर्मी जोखिममा रहेको उनले बताए ।
सामग्री किन्न टाढा नजानू
“यो निषेधाज्ञा नागरिकको सुरक्षाका लागि हो”, महानगरीय प्रहरी प्रमुख पोखरेलले भने “आफू बाँचे पो आफन्त भेट्न सकिन्छ । जबरजस्ती सडकमा नआइदिनुहोस् ।” कतिपय स्थानमा खाद्यान्न किन्न भन्दै मोटरसाइकल र कार चढेर बाहिर निस्केको पाइएको छ । खाद्यन्न सामग्री, दूध र औषधि खरिद गर्दा आफू बस्ने बस्ती नजिकैको औषधि पसल, किराना पसल र डेरीमा जान आग्रह गरिएको छ । कुनै अप्ठ्यारो परेमा वा स्वास्थ्य तथा सुरक्षासम्बन्धी समस्या परेमा सडकमा तैनाथ सुरक्षाकर्मी तथा प्रहरी कन्ट्रोल १०० मा फोन गरी सहयोग लिन आग्रह गरिएको छ । सो कार्यमा प्रहरीले सहजीकरणसमेत गरिदिने जनाइएको छ ।
अत्यावश्यक पसल नियमित
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामान खरिद बिक्रीका लागि किराना, तरकारी, दुग्धजन्य डेरी र पानी पसल नियमित सञ्चालनमा रोक लगाइएको छैन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाअन्तर्गत औषधि, खाद्य पसल, तरकारी, दूध डेरी र पानी पसल सञ्चालनमा रोक नलगाइएको स्पष्ट पारेको छ । तर पसल सञ्चालक र ग्राहकले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेको भने हुनुपर्नेछ ।
पसल सञ्चालक तथा ग्राहकले मास्कको प्रयोग अनिवार्य र एक मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने हुन्छ । त्यस्तै सामग्री खरिद गर्न घरबाहिर निस्कँदा वा पसलबाहिर दुईजना भन्दा बढीको भीड गर्न निषेध गरिएको छ ।
अत्यावश्यकलाई मात्र अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ति जारी गरी अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधनबाहेक अन्य सवारी साधनलाई काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको जनाएको छ ।
अत्यावश्यक सामग्री खाद्यान्न, तरकारी, फलफूल, पानी, दूधजन्य पदार्थ, इन्धन, औषधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको स्पष्ट पारेको छ । राति १२ बजेदेखि नागढुङ्गामा रोकिएका सवारीलाई मध्यरातमा काठमाडौँ भित्तयाउने तयारी गरिएको छ ।
त्यससँगै अन्य ढुवानीका सवारी साधन निषेधाज्ञा नहटेसम्म उपत्यकाबाट बाहिरिन र भित्रिन पाउने छैनन् । नागढुङ्गामा रोकिएका अधिकांश सवारी साधन निर्माणजन्य सामग्री र औद्योगिक कच्चा पदार्थ बोकेको सवारी साधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आजबाट सहजीकरण
बैङ्क तथा वित्तीय संस्थासँग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ । निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाए पनि शुक्रबारबाट बिहान ९ बजेदेखि १०:३० बजेसम्म र अपराह्न ३:३० देखि ५:३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।
विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले कार्यालयबाट जारी फोटो सहितको परिचयपत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । (गोरखापत्र)
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]