‘रुसले विकास गरेको खोप माथि विश्वास गर्ने आधार छैन’

तस्विर : स्काई न्यूज

लन्डन – कोरोना संक्रमणका कारण लाग्ने रोग, कोभिड-१९, को रोकथामका लागि आफुले खोप विकास गरेको भन्ने रूसी दावी स्वीकार गर्न पर्याप्त आधारहरु नभएको विज्ञहरुले जनाएका छन्।
ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै ब्रिटेनको युनिभर्सिटी अफ बर्मिङ्घममा क्लिनिकल फार्मेसी विषयका सिनियर लेक्चरर डा. विभु पौड्यालले रुसले उत्पादन गरेको खोपलाई पश्चिमा मुलुकहरुमा सावधानीपूर्वक हेरिएको बताए। “उनीहरुले तेश्रो चरणको वृहत् स्तरको परिक्षण गरेनन् जसमा १०,००० भन्दा बढी मानिसहरुलाई सहभागी गराइन्छ,” उनले भने।
“रुससंग खोप विकास गर्न चाहिने प्रविधि र वैज्ञानिक ज्ञान छ, त्यसैले यो खोपले काम गर्न पनि सक्छ तर यो खोपको विकासमा पारदर्शी प्रक्रिया नअपनाइएकाले विश्व स्वास्थ्य संगठन र बांकी विश्व उक्त खोपलाई स्वीकार गर्न अनिच्छुक छन्,” युरोपियन सोसाइटी अफ क्लिनिकल फार्मेसी रिसर्च कमिटिका अध्यक्ष पनि रहेका पौड्यालले भने।
“अहिले कोरोनाको भ्याक्सिन उत्पादनमा विश्वका विभिन्न मुलुक लागिपरेका छन् । तर यस्ता भ्याक्सिन तुरुन्तै बजारमा आउन सम्भव छैन । विभिन्न तहका परीक्षण गरेर त्यसको नतिजा हेर्न वर्षौं कुर्नुपर्ने हुन्छ । हतारमा भ्याक्सिन बनाएर भविष्यमा हुने अन्य जोखिमको बारेमा पनि सावधान हुनुपर्दछ । बेलायत लगायतका विभिन्न मुलुकका वैज्ञानिकहरुले केही चरणको सफलता भएको दावी गर्दै आएका छन्, तर यसको दीर्घकालीन असरको बारेमा भने निकै समय लाग्न सक्छ,” पौड्यालले भने।
‘सफल खोप तयार गरेको घोषणा’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार आफ्नो मुलुकले कोरोना विरुद्ध सफल खोप तयार गरेको घोषणा गरेका थिए।
उनले रुसी नियामक निकायले उक्त खोप प्रयोग गर्न स्वीकृति प्रदान गरेको बताए।
उनले आफ्नी छोरीलाई पनि उक्त खोप दिइएको जनाएका थिए।
रुसले विभिन्न देशबाट उक्त खोपको एक अर्ब मात्राका लागि माग आइसकेको दावी गरेको छ।
मस्कोले तत्कालिन सोभियत सङ्घले १९५० को दशकमा प्रक्षेपण गरेको पहिलो भू-उपग्रहको नाममा उक्त खोपको नाम स्पुत्निक-५ राखिएको जनाएको छ।
अहिले संसारभरि कोराना विरुद्ध १०० भन्दा बढी खोप विकास गर्ने प्रयास भैरहेका छन्।
ती मध्ये ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयको टोलिले विकास गरिरहेको खोपको अहिलेसम्मको नतिजा सकारात्मक रहेको जनाइएको छ।
चिन र भारतमा पनि कोराना विरुद्ध खोपको विकास भैरहेको समाचारहरुमा जनाइएको छ।
सन् २०२१ को शुरुमा मात्रै भरपर्दो पहिलो खोप आउन सक्ने जानकारहरु बताउंछन्।
तर संसारभरि अरबौं जनतालाई खोप पुराउन वर्षौं लाग्न सक्ने उनीहरुको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री