आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: १९:३२ | UK Time: 14:47

नेपालीमा मोटोपनाको जोखिम बढी: डा न्यौपाने

वीनेपाली
२०७७ साउन २३ गते ७:४८

लन्डन । कोरोना भाइरस संक्रमित जटिलतामा जाने सम्भाव्य कारकमा मोटोपनाको उच्च दर मानिएको छ, जसले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार (रिकभर) हुने सम्भावना कम हुने चिकित्सकहरुको बुझाइ छ ।

ब्रिटिश सरकारले आउंदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको सम्भाव्य दोश्रो लहर शुरु हुनु अघि देशभर मोटोपना घटाउने अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट टाइप २ मधुमेह जस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने अधिकारीहरुको विश्वास छ ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि सघन उपचार आवश्यक पर्नुको कारण आफ्नो मोटोपनालाई दोष लगाएको बताइएको थियो ।

त्यसैले पनि ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले ‘मोटोपना विरुद्धको लडाईं’ नामाकरण गरिएको अभियानमा प्रधानमन्त्री आफैंले रुचि देखाएको ठानिएको छ । अहिले प्रधानमन्त्री जोन्सन मानिसहरुलाई साइकल चलाएर मोटोपना घटाउन उत्प्रेरित गरिरहेका छन् ।

बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा डायबेटिज एण्ड इन्डोक्राइनोलोजी कन्सल्टेन्ट डा. संकल्प न्यौपाने (एमबीबीएस, एफआरसीपी, पीएचडी) मोटोपनाले डायबेटिज, मुटु सम्बन्धि रोग (कार्डियोभास्कुलर), श्वासप्रश्वास समस्या, हाड जोर्नी दुख्ने, क्यान्सर, ब्लड प्रेसर आदि रोगहरू निम्त्याउने बताउंछन् ।

डा. न्यौपानेको भनाइमा मानिसहरुको जीवनशैली परिवर्तन, कसरत कम, खेल्ने ठाउं अभाव, फास्टफुड खाना, (हाइ कार्बोहाइड्रेट, फ्याट बढि), बजारमा सजिलै खाना उपलब्ध, मेसिनको काम बढी, हिंडाइ कम आदिले गर्दा मोटोपना बढिरहेको छ ।

पश्चिमी देशको तुलनामा नेपाल लगायत दक्षिण एसियाली मानिसमा मोटोपनाको जोखिम बढि देख्छन् क्याम्ब्रीज विश्वविद्यालयबाट डायबेटिज विषयमा विद्यावारिधि (पिएचडी) होल्डर डा. न्यौपाने।

दक्षिण एसियाली मानिसमा मोटोपना निर्धारण गर्ने बीएमआइ (बडी मास इन्डेक्स) क्राइटेरिया नै फरक हुने न्यौपानेको भनाइ छ । उचाईंमा एडजस्टेड तौलका आधारमा बीएमआइ नापिन्छ ।

चिकित्सकका अनुसार, १८.५ देखि २५ नर्मल बीएमआई ( वजन इन केजी / हाईट इन मीटरस्क्वायर), २५ देखि ३० ओभरवेट, ३० भन्दा माथि ओबिज मानिन्छ । मोटोपना अर्थात् ओभरवेट वा ओबीज पुगेपछि विभिन्न रोग देखिन थाल्छ ।

दक्षिण एसियालीमा २३ भन्दा माथिको बीएमआई नै ओभरवेट मानिन्छ र २५ माथिलाई ओबिज भनिन्छ । अर्थात्, पश्चिमी सामाजको तुलनामा दक्षिण एसियाली व्यक्ति कम वजनमा मोटोपनको वर्गीकरणमा पर्ने गर्छ ।

तौलको आधारमा मात्र मोटोपना मान्न नहुने डा. न्यौपानेले बताए । ‘६ फुटको मानिससंग ५ फुटको मानिसको वजन दांज्न त भएन नि’, उनी भन्छन्, ‘अग्लो मान्छेको तौल र होचोको तौल फरक पर्छ ।’

नेपालीलाई मोटोपनाको बढि जोखिम देख्छन् उनी । नेपालीमा ३, ४ वटा रोग संगै जोडिएका पाइएको छ, जसलाई चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिन्ड्रम’ भनिन्छ । विशेष गरि अहिले नेपालीमा मेटाबोलिक सिन्ड्रम (कम शारिरीक गतिविधि भएर हुने), मोटोपना, हाइ ब्लड प्रेसर, पेटको बोसो बढि, उच्च कोलस्ट्रोल आदि समस्या एकैचोटी पाइएको छ ।

पेटको फ्याट (एबडोमिनल फ्याट) धेरै किसिमका रोगहरूसंग जोडिएको छ। ‘खाएन भने रोग लाग्छ, दुब्लाइन्छ’ भन्ने गलत मानसिकता धेरैमा रहेको उनी बताउंछन् । खाना सन्तुलित हुनुपर्छ। ‘बिरामीहरु थोरैमात्र भात खान्छु तर पेट किन बढ्छ बुझ्दिन् भन्छन् तर भात बाहेक अरु साइड खाजा अथवा खाना धेरै खांदा मोटोपना झन् बढिरहेको छ’, डा. न्यौपानेले सुनाए ।

जिम जानु मात्र शारीरिक कसरत नहुने डा. न्यौपानेको बुझाइ छ । सिंढीबाट तलमाथि गर्ने, सामान्य हिंडाई, घरको काम, गोडमेल ईत्यादि पनि कसरतका प्रकार हुन् । ‘यसले वजन नघटेपनि धेरै थरिको रोग कम हुन्छ, मानिसको आयु बढ्छ’, उनले भने ।

मोटोपनाले ह्दयाघात वा पक्षघात (स्ट्रोक) को जोखिम पनि बढाउंछ । डा. न्यौपानेका अनुसार, मुटुलाई सप्लाइ गर्ने रक्त नली ब्लक भएर रगत नपुगेपछि हार्ट अट्याक हुन्छ । दिमागमा पुग्ने रक्त नली ब्लक भए पक्षघात (स्ट्रोक) हुन्छ ।

बोसो, कोलेस्ट्रोल जस्ता फोहोरले मुटुभित्रको रक्तनली (साना रगतका पाइप) ब्लक गराइदिन्छ । त्यसकारण रक्त प्रणालीको सरसफाइ आवश्यक ठान्छन् न्यौपाने । स्वास्थ्य खाना, व्यायामले ब्लकेज कम गराउंछ ।

नेपालीमा ‘जेनेटिक रिक्स’ पनि भएकाले हार्ट अट्याक, मुटुको रोग, स्ट्रोक आदि बढी पाइएको छ ।

मधुमेह (डायबेटिज) पनि कोभिड १९ संक्रमण भएपछि सिरियस (जटिल) बनाउने प्रमुख कारण मानिएको छ । डा. न्यौपानेका भनाइमा जीउको इन्सुलेनले काम नगरेपछि डायबेटिज हुन्छ । मोटोपना भए इन्सुलेनले काम गर्न छाड्छ ।

इन्सुलेनले रगतको सुगरलाई टिस्यू (अंग) मा पुरयाएर सदुपयोग गर्छ । जेष्ठ नागरिकमा भने पातलो अवस्थामा नै डायबेटिज लाग्न सक्ने डा न्यौपानेले बताए ।

टाइप वान डायबेटिज भने अलग किसिमको डायबेटिज हो। यो बाल्य अथवा युवावस्थामा नै देखिन सक्छ । इन्सुलेन बनाउने अंगले काम गरेन भने सुगरको मात्रा बढ्छ । यो (टाइप वान मधुमेह) भने मोटोपनाले हुँदैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक