सेप्टेम्बरदेखि कोरोनाविरुद्धको खोप उत्पादन गर्ने रूसको दाबी

मस्को। रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को शुरू सम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।

रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ । मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रूसले दावी गरेको छ ।

“हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,” उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्न सक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछौँ । अर्को वर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।”

खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् ।
स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सोमबार भन्नुभयो, “गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यक प्रक्रिया सुरू भइरहेको छ ।”

“साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको छ र अर्को दुई महिनामा मानव परीक्षण सुरु हुनेछ,” मुराश्कोले भन्नुभयो ।

गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यान्सिनोले उत्पादन गरेको खोपलाई काममा लिएको छ । चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ ।

अनुसन्धानकर्ता र निर्देशकहरूले केही महिना अघि खोपको प्रोटोटाइपलाई अनधिकृतरूपमा आफूमा प्रयोग गरेपछि गमलेया इन्स्टिच्यूट आलोचनाको शिकार बनेको थियो । विशेषज्ञहरूले यस कदमलाई अपरम्परागत शैलीको रूपमा आलोचना गरेपछि मानव परीक्षण सुरु गरिएको थियो ।

वैज्ञानिकहरूले एएफपीलाई भनेका छन् कि रूसले यसको खोपलाई ठूलो उत्पादनमा अनुकूलन गर्न सङ्घर्ष गर्नेछ किनकि रूसमा भाइरल भेक्टर जस्ता उन्नत टेक्नोलोजी, कच्चा पदार्थ, पर्याप्त सुविधा र अनुभवको अभाव छ ।

केही रूसी अधिकारीहरूले सोभियत युगमा पहिलो स्याटेलाइट उत्पादन गर्ने अन्तरिक्ष दौडसँग दाँजेर यसको भ्याक्सिन ल्याउने देश पहिलो हुने बताएका छन् ।

यसैबीच रूसी गुप्तचर सेवासँग सम्बन्धित ह्याकर समूहले पश्चिमी प्रयोगशालाबाट कोरोनाभाइरस खोपको बारेमा जानकारी चोरी गर्न खोजेको भन्ने बेलायत, संयुक्त राज्य र क्यानडाका आरोपहरू खारेज गरेको छ ।
रूस कोरोनाभाइरस सङ्क्रमणका हिसाबले संयुक्त राज्य अमेरिका, ब्राजिल र भारत पछि विश्वमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री