लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल विश्व सभ्यताको केन्द्र र विभिन्न जातजाति, भाषाभाषीको साझा फूलबारीको रुपमा रहेको बताएका छन्।
बेलायतको जेठो नेपाली साहित्यिक संस्था, नेपाली साहित्य विकास परिषद्को स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा आयोजित रजत वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राजदूत सुवेदीले भने, “ जीवन्त जातिले देश ज्यूँदो राख्छ, जीवन्त देश विश्व सामु सगर्व उभिन्छ।”
कोरोना संक्रमणका कारण सभा समारोह गर्न सम्भव नभएकाले परिषदले आफ्नो स्थापनाको रजत वार्षिकोत्सव समारोह जूम मिटिंग मार्फत आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पनि रहेका राजदूत सुवेदीले परिषदको साहित्यिक प्रकाशन लालीगुराँसको विशेष रजत स्मारिका, परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको ’फूलको मुस्कान’ गीत संग्रह, कवि गोपाल पराजुलीको कृति ‘अ सोल्जर इन सर्च अफ पिस’ तथा बेलायतलाई कर्मथलो बनाएका सामाजिक व्यक्तित्व सुरेन्द्र नेपाल श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तकहरुको विमोचन पनि गरेका थिए। उनले नेपाली साहित्य विकास परिषद् यूकेले प्रदान गरेको ‘नेपाली साहित्य विकास परिषद् यूके रजत पदक तथा अभिनन्दन पत्र’ पाउने व्यक्ति तथा संस्थाहरुको नाम पढेर सुनाएका थिए।
कार्यपत्र प्रस्तुत
कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष सुरेशजंग शाहले बेलायतमा ‘नेपाली साहित्य र नेपाली साहित्य विकास परिषद् यूके’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा परिषद्का सल्लाहकार तथा वरिष्ठ साहित्यकार गोपाल पराजुली, डा. राघव प्रसाद धिताल, खगेन्द्र नेपाली, प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. खगेन्द्र प्रसाद लुइंटेल, डा. माधवी भट्ट लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन कृष्ण भट्टले गरेका थिए।
सन् १९९५ जुलाइ १३ का दिन लन्डनमा स्थापना गरिएको नेपाली सहित्य विकास परिषद् यूकेले विसं २०७४ मा नेपालमा पनि शाखा खोलेर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
नेपाली साहित्यको संरक्षण गर्ने उद्देश्यले परिषदले विविध कार्यक्रम गर्दै आएको परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठले बताए । उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए।
सोमबार भानु जयन्तिको अवसरमा बेलायतको समय अनुसार बिहान ११ बजेदेखि साहित्यिक कार्यक्रम आयोजना गरिने परिषद्ले जनाएको छ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
एनआरएनएको अध्यक्षमा जापानबाट रोबिन शेरचनको उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिबद्धता सार्वजनिक