बिहीबार, साउन २९ २०७७ | Thu, August 13, 2020
नेपालको समय: १६:३९ | UK Time: 11:54

बेलायतमा चम्कँदै नेपाली महिला कानुन व्यवसायीहरु

नरेश खपाङ्गीमगर
२०७७ असार २४ गते ९:२७

    बायाँबाट क्रमश स्नेहा श्रेष्ठ, अनिता सुवेदी, सरिता घर्तीमगर,लुना राई, जिनिता पन्धाक र कृति शेरचन

दश वर्षअघि बेलायतमा नेपाली कानुन व्यवसायी खोज्नु पर्यो भने कालीगण्डकीमा शालिग्राम खोजे जस्तै हुन्थ्यो । नेपाली सोलिसिटरको संख्या एक/दुई जना मात्र थियो । तर विगत एक दशकमा बेलायतमा नेपालीहरुको जनसंख्या मात्र थपिएको होइन विभिन्न पेशा व्यवसायमा पनि नेपालीहरुको उपस्थिति बाक्लो हुँदैछ । कानुन व्यवसायमै हेर्ने हो भने अहिले करिब २० जना नेपाली मूलका कानुन व्यवसायीहरु छन् । अझ नियालेर हेर्ने हेर्दा त्यसमा आधा संख्या त महिलाहरुको छ ।
बेलायतमा हुर्कँदै गरेका नेपाली मूलका नयाँपुस्ताका महिलाहरुलाई कानुन व्यवसायमा लाग्न के कुराले आकर्षित गर्यो त ? निक्कै बढी मिहिनेत र समय लाग्ने कानुन व्यवसाय नै उनीहरुको रोजाइ किन बन्यो ? के कानुन व्यवसाय महिला मैत्री छ ? अरुलाई न्याय दिलाउने कानुन व्यवसाय भित्रै भेदभाव कत्तिको छ ? यसै बारेमा हामीले बेलायतमा कार्यरत केही महिला कानुन व्यवसायीहरुको प्रतिनिधि विचार प्रस्तुत छौँ ।

जिनिता पन्धाक, सोलिसिटर

हल विश्वविद्यालयबाट कानुनमा स्नातक र बीपीपी ल स्कुल लण्डनबाट कानुनमा स्नातकोत्तर जिनिता पन्धाक सन् २०१६ देखि कानुन व्यवसायमा हुनुहुन्छ । उहाँ हाल ह्वाइटहेड मोन्कटन नामक कम्पनीमा कार्यरत हुनुहुन्छ ।
तपाईलाई कानुन क्षेत्रमा लाग्न के कुराले प्रेरित गर्यो ?
मैले स्कुलमा ‘ए’ लेभलमा कानुन पढेँ र मलाई पढ्न, लेख्न र व्याख्या विश्लेषण गर्न असाध्यै मन लाग्थ्यो । त्यसैले मैले विश्वविद्यालयमा कानुन पढ्ने निश्चय गरेँ । अहिले केही वर्षदेखि कानुन व्यवसायमा सक्रिय हुँदा मलाई कानुनको संरचना र व्यावहारिक पक्ष मन पर्यो ।
कानुन व्यवसायी बन्नलाई के कस्ता अफ्ठ्याराहरु छन् ?
कानुन व्यवसायी बन्नलाई विभिन्न चुनौतीहरु छन् र यो व्यक्तिगत अवस्थामा पनि भरपर्छ । जस्तो कि युकेमा सोलिसिटर बन्नका लागि अपरिहार्य व्यावहारिक कोर्सका लागि आफैँ खर्च जुटाउनु पर्यो भने निक्कै असजिलो छ किनकी यो सस्तो छैन ।
के कानुन व्यवसाय अरु पेशाभन्दा बढी महिलामैत्री छ ?
म मेरो अनुभव मात्र बताउन सक्छु र मेरो सामान्य अनुभव सकारात्मक नै छ किनभने म पुरुषहरुभन्दा महिलाहरुसित बढी काम गर्छु । मलाई विश्वास छ अहिले युकेमा पुरुषहरुभन्दा धेरै महिलाहरु कानुन व्यवसायमा छन् । तथापि मैले थाहा पाएको छु कि उच्च भूमिकाहरुमा महिलाहरुको प्रतिनिधित्व कम छ ।
यस पेशामा जातीय भेदभाव कत्तिको हुन्छ ?
कानुन व्यवसायमा यो इस्यु छ कि छैन मलाई थाहा छैन तर मैले अहिलेसम्म त्यस्तो भेदभावको अनुभव गर्नुपरेको छैन ।
अन्त्यमा केही भन्नु छ कि ?
यदि कसैलाई पढ्न र लेख्नमा रुचि छ भने म उहाँहरुलाई कानुन पढ्न प्रोत्साहन गर्छु । कानुनको अध्ययनले तपाईलाई कुनै पनि पेशामा जानको लागि सोचाइ, लेखाइ र व्याबहारिक सीप दिलाउँछ ।

स्नेहा श्रेष्ठ, पहिलो नेपाली महिला ब्यारिष्टर

युकेका नेपाली ब्यारिष्टरहरुमध्ये स्नेहा श्रेष्ठ एक मात्र महिला हुन् । किँग्स कलेज लण्डनमा कानुन पढेकी उनी ननप्राक्टिसिङ ब्यारिष्टर हुन् ।
तपाईलाई कानुन क्षेत्रमा लाग्न के कुराले प्रेरित गर्यो ?
मैले कानुनले व्यक्तिको जीवनमा कति गम्भीर असर पार्छ भन्ने अति सानै उमेरमा अनुभव गरेँ । मेरो इमिग्रेसन स्टाटसका कारण १२ वर्षको उमेरमा मलाई विद्यालयबाट फ्रान्स जाने टोलीमा जान दिइएन । मेरो पिताले भन्नुभयो – के गर्ने कानुन नै यस्तो छ । त्यस घटना (भलै त्यसबेला दुखद अनुभव थियो)ले मेरो रुचि कानुन क्षेत्रमा बढायो र अहिले मलाई बारमा पुर्याएको छ ।
मेरो कानुन अध्ययनका क्रममा मैले पुष्पा बस्नेतद्वारा स्थापित अर्ली चाइल्डहुड डेभलपमेण्ट सेण्टर, नेपालमार्फत जेलमा रहेका महिलाका बच्चाहरु, महिला पुनर्स्थापना केन्द्र र एडभोकेसी फोरम, नेपालमार्फत घरेलु हिंसा र मानवअधिकार पीडितहरुसित तथा प्रोटिमोजमार्फत अफ्रिकामा बिना योजना बसोबासरत आदिवासी समुदायसित काम गर्न पाएँ । उहाँहरुका बारेमा आवाज उठाउँदा कानुनमा उहाँहरुको जीवनमा सुधार ल्याउने शक्ति रहेको पाएँ । यसले मलाई मानिसहरुका अधिकारका बारेमा अदालतमा आवाज उठाउने सीपको विकास गर्नमा प्रेरणा मिल्यो ।
कानुन व्यवसायी बन्नलाई के कस्ता अफ्ठ्याराहरु छन् ?
तीव्र प्रतिस्पर्धा : प्युपिलेज(ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम) गर्न दिने च्याम्बरहरुभन्दा बार प्रोफेसनल ट्रेनिङ कोर्स गरेका ग्राजुयट्सहरु धेरै छन् । तथ्यांक हेर्यो भने कहाली लाग्छ । औसतमा प्युपिलेज पाउन बार स्कुल सकेपछि तीनवर्षको समयावधि लाग्छ ।
चर्को शुल्क : बार प्रोफेसनल ट्रेनिङ कोर्सका लागि छ महिनाको १८ देखि १९ हजार पाउण्ड शुल्क लाग्छ र यो शुल्क सरकारबाट पाइँदैन । कोर्सको अन्त्यमा प्युपिलेज ग्यारेण्टी पनि हुँदैन र खोज्दाखोज्दै वर्षौँ बित्छ । यदि पाँच वर्षमा प्युपिलेज पाइएन भने फेरि तालिम गर्नपर्ने हुनसक्छ (कुनै कुनै अवस्थामा समय थपिन पनि सक्छ) ।
स्वयंसेवा : बारमा छानिनुका लागि तपाईमा रुचि र क्षमता छ भन्ने प्रमाणित गर्न कैयौँ स्वयंसेवाका कार्यहरु गर्नुपर्ने हुन्छ । यस्तो स्वयंसेवा कानुनी केन्द्रहरु, च्यारिटीहरु, मिनी प्युपिलेज र इन्टर्नसीपहरुमा हुन्छन् । पहिल्यै आर्थिक बोझमा परिसकेका विद्यार्थीहरुलाई यस्तो स्वयंसेवा कर्म थप चुनौतीपूर्ण हुन्छ ।
यो पेशाका लागि तपाईसित जस्तोसुकै बाधा व्यवधान आए पनि सफल गरेरै छाड्छु भन्ने प्रतिवद्धता र स्वअनुशासन चाहिन्छ । लगन, धैर्यता, दृढता, लचकता आवश्यक पर्छ र त्यस्तो क्षमता नभएको मानिस बारबाट निस्कनु पर्ने हुन्छ ।
के कानुन व्यवसाय अरु पेशाभन्दा बढी महिलामैत्री छ ?
सन् १९२८ सम्म बेलायतमा महिलालाई मताधिकार नै थिएन । सन् १९१९ सम्म कतिपय पेशामा महिलाहरुलाई प्रवेशमा बन्देज थियो । बेलायतमा सन् १९२२ मा पहिलो महिला ब्यारिष्टर बन्ने मौका आईभी विलियम्सलाई प्राप्त भयो । सन् १९६२ मा एलिजावेथ लेन काउण्टी कोर्टको पहिलो महिला न्यायाधीश भइन् भने सन् १९६५ मा हाइकोर्टमा महिला न्यायाधीश नियुक्त भएको इतिहास छ । अहिलेसम्ममा कानुन क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । अहिले आधाजस्तो ब्यारिष्टर महिला भएको बताइन्छ । तर पनि यो पर्याप्त छैन भनेर भनिएको छ त्यो जायज पनि छ । हामीले महिला व्यारिष्टरहरुको प्रगतिलाई ऐतिहासिक ढंगबाट हेर्नुपर्छ । हामीहरु लामो यात्राबाट आएका छौँ । एक शताब्दीअघि महिलाहरुलाई ब्यारिष्टर बन्न दिइँदैनथ्यो । ५० वर्षअघि करिब १०० जना मात्र महिला ब्यारिष्टर अभ्यासरत थिए । पेशाका रुपमा बारमा हुनुपर्ने जति महिलामैत्री नभए पनि बितेका केही दशकहरुमा यसमा सुधार हुँदै आएको छ । हालसालै मात्र महिला ब्यारिष्टरहरुलाई बारले आकर्षित गर्न थालेको छ । समान अवसरका लागि प्रोत्साहन गर्न थालेको र कार्यस्थलमा महिलामैत्री वातावरण बनाइन थालेको छ ।
धेरैवर्ष कानुन अध्ययन गर्दा र भेटेका महिला कानुन व्यवसायीहरुसित अन्तर्क्रिया गर्दा उहाँहरुबाट प्रोत्साहन पाएको छु । बेलायतमा धेरै राम्रा महिला ब्यारिष्टर र न्यायाधीशहरु छन् । जस्तो कि ब्यारोनेश हेल (सर्वोच्च अदालतका पूर्व न्यायाधीश) र जो डेलाहुन्टी क्युसी आदि ।
यस पेशामा जातीय भेदभाव कत्तिको हुन्छ ?
निश्चय पनि बारमा भएका भेदभावका बारेमा धेरै कहालीलाग्दा कथाहरु पनि छन् । कतिपय सन्दर्भमा यो पेशा अक्सफोर्ड र क्याम्ब्रिजमा पढेका, कुलीन वर्गका, इंग्लिशहरुको पेशा हो पनि भनिन्छ । तथापि यो भनाइले अहिलेको बारलाई प्रतिविम्वित गर्दैन । मैले नेपाली मूलको भएकै कारण भेदभाव भएको पाएको छैन तर बेलायतको बारमा पूर्वाग्रह र वर्गीय दम्भका बारेमा भने सुनेको छु । यी लगायत महंगो शुल्क र तीव्र प्रतिस्पर्धाका कारण पनि एसिएन र अफ्रिकन मूलका मानिसहरुका बीच ब्यारिष्टर पेशा त्यति लोकप्रिय छैन । तर अहिले हरेक च्याम्बर्सको अजेण्डामा विविधता र समावेशीताका कुरा पर्ने गरेका छन् । यो कति साँचो हुन्छ तर बार ‘धनी, श्वेत, पुरुष ’हरुको मात्र पेशा हो भन्ने बुझाइबाट परिवर्तन हुँदैछ ।
अन्त्यमा केही भन्नु छ कि ?
ब्यारिष्टर हुन गाह्रो भए पनि यो सम्मानित पेशा हो । त्यसैले जससित यस पेशाप्रति अभिलाषा र आकांक्षा छ उहाँहरु सफल हुन सक्नुहुनेछ । मलाई थाहा छ बेलायतमा नेपाली मूलका ब्यारिष्टरहरु अत्यन्तै कम छौँ । त्यसैले म यस पेशामा रुचि राख्ने नेपालीहरुलाई सहयोग गर्न सदैव तत्पर छु । तपाईको प्रकाशनमार्फत मलाई नेपाली समाजमा परिचित हुने थप मौका दिनुभएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु ।


लुना राई, सोलिसिटर

लुना राई यसैवर्ष सोलिसिटर हुनुभएको छ । उहाँले युनिभर्सिटी अफ सर्रेबाट कानुनमा स्नातक गर्नुभएको छ भने युनिभर्सिटी अफ ल गिल्फोर्डबाट कानुनमा स्नातकोत्तर गर्नुभएको छ । हाल उहाँ रेडिङको एनसी ब्रदर्स एण्ड कोमा कार्यरत हुनुहुन्छ ।
तपाईलाई कानुन क्षेत्रमा लाग्न के कुराले प्रेरित गर्यो ?
जब कलेजमा मैले कानुन विषय लिएँ मलाई बेलायतको कानुनी क्षेत्र म हुर्केको मुलुक नेपालभन्दा एकदमै रमाइलो र फरक लाग्यो । राम्रो कानुनी प्रणालीका कारण बेलायतमा मानिसहरु चाहेर वा नचाहेर अनुशासित भएको पाएँ । उदाहरणका लागि यदि ट्राफिक नियम पालना नगरेमा के हुन्छ भन्ने सबैलाई थाहा छ । कोही पनि तपाईलाई दण्ड दिन आउँदैन तर कानुनी संरचनाले तपाईलाई असल नागरिक बन्न बाध्य पार्छ । यस्ता कुराले मलाई कानुन व्यवसायमा आकर्षित गर्यो । तर ममा कानुन ब्यवसायी बन्नलाई पर्याप्त आत्मविश्वास भने थिएन । पहिलो म आफैँ जातीय अल्पसंख्यक भएको र दोस्रो, महिला भएका कारणले । तर तपाईलाई गर्न मन लागेको कुरा गर्न कसले रोक्न सक्छ र ? मैले कलेजमा कानुन विषय लिएँ र कानुनमा नसोचेको राम्रो नतिजा आयो । त्यसपछि म विश्वविद्यालय गएँ र कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेँ । अध्ययनपछि राम्रो जागिर खाने मन थियो । अनि सोलिसिटर हुन सजिलो छैन भन्ने पनि थाहा थियो । म कानुनको विद्यार्थी हुँदा नै नेपाली समुदायबाट उहाँहरुको समस्या र समाधानका बारेमा धेरै जिज्ञासा आउँथे र म विद्यार्थी मात्र भएकाले उहाँहरुलाई सल्लाह दिन सक्दिनँथे । त्यही समयमा हो मलाई सोलिसिटर बन्न प्रेरणा मिलेको हो । मेरा आफन्तहरु नै युकेको कानुन नबुझेर समस्यामा परिरहेका थिए उहाँहरुलाई मद्दत गर्न पनि सोलिसिटर बन्नैपर्छ भन्ने लाग्यो । अहिले म मेरो भूमिकाबाट अत्यन्तै सन्तुष्ट छु किनभने धेरैजसो मेरा क्लाइन्टहरु नेपाली नै हुनुहुन्छ । सोलिसिटर बन्न असली प्रेरणा चाहिँ मैले मेरा आफन्तहरुबाट नै पाएको हुँ । अहिले उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ । धेरैले भाषाको अज्ञानताका कारण आफ्ना कुराहरु नेपाली नबुझ्ने सोलिसिटरलाई भन्न सक्दैनन् । उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ ।
कानुन व्यवसायी बन्नलाई के कस्ता अफ्ठ्याराहरु छन् ?
सोलिटिर बन्ने प्रक्रिया लामो छ । धेरै अध्ययन गर्नपर्ने र धैर्यता चाहिन्छ । धेरै प्रतिष्पर्धा छ र शैक्षिक रुपमा पनि चुनौतीपूर्ण छ । पूर्णकालिन अध्ययन गर्दा पनि छ वर्ष लाग्छ । ३ वर्ष विश्वविद्यालयमा, एक वर्ष कानुनी अभ्यास कोर्स र दुई वर्ष कुनै ल फर्मसित ट्रेनिङ सम्झौतामा लाग्छ । कानुनी अभ्यास कोर्स उत्तीर्ण गर्नासाथ ट्रेनिङ सम्झौता पाएमा भाग्यमानी सम्झे हुन्छ । मैले कुनै कानुनको विद्यार्थीले ब्लगमा लेखेको पढेको थिएँ –ट्रेनिङ सम्झौता सुन जस्तो बहुमूल्य भन्ने कानुनको विद्यार्थीलाई मात्र थाहा हुन्छ भन्ने । म यस कुरामा पूर्णत सहमत छु । धेरैले बीचैमा छाडिदिन्छन् किनभने यसमा धैर्यता, अनुशासन, कडा परिश्रम, पैसा, परिवार र साथीभाइको सहयोग चाहिन्छ । मेरो सवालमा सबैभन्दा पहिला त म भगवानलाई धन्यवाद दिन चाहन्छु जसले हरेक दिन मलाई शक्ति दिनुभयो । म भाग्यमानी हुँ किनकी सहयोगी श्रीमान, साथीभाइ र परिवार पाएँ । मलाई पनि बीचमा छोडुँ छोडुँ नलागेको होइन तर म कसैले सोलिसिटर बन भनेर नभई मेरो आफ्नो चाहनाले यस पेशामा लागेको थिएँ । त्यसैले मेरो दिलदिमाग यसैमा थियो । जतिसुकै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक पेशा भए पनि तपाईसित आकांक्षा र लगन छ भने असम्भव भन्ने कुरा केही हुँदैन ।
के कानुन व्यवसाय अरु पेशाभन्दा बढी महिलामैत्री छ ?
मेरो विचारमा अझै पनि कानुन क्षेत्रले पुरुष कानुन व्यवसायीहरुको अपेक्षा गर्दछ र महिलाका समस्याहरु बुझ्नमा एकपक्षीय भएको पाइन्छ । २० औँ शताब्दीसम्म बेलायतमा कानुन व्यवसाय पेशामा महिलाहरु एकदम कम थिए । तथापि कानुन क्षेत्रले जातीय अल्पसंख्यक र महिलाहरुलाई समेतका लागि विविधता अँगालेको पाइन्छ । । यद्यपि उच्च तहमा पुरुषहरु नै हुनुपर्छ भन्ने सोच कानुन क्षेत्रमा पनि छ । कानुन क्षेत्र केही डरलाग्दो पनि छ । म कानुन व्यवसायमा आउन चाहने महिलाहरुलाई हतोत्साहित गर्न चाहन्न । तर यो क्षेत्र कस्तो हो र के अपेक्षा गर्ने, कसरी सम्भावित भेदभावबाट मुक्त हुने भन्ने बारेमा जानकारी हुनु आवश्यक छ ।
म मेरै उदाहरण दिन चाहन्छु, मैले ट्रेनिङ कन्ट्रयाक्टका समयमा पाँच जना सोलिसिटरहरुसित काम गरेँ । उहाँहरु सबै पुरुष हुनुहुन्थ्यो तर उहाँहरुसित काम गर्दा कहिल्यै पनि भयभीत हुनु परेन । त्यसैले कानुन व्यवसायमा आउने महिलाहरुलाई भन्न चाहन्छु हामीलाई भयभीत बनाउने शक्ति हामीले नै दिने हो । यदि हामीहरु हाम्रै खुट्टामा दह्रोसँग उभिने हो भने हामीमाथि लैगिंक भेदभाव हुँदैन । धेरै महिलाहरुले महिला भएकै कारण रोजगारदाताले अन्यायपूर्ण व्यवहार गरेको भन्दै यो पेशा छोड्दै पनि छन् । कतिपय महिलाहरुले काम गर्ने समयका कारण परिवारलाई समय दिन नसकिएको भनेर पनि छोडेका छन् किनभने आंशिक समय काम गर्दा पेशामा पछि पर्ने सम्भावना हुन्छ । तथापि चीजहरु परिवर्तन हुँदैछन् र भविष्यमा सोलिसिटरहरुले घरैबाट काम गर्नेछन् । यो पारिवारिक जीवन र पेशाका बीचमा सन्तुलन मिलाउन चाहने महिला कानुन व्यवसायीहरुका लागि राम्रो कुरा हो । यसले महिलाहरुलाई कानुन व्यवसायमा प्रोत्साहन गर्नेछ र लचकता दिनेछ ।
यस पेशामा जातीय भेदभाव कत्तिको हुन्छ ?
जब म विश्वविद्यालयमा पहिलो कक्षामा थिएँ लेक्चररले भन्नुभएको ‘विगतमा कानुन पेशा श्वेत र पुरुषहरुको पेशा थियो’ भन्ने वाक्य सम्झन्छु । मैले आफैँलाई प्रश्न गरेँ म त श्वेत पनि होइन पुरुष पनि होइन । म त जातीय अल्पसंख्यक र महिला हुँ । जब कक्षामा हेरेँ महिलाहरु र जातीय अल्पसंख्यक समुदायका विद्यार्थीहरु श्वेतभन्दा धेरै देखेँ । जातीय अल्पसंख्यक र महिलाहरु यो पेशामा आउन थाले पनि यो पेशा अझै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक नै छ । महिला र जातीय अल्पसंख्यकलाई असभ्य तरिकाले कानुन क्षेत्रको निश्चित क्षेत्रमा धकेलिने छ र यदि कानुनी सहायताका मुद्दाहरु हेरिँदै छ भने उनीहरुलाई विज्ञ कानुन व्यावसायीका रुपमा लिइने छैन । यो सोचमा सुधार हुन आवश्यक छ किनकि सबैले उत्तिकै समय लगाएर अध्ययन गरी, परीक्षाहरु उत्तीर्ण गरी कानुन व्यवसायी भएका हुन् ।
अन्त्यमा केही भन्नु छ कि ?
अहिले यो पेशामा महिलाहरुको प्रवेश बढ्दै छ र उनीहरुको आवाज सुनिँदैछ । म कानुन व्यवसायमा प्रवेश गर्ने महिलाहरुलाई आफ्नो उद्देश्यलाई कुनै पनि बाधा चुनौतीले रोक्न नदिनुहोस् भन्न चाहन्छु । मानिसमा अन्तर्निहित शक्ति र क्षमतामा विश्वास गर्नुहोस् अनि २१ औँ शताब्दीमा विश्वले ल्याउने अवसर समात्नुहोस् । आफ्नो मूल्यको ख्याल राख्नुहोस् र एक सफल महिला कानुन व्यवसायी हुने सपनालाई साकार पार्नुहोस् ।

सरिता घर्तीमगर, सोलिसिटर

केन्ट युनिभर्सिटीबाट कानुनमा स्नातक सरिता घर्तीमगर लण्डनको बीपीपी ल स्कुलबाट कानुनमै स्नातकोत्तर गर्नुभएको छ । उहाँ हाल लण्डनको आरएचजे डेभोनसायर सोलिसिटर्समा कार्यरत हुनुहुन्छ ।
तपाईलाई यस पेशामा लाग्न केले प्रेरित गर्यो ?
स्कुलमा मलाई गणित र विज्ञान विषयहरुभन्दा मानविकी विषयहरु धेरै मन पथ्र्यो । मेरो मनपर्ने विषय इतिहास थियो र म सधैँ इतिहासको कक्षाको प्रतीक्षामा रहन्थेँ । ऐतिहासिक घटनाहरुको विश्लेषण गर्न र ती ऐतिहासिक घटना, निर्णयहरुबाट शिक्षा लिन मन पराउँथेँ । इतिहास मन पराए पनि मैले आफूलाई इतिहासकारका रुपमा कहिल्यै हेरिनँ । मैले कानुन विषय सोलिसिटर बन्नका लागि अध्ययन गरेको थिइनँ । यो विषय पढ्न चुनौतीपूर्ण र बहुमुखी छ र जुनसुकै पेशामा लाग्न पनि सहयोग गर्छ भनेर पढेको थिएँ । मैले कानुन क्षेत्रमा कार्यअनुभव पश्चात मात्र यस पेशामा लाग्ने निर्णय गरेको हुँ । यो पेशा मानसिक रुपमा चुनौतीपूर्ण र सम्मानित छ भनेर यस पेशामा प्रवेश गरेको हुँ ।
कानुन व्यवसायी बन्नलाई के कस्ता अफ्ठ्याराहरु छन् ?
यो पेशामा अत्यन्तै चर्को प्रतिस्पर्धा छ । बेलायतमा सोलिसिटरको आपूर्ति मागभन्दा बढी छ भन्ने मलाई लाग्छ । त्यसको सम्भावित कारण ल फर्महरुमा रहेका प्रशिक्षार्थीहरुमध्ये करिब आधाजसोले कानुन अध्ययन नगरेको हुनुले पनि हुनसक्छ । ल फर्महरु विभिन्न शैक्षिक पृष्ठभूमिबाट कानुन व्यवसायीहरु आउन् भन्ने चाहन्छन् । कानुन विषयमा पोष्ट ग्राजुयट गर्न असाध्यै महंगो हुन्छ । सीमित कानुनमा स्नातकहरु मात्र ठूला ल फर्महरुमा ट्रेनिङ कन्ट्रयाक पाउने भाग्यमानी हुन्छन् । ती फर्महरुले उनीहरुको पोष्ट ग्राजुयट अध्ययनका लागि स्पोन्सर गर्दिन्छन् । तथापि कानुन ब्यवसायी बन्न चुनौतीपूर्ण भए पनि तपाई दृढ, अभिप्रेरित हुनुहुन्छ भने जीवनका अरु चुनौती जस्तै यस क्षेत्रमा सफलता पाउनु हुनेछ । जबसम्म तपाईसित आकांक्षा छ, गतिशील हुनुहुन्छ र वकिल बन्ने भोक छ भने त्यो लक्ष्य अप्राप्य हुँदैन । यदि तपाईलाई वकिल बन्न चाहन्छु भन्ने थाहा छ भने ती अफ्ठयाराहरु मञ्जुर हुनुपर्छ ।
के कानुन व्यवसाय अरु व्यवसायभन्दा महिलामैत्री छ ?
यसलाई महिलामैत्री यस अर्थमा भन्न सकिन्छ कि तथ्यांकले के देखाएको छ भने अहिले धेरैजसो प्रशिक्षार्थी वकिलहरु महिला छन् । तर यो परिवर्तन हालसालैको मात्र हो । यो पेशा पनि अरु पेशाजस्तै विगतमा पुरुष बाहुल्य पेशा थियो । अहिले पनि उच्चतम पद, जस्तै ल फर्मका पार्टनरहरु धेरैजसो पुरुष छन् । यो क्रम अहिले परिवर्तन हुँदैछ र महिलाहरुले पनि उच्च तहको जिम्मेवारी पाउँदैछन् । ल फर्महरु पनि यस्तो परिवर्तन ल्याउन सक्रियरुपमा लागिरहेका छन् । महिलामैत्री क्षेत्रको कुरा गर्नुपर्दा वकिलहरुले कस्तो काम गर्छन् भन्ने पनि हेर्नुपर्दछ । कानुन व्यवसाय निसन्देह चुनौतीपूर्ण छ र यस पेशामा दैनिक धेरै लामो समय दिनुपर्ने हुन्छ । यस पेशामा खासगरी निजी क्षेत्रमा धेरै पैसा कमाउनका लागि धेरै घण्टाको बिल पेश गर्नुपर्ने हुन्छ । यो आमाहरुका लागि सुहाउँदो नहुन सक्छ किनकी उनीहरुले बच्चाको पनि देखभाल गर्नुपर्ने हुन्छ । यद्यपि धेरै फर्महरुले आजकल आमाहरुका लागि लचिलो काम गर्ने वातावरण बनाइदिएका छन् । जस्तै, घरबाट काम गर्ने अथवा आंशिक समय काम गर्ने आदि । तर धेरैले काम र नीजि जीवनको सन्तुलनका लागि कार्यालयमा गएर काम गर्न रुचाउँछन् । अन्तत्वगत्वा बेलायतमा धेरै ल फर्महरु छन् र मुख्य कुरा आप्mनो लागि काम र नीजि जीवनको सन्तुलन मिल्ने, आय सुहाउँदो फर्म छान्नुमा छ ।
यस पेशामा जातीय भेदभाव कत्तिको हुन्छ ?
समानता सम्बन्धी ऐन २०१० ले सबै किसिमको भेदभावलाई प्रतिबन्ध लगाएको छ । त्यसकारण प्रत्यक्ष रुपमा देखिने भेदभाव छैन । यो उल्लेख गर्नु यहाँ महत्वपूर्ण छ कि कानुन व्यवसायलाई ऐतिहासिक रुपमा ‘श्वेत, पुरुष र मध्यवर्गीय पेशा’ मानिन्छ । यसमा परिवर्तन आएकोमा कुनै द्विविधा छैन तर यदि वरिष्ठ वकिलहरु हेर्नुभयो भने अधिकांश श्वेत, मध्यमवर्गीय परिवारबाट आएका छन् । धेरैजसो ल फर्महरुले यस कुरालाई बुझेका छन् र विविधता र समावेशीताका लागि प्रतिवद्धता पनि व्यक्त गरेका छन् । मेरो विचारमा कानुन व्यवसायमा सफलता पाउनका लागि जातीय भेदभावभन्दा तपाईको सामाजिक पृष्ठभूमि जस्तै कुन विद्यालय र विश्वविद्यालयमा तपाई अध्ययन गर्नुभयो, तपाईको परिवारमा कोही वकिल हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराले अर्थ राख्छ । यदि तपाईको कोही मानिस कानुन क्षेत्रमा हुनुहुन्छ र तपाईलाई दिशानिर्देश गर्नुहुन्छ भने बिना शंका त्यसले तपाईलाई सहयोग गर्नेछ । नेपाली डायस्पोरा अहिले शिक्षित हुँदैछ र विभिन्न क्षेत्रमा लाग्दै गर्दा पक्कै पनि कानुन ब्यवसायमा पनि लाग्नेछन् र अझै धेरै नेपालीमूलका कानुन व्यवसायीहरु हुनेछन् ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
कानुन व्यवसायी बन्ने सबैको यात्रा फरक फरक छ । सबै पेशामा जस्तै यस पेशामा पनि उतारचढाव छ । यसको प्रक्रिया लामो हुनसक्छ तर यदि कोही कानुन व्यवसायी बन्न प्रतिवद्ध छ भने ऊ पक्कै सफल बन्नेछ ।

यसबाहेक बेलायतमा सोलिसिटर हुनुभएकी सुदिना गुरुङ हाल क्रेडिट सुसी एग्रिकल हङकङमा कार्यरत हुनुहुन्छ भने कीर्ति शेरचन एसेक्स विश्वविद्यायबाट कानुनमा स्नातक गरी थम्सन स्मिथ एण्ड पाक्सन कोलचेष्टरमा कार्यरत हुनुहुन्छ । अक्सफोर्ड विश्वविद्यालयबाट कानुनमा स्नातक अनिता सुवेदी लालिभ लण्डन एलएलपीमा अन्तर्राष्ट्रिय वाणिज्य मामिला विज्ञका रुपमा कार्यरत हुनुहुन्छ । यस्तै, लेस्टर विश्वविद्यालयबाट कानुनमा स्नातक रेजिना राई बेलायतको स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालयमा कार्यरत हुनुहुन्छ । वारिक विश्वविद्यालयबाट कानुनमा स्नातक रिया श्रेष्ठ हाल आरबी नामक कम्पनीमा सोलिसिटरका रुपमा कार्यरत हुनुहुन्छ ।

‘पाँचवर्षमा पुरुष भन्दा महिला कानुन व्यवसायीको संख्या बढी हुन्छ’
ब्रिटेन नेपाल लयर्स एसोसिएनका अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठ

मेरो विचारमा बेलायतमा नेपाली महिला कानुन व्यवसायीको संख्या बढ्नुमा तीन वटा कारण छन् । पहिलो बेलायतमा समान अवसरको वातावरण छ । महिलाले यो पेशा गर्ने पुरुषले यो काम गर्ने भन्ने छैन । यहाँ कामलाई प्राथमिकता दिइने गरिन्छ । दोस्रो कारण, यहाँको शैक्षिक प्रणालीमा सात/आठ कक्षामा पुग्दा नै धेरैजसोले कुन पेशामा जाने तय गरिसकेका हुन्छन् । बेलायतमा कानुन व्यवसाय एउटा प्रतिष्ठित पेशाका रुपमा स्थापित छ । तेस्रो, कतिपय परिवारले इमिग्रेसन लगायतको कानुनका कारण कष्ट पाएका छन् । त्यसकारण पनि कानुन जान्नु–बुझ्नु पर्नेरहेछ, कानुन नबुझेर दुःख पाइयो भन्ने परिवारमा छाप परेको हुनसक्छ ।
बेलायतको कानुन क्षेत्रमा अहिलेसम्म महिला भन्दा पुरुषको संख्या धेरै छ तर नेपाली समुदायमा धेरै छोटो समयमा नै महिला सोलिसिटर, ब्यारिष्टरहरुको संख्या बढ्नु असाध्यै राम्रो कुरा हो । मैले केही समय पहिले कोही कानुन पढ्न चाहनुहुन्छ भन्दा कसैले हात उठाउँदैनथे । कानुन व्यवसायी बन्न सजिलो चाहिँ छैन । ट्रेनिङ कन्ट्रयाक्ट पाउन गाह्रो हुन्छ । तर खुशीको कुरा कुनै पनि नेपालीले अहिलेसम्म ट्रेनिङ कन्ट्रयाक्ट नपाएको भन्ने सुनिएको छैन । एकपटक मान्यताप्राप्त कानुन व्यवसायी भइसकेपछि यो पेशा धेरै राम्रो छ । मैले भर्खरै सोलिसिटर भएकाहरुसित कुरा गर्दा पनि उहाँहरुले शुरुवाती तलब नै राम्रो पाएको अनुभव सुनाउनु भयो । समुदायमा पनि यो पेशाप्रति इज्जत नै छ ।
बेलायतमा नेपाली महिला कानुन व्यवसायीको संख्या अझै धेरै बढ्ने छ । करिब आधा दर्जन महिला ट्रेनिङ कन्ट्रयाक्टमा रहेको त मलाई नै थाहा छ । अबको पाँच वर्षमा हेर्नुहोला नेपाली मूलका पुरुषको भन्दा महिलाको संख्या बढी हुनेछ ।
नेपाली सोलिसिटर बढे काम पर्याप्त नहोला कि भन्ने पनि कतिलाई परेको हुनसक्छ । तर बेलायतमा नेपालीको जनसंख्याअनुसारको अनुपातमा कानुन व्यवसायी उत्पादन भएका छैनन् । मेरो विचारमा १०० जना नेपाली मूलको सोलिसिटर भए पनि कामको अभाव हुँदैन जस्तो लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक