एनआरएनए युकेले ‘कोरोना सहयोग अभियान’ बन्द गर्ने

लण्डन । एनआरएनए युकेले कोभिड-१९ सहयोग  सहयोग संकलन अभियानलाई यसैसाता बन्द गर्ने भएको छ ।

एनआरएनए युके राष्ट्रिय कार्यसमितिको हिजो बसेको बैठकले जुलाईको पहिलो हप्ता सो सहयोग संकलन समापन गर्ने निर्णय गरेको छ । कोषाध्यक्ष इन्जिनियर तेजेन्द्र रोकामगरले हालसम्म करिब २५ हजार पाउण्डको प्रतिवद्धता आएको र सोमध्ये २२ हजार जम्मा भइसकेको जानकारी दिए । त्यसमध्ये करिब ११ हजार पाउण्ड खर्च भइसकेको छ ।

बैठकले नेपालमा कोरोना संक्रमण फैँलदै गएकाले नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग पुग्ने हेतुले नेपालका ७ वटै प्रदेशमा २/२ वटा अक्सिजन मेशिन (कन्सनट्रेट ) उपलब्ध गराउने निर्णय गरेको छ । सोको संयोजनका लागि अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र स्वास्थ्य संयोजक डा. सुनिल शाहलाई जिम्मेवारी दिएको छ । सो मेसिन प्रतिगोटा ९०० पाउण्ड पर्ने बताइएको छ ।

बैठकले कोरोना संक्रमणबाट निधन भएका भक्तबहादुर मोतेको परिवारलाई ५ सय पाउण्ड आर्थिक सहयोग गर्ने भएको छ भने कोरोनाका कारण मृत्युभएका थप तीन परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय भएको छ। सो को संयोजन उपाध्यक्ष प्रेमबहादुर गाहामगरले गरेका छन् ।

यस्तै, एनआरएनए युकेलाई च्यारिटीमा दर्ता गर्ने पूर्व निर्णयलाई सदर गर्दै यस सम्बन्धि सबै प्रक्रिया पूरा गर्नको लागि उपाध्यक्ष सुनिलबाबु खड्काको संयोजनमा आवश्यकता अनुसार एक समिति गठन गरी सम्पूर्ण प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।

बैठकले एनआरएनए युकेले आयोजना गरेको चित्रकला प्रतियोगितामार्फत ६४ जना बालबालिकाहरु सहभागी भएको र चित्र मूल्यांकनको प्रक्रिया पूरा भईसकेको जानकारी संयोजक नारायण कंडेलले दिए भने प्राप्त चित्रहरुलाई रंगीन चित्र पुस्तिका प्रकाशन गर्ने निर्णय गरेको छ । बाल दिवसको अवसरमा नतिजा र प्रकाशनसहित सार्वजनिक गरिने बताइएको छ ।

यसैगरी, उपाध्यक्ष रोजिना प्रधान राईले ‘कोभिड-१९ को नेपाली महिला माथिको प्रभाव’ अन्तर्गत  एउटा वेबइनार सम्मेलन गर्ने प्रस्तावलाई  पारित गरिएको छ ।

एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुनम गुरुङको अध्यक्षतामा बसेको अनलाइन बैठकमा बेलायतबाट आइसिसीमा प्रतिनिधित्व गर्ने सदस्यहरु शुसिला राई , दयानिधी सापकोटा, रामशरण सिंखडा, अर्कराज तिम्सेना, योग कुमार फगामी तथा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोका मगरले कोभिड-१९ सम्बन्धि आय व्यय तथा आर्थिक अपडेट गर्नु भयो । साथै सहयोग संकलन संयोजक तथा  इंगल्याण्ड राज्य परिषद अध्यक्ष दीपक श्रेष्ठले सहयोग प्रतिवद्दता बारे अपडेट गर्नु भयो । त्यसगरी उपाध्यक्षहरुले आ-आफ्नो विभागीय प्रतिवेदन पेश गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री