आरजिएनएसद्वारा बाग्लुङमा राहतस्वरुप खाद्यान्न वितरण

लण्डन । बेलायतको दक्षिण पूर्वी लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजिएनएस)ले बाग्लुङको गलकोट-३ मा ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।

उक्त कार्यक्रमको संयोजन तथा सहजीकरण नेपाली वेलफेर सोसाईटी युकेले गरेको थियो ।

कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न संस्थाले राहतस्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका आयो नुन उपलब्ध गराएको अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन् । जुममार्फत लाइभ गरिएको उक्त कार्यक्रम उपाध्यक्ष तथा एनआरएनए युकेका सचिव जित रानाभाटले सन्चालन गरेका थिए।

संस्थाका छयालिसभन्दा बढी सदस्यहरुको आर्थिक सहयोगमा आधारित उक्त राहत वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री तथा रास्ट्रिय सभाका नेकपा (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले कोरोनाको महामारी विरुद्धको लडाइँमा स्वदेश र विदेशमा रहनुहुने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताउँदै विषम परिस्थितिमा राहत प्रदान गरेर संस्थाले मानवीय काम गरेको बताए।

राहत वितरणको संयोजन गरेका नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले संघ संस्थाहरुको सहकार्यले आफूलाई थप उत्साह जागेको बताए भने संस्थाका महासचिव मन्जु भणडारीले संकटको बेला आफ्नो मातृभूमिप्रति समर्पित हुनु असल नागरिकको कर्तब्य भएको बताइन् ।

स्थानिय रुपमा गलकोट नगरपालिकाकी उपमेयर रेनुका काउचा, वडा अध्यक्ष बिरजङ भणडारी, नेकपा प्रतिनिधि  चित्र साहनी, नेका प्रतिनिधि फमबहादुर खत्री, जनमोर्चा प्रतिनिधि पदम श्रेष्ठ, वडा सदस्य तुलसी परियार, युवा अभियन्ता अनिल नेपाली लगायतले राहत हस्तान्तरणमा सहजीकरण  गर्नुका  साथै आफ्नो भनाइमा विदेसमा बसेका नेपालीहरुले गरेको यो कार्यको प्रसंसा गरेका थिए । नेपाल सरकार दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले कार्यक्रमको रुपरेखा प्रस्तुत गर्दै सम्पूर्ण सहभागी तथा सहजकर्ताहरुलाई स्वागत गरे।

सो अवसरमा समाजसेवीहरुमध्ये संस्थाका भाषा तथा संस्कृति विभाग संरक्षक एवं पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ,संस्थाका उपाध्यक्ष तथा एनआरएनए आइसिसी सदस्य लिलादेवी गुरुङ, सोसाईटी अफ नेप्लिज प्रोफेसनल्सका पूर्व अध्यक्ष तथा एनआरएनए युके बिजनेस विभागका सचिव पुण्यप्रसाद रेग्मी, सल्लाहकार श्याम सेरचन, एलएन पान्डे, ह्यारी गुरुङ, कानुनी सल्लाहकार दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए।

संस्थाकी अध्यक्ष श्रीमती शर्मिला हिराचनले  सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन तथा दाताहरुको उत्साहलाई प्रसंसा गर्दै कार्येक्रम सफल र सार्थक रुपमा संचालन भएको प्रस्ट परिन् भने उपाध्यक्ष तथा कार्यक्रम संचालक रानाभाटले आरजीएनएस तथा नेपाली वेलफेर सोसाईटीले गर्दै आइरहेको राहत वितरण स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता र रोहबरमा मात्र गरिएको हुँदा नेपाल सरकारको एकद्वार प्रणालीलाई थप सहयोग भएको धारणा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री