विदेशबाट फर्काइएका नेपालीलाई राख्न होल्डिङ सेन्टर कहाँ कहाँ ?

फाइल फोटो

काठमाडौँ । विदेशबाट उद्दार गरी ल्याइएका नेपालीलाई सम्बन्धित प्रदेशमा नपुगुन्जेल काठमाडौँका विभिन्न होल्डिङ सेन्टर बनाइ राखिँदैछ ।

जसमा बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुर होल्डिङ सेन्टर बनाइएको छ ।
तीनवटै जिल्लाको सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रदेशमा नपुगुन्जेल उपत्यकामा नै केही दिन राख्न होल्डिङ सेन्टर निर्माण गरेको हो ।

सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) बाट विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेशमा आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरी आवश्यक तयारी गरिरहेको छ ।
बाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस बसुन्धरा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश–५ का लागि दरबार ब्याङ्केट चप्पल कारखानामा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।
त्यस्तै, भारतबाट र उपत्यका बाहिरबाट आएका नागरिकलाई मात्र राख्न राधा स्वामी सत्सङ केन्द्र कीर्तिपुर र राधा स्वामी सत्सङ व्यास नेपाल सामाखुसीमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।
प्रदेश–१ का नागरिकका लागि सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको छ ।

यस्तै कर्णाली प्रदेशका नागरिकका लागि ग्वार्काे मण्डला पार्टी भेन्यु र सुदूरपश्चिम प्रदेशका नागरिक राख्न सिद्धार्थ कटेज धोबीघाटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

यसैगरी, सम्बन्धित व्यक्ति स्वयंले नै भुक्तानी गर्नेगरी क्वारेन्टाइनका रूपमा प्रयोग गर्न होटलको सूची पनि तयार गरिएको छ । ती होटलको सूची चाँडै नै सार्वजनिक गरिने बताइएको छ ।

होल्डिङ सेन्टरहरुमा काउन्टर राखी निःशुल्क सिमकार्ड र वाइफाईको व्यवस्था गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री