विश्व महामारीको रुप लिएको नोबल कोरोना (nCovid 19) बाट सन्सारका सबै देश र समुदायहरु प्रभावित भएकाछन् । यो सुक्ष्म भाईरस SARS (Severe Acute Respiratory Syndrome) समूहमा पर्दछ । मुख्य त यस समूहको भाईरसले स्वासप्रस्वासमा कठिनाई उत्पन्न गर्दछन् । यो नोवल कोरोना पशुपन्छीबाट मानिसमा र मानिसबाट मानिसमा सरेको यो पहिलो पटक हो भनिएको छ । यो कसरी मानिसमा सर्यो र शरीरमा के कस्तो थप परिवर्तन र असर ल्याउँछ भन्ने विषय अझै अनुसन्धानको क्रममा छ ।
वल्डोमिटरको अनुसार यो भाईरसका कारण अहिले सम्ममा विश्वभरमा ६३ लाख मानिसहरुमा संक्रमित भएको र ३.७ लाख यही रोगका कारण बितेका छन् । तर यी तथ्यांकहरु भरपर्दा भने देखिंदैनन् । बेलायतकै कुरा गरौ । सरकारले दैनिक संक्रमित र मृत्यु हुनेहरुको तथ्यांक प्रस्तुत गर्दै आयो । तर पछि थाहा हुन आयो कि नर्सिङ र केयर क्षेत्रहरुको तथ्यांकहरु दैनिक प्रस्तुतिमा परेको रहेनछ । मुलुकहरुमा संक्रमित हुनेहरुको तथ्यांक अझै यकिन भने हुन सकेको छैन । परीक्षण गरिएका मानिसहरु मात्र त्यस तथ्यांकमा परेका छन् । संक्रमित भएर सामान्य लक्षणबाट नै निको भएकाहरु तथ्यांकहरुमा परेका छैनन् ।
यो भाईरस संक्रमण मानवीय कनेक्सनको आधारमा द्रुत वा सुस्त भएको देखिन्छ । यो तुलनात्मकरुपमा मानवीय कनेक्सन कम भएका देशहरुमा सुस्त गतिमा फैलिएको छ । नेपाल पनि यो भाईरस संक्रमणबाट पृथक रहेन । हुन त नेपाल चीनसंगै सिमाना जोडिएको छ तर वुहानबाट नेपाल सिधा हवाई र स्थलगत यातायात नजोडिएको र पश्चिमी देशहरुको जस्तो चीनसंग ठूलो ब्यापारिक सम्बन्ध नभएको कारण अरु देशहरुमा जसरी तुरुन्त भाईरस संक्रमण नेपालमा हुन पाएन । अहिले नेपाल तेस्रो मुलुकहरुबाट आवतजावत गर्नेहरुको माध्यमबाट संक्रमित भैरहेको छ ।
गत १३ जनवरीमा चीनको वुहानबाट अन्य ट्रान्जिटहरु हुँदै काठमाण्डौ आएका एक विध्यार्थीमा पहिलो पटक शुरु भएको यो भाईरस आजसम्म आई पुग्दा वल्डोमिटरले जनाएअनुसार नेपालमा १५७२ जनामा संक्रमित भै ८ जनाको मृत्यु भैसकेको छ । यो हिसाबमा भाईरस संक्रमण तुलनात्मकरुमा शुरुमा सुस्त रहेको भए पनि गत एक हप्तादेखि संक्रमण द्रुत गतिमा बढेको देखिन्छ । हाल भैरहेको परीक्षणलाई आधार मानेर सरकारले संक्रमितको तथ्यांक प्रस्तुत गरिरहेको देखिन्छ । तर समुदायमा संक्रमण भने बढी हुन सक्दछ । अहिले सरकारी तथ्यांकहरु अनुसार पनि सबै प्रदेशहरु र धेरै जसो जिल्लाहरुमा यो भाईरस फैलिसकेको देखिन्छ । अब यो संक्रमण ब्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने भैसकेको छ ।
मार्च २४ मा लकडाउन भएपछि शुरु शुरुमा संक्रमण सुस्त रहेकै आधारमा सरकारले नेपाल कोरोना महामारी ब्यवस्थापनमा सक्षम भएकोले यो रोग नियन्त्रणमा छ भनेको थियो । संक्रमित संख्या कम देखिनुमा मानवीय कनेक्सन तुलनात्मकरुपमा कम र समयमा नै लकडाउन नै हुन् । अब कुरामा हैन ब्यवहारमा कोरोना संक्रमण ब्यवस्थापन गर्न जरुरी छ । भित्र लकडाउनको पूर्ण पालना, जनतालाई आवस्यक वस्तु तथा सेवाको ब्यवस्था, ब्यक्तिगत सुरक्षा ओैजारहरुको ब्यवस्था, रोगको विश्वसनिय परीक्षण र बिरामीलाई एकान्त (isolation) र प्रभावकारी अस्पताल सेवा यो भाईरस रोकथाम ब्यवस्थापनमा पर्दछन् ।
कोरोना भाईरसले युरोपभित्र शुरु शुरुको अपर्झट अवस्था एउटा बाढी आए जसरी फैलियो । भाईरसको संक्रमणमा के गर्ने, कसो गर्ने, मेलो मेसो नभएको र पूर्व तैयारी गर्न नपाएकाले संक्रमण ब्यवस्थापनमा अलमल भयो । जसका कारण अस्पतालहरु भाईरस बिरामीले खचाखच भए र धेरै मानिसहरुको छोटो समयमा नै ज्यान गयो । करिब २/३ हप्ता पछि सरकारले लकडाउनको घोषणा गर्यो । युरोपमा मानिसहरु द्रुत गतिमा संक्रमण भएर मानिसहरु मृत्यु हुन थाले पछि लक डाउन शुरु गरे तर त्यतिन्जेल भाईरस समुदायमा फैलिईसकेको थियो । अकल्पनीयरुपमा बेलायतमा पनि ईटली संगसंगै संक्रमण शुरु भएको थियो । जसका कारण ६५ नेपाली सहित ३८ हजारको ज्यान गैसकेको छ । विदेशमा अहिलेसम्म १२१ नेपालीहरुको ज्यान गएको भनिएको छ ।
नेपालमा पनि अहिले विभिन्न देशहरुबाट हवाई र स्थल मार्ग हुँदै आएकाहरुबाट संक्रमण भएको भनिएको छ । नेपालबाट पनि दैनिक हजारौं मानिसहरु रोजगारी, ब्यापार, अध्ययन, तीर्थ व्रत, उपचार, छुट्टी मनाउन र परिवार भेटघाट कारणहरु विभिन्न देशहरु र मुलुकभित्र आवतजावत गर्दछन् । नेपालमा असंगठित रोजगारीको सिलसिलामा घरबाट टाढा रहेका र भारतका विभिन्न शहरहरुमा काम गरिरहेका नेपालीहरु कोरोना कहरका कारण घर फर्कने क्रम अत्यधिक रुपमा बढ्यो । विरोध पछि सिमा क्षेत्रमा अलपत्र परेकाहरुलाई ढिलै भएपनि सरकारको निगरानीमा प्रवेश गराउन थालेको देखियो ।
संक्रमित संख्या भारतमा निकै बढेको छ । कान्तिपर न्युजका अनुसार विभिन्न स्थल नाका भएर एक हजारको हाराहारी मानिसहरु अहिले भारतबाट नेपाल फर्किने गरेका छन् । ती मानिसहरु सबै १४ दिन क्वारेन्टाईन् र पोजेटिभ भएका संक्रमितहरु ७ दिन आईसोलेसनमा बस्नु वा बसाउनु अनिवार्य छ । नेपाल भित्रिएका मानिसहरु १४ दिन लक्षण देखिने समय क्वारेन्टाईन र सामाजिक दुरी कडाईका साथ पालना नहुँदा लकडाउनका बाबजुद नेपालका बिभिन्न गांउ र शहरी क्षेत्रहरुमा संक्रमण देखिन थालेको छ । अझै पनि यसमा कडाई नहुने हो भने भाईरस अनियन्त्रित रुपमा फैलिने सम्भावना हुुन्छ । त्यसैले अब उनीहरुलाई क्वारेन्टाईनमा राखेर उष्मायन समय (incubation period) सम्म अनुगमन गर्न पर्दछ । तर एकले अर्कोमा संक्रमित हुन सक्नेमा सजगता अपनाउन आवस्यक छ ।
अर्कोतर्फ यो कोरोना कहरमा अरु देशहरुमा रहेका नेपालीहरु पनि आफ्नो देश फर्कन आतुर अवस्य छन् । यसमा प्राथमिकता तोकी सरकारले ब्यवस्थापन गर्न कदम चाल्नु पर्दछ । एकातिर उनीहरुबाट रोगको प्रकोप बढ्ने खतरा हुन्छ भने अर्कोतिर उनिहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने अन्योलता सरकारी पक्षमा बढेको देखिन्छ । हुन त यो महामारीमा जो, जुन देशमा छन्, त्यही बिना भेदभाव सबैलाई खान बस्न र आवस्यकता अनुसार ओैषधी उपचार गर्ने जिम्मेवारी सोही देशको सरकारले लिएको हुन्छ र लिन पर्दछ । यो ब्यक्ति विशेष र समुदायको समस्या होईन, यो महामारी हो । लकडाउनको मूल मर्म पनि जो जहाँ छ यो महामारी भरी त्यही रहने भन्ने हो । यसबाट नै रोग नियन्त्रण गर्न सजिलो हुन्छ भनिन्छ ।
अहिले विदेशमा मुख्यतया श्रम स्वीकृती सकिएर वा कुनै कारणले काम नगरी बसेका, बिध्यार्थी, बिरामी र भिजिटरहरु बढी समस्यामा परेका हुन सक्दछन् । ती मानिसहरुको ब्यवस्था गर्नु सरकारको कर्तब्य हुन आउँछ । यसमा प्राथमिकता तोकी सरकारले उद्दार गर्न र उनीहरुलाई १४ दिन आईसोलेसनमा राख्न पर्ने हुन्छ । यसमा सरकारले राजनैतिक नाफा वा घाटाका को हिसाब भने गर्न हुँदैन । जनताले तिरेको करले सरकार र यसका संयन्त्र चल्दछन् । जनतालाई पर्दा सरकारको आवस्यक सहयोग अपेक्षित हुन्छ । यो राज्यको अहम् कर्तब्यमा पर्दछ । राज्यले ऋण लिएर भनेपनि जनताको संकटमा सुरक्षा, उद्दार, खानपिनको प्रबन्ध र ओषधी उपचार ब्यवस्था गर्नु पर्दछ । जनता जीवित र स्वस्थ्य रहे फेरि उनीहरुको देश निर्माणमा योगदान हुन्छ नै ।
यदि अन्य कारणले राज्यले उद्दार गर्न नसक्ने अवस्थामा सम्बन्धित देशका राजदुताबास, एनआरएनए वा स्थानिय नेपाली सामुदायिक संस्थामार्फत समन्वय गरेर परिस्थिति र समस्या बुझी सहयोगको आवस्यकता पहिचान र सोही अनुसार सहयोगको लागि समन्वय गर्नु उपयुक्त हुन्छ । सम्बन्धित देशका नेपाली सामुदायिक संघसंस्थाहरुले पनि यथार्थ परक भएर सूचना संकलन र सहयोग संकलन गरेर हस्तान्तरण गर्न तदारुकता देखाउन पर्दछ ।
सरकारले दैनिक मजदुरी गरेर खानेहरुको ब्यवस्थापन गर्न अति जरुरी छ । यो वर्गमा आफै मात्र नभै घरमा दुखी, असहाय, बिरामी र केटाकेटीहरु आश्रित हुन सक्दछन् । त्यसमा पनि सरकारको ध्यान पुग्न जरुरी देखिन्छ । दैनिक ज्यालादारी गर्नेका लागि सरकारले सम्बन्धित स्थानीय निकायहरुले विकास निर्माणका काम लगाएर ज्याला दिने वा काम गर्न नचाहाने वा नसक्नेलाई दैनिक ज्यालाको २५% रकम उपलब्ध गराउन स्थानिय स्तरमा नै प्रदेश र केन्द्रीय सरकार समेतको सहयोग कोषको ब्यवस्था पनि गरेको देखिन्छ । यस ब्यवस्थाले सबै मजदुरी गरेर खाने लाई काम मिलेको, नमिलेको र तिनका परिवारलाई राहत पुग्न सकेको छ कि छैन यकिन गर्न र आवस्यक परे र लामो समय लकडाउन जाने अवस्था भएमा राहत ब्यवस्थालाई पुनरावलोकन गर्न जरुरी छ । यसबाट भाईरस नियन्त्रण गर्न र लोक कल्याणकारितामा सहयोग पुग्दछ ।
लकडाउन भन्नाले आफू जहाँ बसोवास गरिरहेको छ त्यही घरमा बस्ने र आफ्नो बासस्थानबाट जरुरीबाहेक बाहिर ननिस्कनु नै हो । यदि जो कोही लकडाउनको समयमा बाहिर निस्कन्छ, नीजि वा कुनै बाहन प्रयोग गरी एक ठाउँबाट अर्को ठांउमा गएमा, यो लकडाउनको बर्खिलाप हो । लकडाउनमा असक्तहरुलाई आवस्यक सेवाहरु राज्यले उपलब्ध गराउन पर्दछ । अहिले लकडाउनको राम्रो पालना नभएको कारणले नै नेपालमा संक्रमण फैलन थालेको देखिन्छ । यस अवस्थामा अनुमती प्राप्त आकस्मिक सेवा बाहेक यात्रा गर्न हुँदैन । यसमा शक्तिको नजिक वा टाढा भनेर फरक सुविधा दिन वा पाउन हुँदैन ।
जुनसुकै देश वा ठाउँबाट आएको होस् जबसम्म यात्रा गर्ने वा संक्रमण भएको ब्यक्तिको प्रतक्ष्यरुपमा बुंद (droplets) सार्ने मनसाय राखेर ब्यवहार गर्दैन यसमा उसको कुनै कसुर हुँदैन । अहिले समाजमा त्यस्ता संक्रमित ब्यक्तिहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेको पनि देखिन्छ । कतिपय आदत र प्रवृत्तिको कारण पनि ब्यक्तिले रोग अरुलाई संक्रमित गरिरहेको हुन्छ तर उसलाई थाहा हुँदैन । लकडाउन र संक्रमण माध्यमको अवरोध, एकान्तवास र स्वासप्रस्वास समस्यामा समयमा नै उपचार सहयोग नै यस भाईरसबाट बच्ने महत्वपूर्ण उपायहरु हुन् । यो भाईरसले एम्युनटी शक्ति कम भएका वर्ग: दीर्घ रोगी र बृद्धबृद्धाहरुमा द्रुत संक्रमण र बढी असर गरेको देखिन्छ । यस्ता मानिसहरुसंग सम्पर्कमा आउने स्वास्थ्यकर्मी र केयरकर्ताले अनिवार्यरुपमा उपयुक्त पिपिई प्रयोग गर्न र थप सजगता अपनाउन पर्दछ । यसबाट मृत्युदर घटाउन मद्दत गर्दछ । नियमित पिपिईको उपलब्धताको जिम्मेवारी सरकारले लिन पर्दछ ।
नेपालमा पिपिई खरिद सम्बन्धी विवाद, निर्णयमा ढिलासुस्ती र पैसाको खेलको आसंकाका कारण समयमा आवस्यक पर्ने पिपिई आपूर्ति कमजोर भयो । जसका कारण शुरु शुरुमा स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर हुन गयो। अहिले सरकारले यो जिम्मा सैनिकलाई दिएपछि अस्थाईरुपमा हल भएको देखिन्छ । अहिले सुरक्षित कोरोना परीक्षण र आकस्मिक सेवा र राष्ट्रिय सुरक्षामा खटिनु पर्ने सेना पिपिई किन्नमा ब्यस्त रहनु त्यति उचित भने देखिंदैन । सरकारले यस्ता वस्तुहरु छिटो र छरितो रुपमा गुणस्तरीय वस्तु ब्यापारिक माध्यमबाट नै खरिद गर्ने गर्नु पर्दछ भने यस्ता नियमित चाहिने अत्यावस्यक वस्तुहरु आफ्नै देशमा उत्पादन गर्ने ब्यवस्था मिलाउँदै जान जरुरी हुन्छ ।
कोरोना ब्यबस्थापनमा सूचना र संचारको भूमिका ठूलो हुन्छ । सरकारले केन्द्रीय हेल्पलाईनको ब्यवस्था गरेको छ । जसमा कोरोना सहयोगको लागि १११५ वा ११३३ र एम्बुलेन्स सेवाको लागि १०२ मा डायल गर्नु पर्दछ । यसबाट धेरै परामर्श लिन सकिन्छ तर यो हेल्प सेन्टरको क्षमता, प्राबिधिकहरुको ब्यवस्था र सूचना संकलन ब्यवस्था सुदृढ पारिनु पर्दछ भने यसमा ईमर्जेन्सीका लागि एकीकृत सेवाहरु यसैमा समन्वय गराउन पर्दछ । देश भरिमा हवाई र स्थल दुवै एम्वुलेन्स सेवाहरुलाई तैनाथ गर्नु पर्दछ । कुनै कन्फ्युजन नरहने गरी एउटै हेल्पलाईनबाट आवस्यक सेवाहरु पाउने ब्यवस्था गर्न जरुरी छ । ठाउँ ठाउँमा तैयारी खाना बनाएर वरपर लकडाउनका कारण समस्यामा परेका र क्वारेन्टाइनमा वा आईसोलेसनमा बसेकाहरुलाई उपलब्ध गराउन युवा युवती रहेको भोलेन्टियर सेवाका लागि ब्यवस्था र प्रोत्साहन गर्न पर्दछ । छरछिमेकमा Covid 19 का बिरामीलाई थप संक्रमण हुन नदिई सहयोग गर्न र आवस्यक परे अस्पताल पुर्याउन स्थानीय युवाहरुलाई तालिमको आयोजना गर्न पर्ने देखिन्छ ।
यो भाईरस नयाँ भएकाले धेरै कुराहरुमा अन्योलता नै छ तर पनि अरु देशहरुले कसरी ब्यवस्थापन गरिरहेका छन् भन्ने हेर्न पर्ने हुन्छ र त्यही आधारमा साधन स्रोत दुरुपयोग नहुने गरी काम गर्नु पर्दछ । नेपालले यो भाईरस टेष्टको लागि शुरु शुरुमा आरडिटी (Rapid Diagnostic Test Kit) र पिसिआर दुवैअपनायो । छिटो र सरल हुने भएकाले र्यापिड टेष्टलाई प्रयोग गर्यो । यसको विश्वस्नियतामाथी धेरै प्रतिकृया र विरोध पछि भने पिसिआर (Polymer Chain Reaction) लाई जोड दिन थालेको देखिन्छ । Covid 19 भए नभएको जाँच्न पिसिआर पद्दति बढी विश्वस्निय छ भन्ने देखिएकोले यसैलाई मात्र प्रयोगमा ल्याउन पर्दछ । यसबाट श्रोत दुरुपयोग पनि रोकिने र रिपोर्टमा पनि विश्वशनीयता हुन्छ । यसबाट संक्रमण नियन्त्रणमा सहयोग पुग्दछ । यो टेष्ट संकलन गर्न स्वास्थ्यकर्मीहरुबाट यदि कठिन हुँदै गएमा बेलायतमा जस्तै युवा सैनिकहरुलाई प्रयोग गर्न सकिन्छ । यो टेष्टको सैम्पल लिँदा साबधानी र उचित तरिका दुवै कुरालाई ध्यान दिन जरुरी छ । साबधानी नभए आफैँ संक्रमित हुने डर हुन्छ भने उचित तरिका प्रयोग नभए सैम्पलमा प्रदुषित हुन सक्ने र सही रिपोर्ट नआउन सक्दछ । यसबाट हुने परिणाम झन डरलाग्दो हुन जान्छ ।
अर्को पक्ष, मानिसहरु एकान्तमा बस्न पर्ने भएकाले बरु कसैलाई नभन्ने वा परीक्षण गर्न पनि नजाने हुन्छन् । लक्षण देखिए पनि सजगता नअपनाउनु सामाजिक अपराध हो जसमा कारण कसैको ज्यान जान सक्छ भन्ने जानकारी सबैमा पुग्न जरुरी छ । यस अवस्थामा सरकारले पैसा तिरेर प्राईभेटरुपमा टेष्ट गर्न सक्ने भनेको कुरा पनि बाहिर आए । यो रोगको उपचार नै नभैरहेको अवस्थामा सर्वसाधारण पैसा तिरेर टेष्ट गर्न जान्छन् भन्ने आशा गर्नु भाईरस नियन्त्रण गर्ने उचित रणनीति हैन । यो भाईरस नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो र यसमा सहयोग पुर्याउनु जनताको कर्तब्य हो । लक्षण देखिएका, कुनै कारणबस बाहिर निस्केका र संक्रमितसंग सम्पर्कमा आएका सबै मानिसहरुलाई खोजेर टेष्ट गर्न र यदि सम्पर्क भए एकान्तमा बस्न सल्लाह दिनु पर्दछ ।
साधारणरुपमा जब बिरामी हस्पिटल वा नर्सिङ होममा भर्ना हुन्छ, त्यहाँ covid 19 टेष्ट गर्नु पर्दछ भने हस्पिटल बाहिर पनि माथि भनिएझैँ टेष्ट हुन पर्दछ । यदि टेष्ट गरिएका मानिसहरुमा नेगेटिभ आएमा त केही भएन यदि पोजेटिभ आएमा ती मानिसहरुलाई ७ दिनसम्म आईसोलेसनमा राख्न वा बस्न पर्दछ । यदि स्वास्थ्य स्थिति बिग्रेमा हस्पिटल सेवामा पुर्याउन पर्दछ । सामान्य असर देखिएकाहरुमा संक्रमण भएको ७ दिन पछि शरीरले एन्टिबडी बनाउने भएकोले अरुमा संक्रमित हुँदैन भनिन्छ । त्यसैले बेलायतमा त्यस्तो मानिस शारिरिकरुपमा सक्षम भए ७ दिनपछि काममा फर्कन सक्दछन् भनिएको छ । तर संक्रमितसंग सम्पर्कमा आएका मानिसमा लक्षण नदेखाए पनि १४ दिनसम्म एकान्तमा बस्न पर्दछ ।
नेपालमा कोरिन्टाईन वा एकान्तमा बसेका मध्येका मानिसहरुको मृत्यु हुन पुगेको भनिएको छ । अन्य मुलुकमा बृद्धबृद्धा र दीर्घ रोगी भएकाहरुको मृत्यु संख्या बढी भएकोमा नेपालमा त्यो स्थितिभन्दा फरक अहिलेसम्म मृत्यु भएकाहरु युवा अवस्थाका रहेका बुझिएको छ । यसमा फरक हुनुको कारण पत्ता लगाएर त्यसमा सजग हुन जरुरी छ । उनीहरुको एम्युनिटी क्षमता कम भएको, रोग लागि सकेपछिको खानपान, वातावरण र समयमा स्वास्थ्य सेवाको अभावकै कारण भएको हो कि अरु कुनै कारणले हो थाहा पाउन जरुरी छ । कोरोना बिरामीले प्रसस्त खानेकुराहरु, शुद्ध खानेपानी र सुष्क वातावरणमा सफा कपडाहरु प्रयोग गर्नु पर्दछ । खानपानको कमीले शरीरमा रोगविरुद्ध लड्ने शक्ति कमजोर हुने र अँध्यारो, चिसो, ढुसी लागेको ठाउँमा बस्दा, ढुसीयुक्त कपडा लगाउँदा वा ओड्दा यो छातीको रोग भएकोले झन् बढी असर गर्ने हुन सक्दछ । त्यसकारण टेष्ट रिपोर्ट पोजिटिभ देखिएका र क्वारेन्टाइनमा बसेकाहरुको अवस्थाको नियमित अनुगमन गर्नु र आवस्यकता बमोजिम सेवा उपलब्ध गराउन जरुरी छ ।
सरकारले १११ वटा अस्पतालहरुलाई कोरोना उपचारको लागि पहिचान गरेको छ । यी अस्पतालहरुमा भैरहेको उपचार र बेड उपलब्धता सम्बन्धी केन्द्रीय कोरोना कल सेन्टरसंग समन्वय हुन जरुरी छ अन्यथा हस्पिटल खोज्दाखोज्दै बिरामीको मृत्यु हुन सक्दछ । अर्को पक्ष अहिले त बिरामीको संख्या कम छ संक्रमण नियन्त्रणभन्दा बाहिर गएमा हस्पिटलहरुमा बिरामीको चाप बढ्ने र पछिल्ला बिरामीहरुले सेवा नपाउने हुन सक्ने डर हुन्छ । ईटलीमा त्यस्तै भएको कारण धेरै मानिसहरुले छोटो समयमा ज्यान गुमाए । हस्पिटलमा चाप कम गर्न पोजेटिभ बिरामीलाई पनि एकान्तमा बस्न लगाउने र स्वास्थ्य स्थिति अनुगमन गरिरहने गर्नु पर्दछ । सिबियर केसहरु द्रुत गतिमा स्वास्थ्य बिग्रने भएकाले तुरुन्त आईसियु सेवा जरुरत हुन सक्दछ । यदि समयमा उचित सेवा नपाएमा मानिसको मृत्यु हुन सक्दछ । जब स्वासप्रस्वासमा समस्या आउँछ उनीहरुलाई तत्काल हस्पिटल सेवाको आवस्यकता पर्दछ । बढीमा १-२ घण्टा भित्र नै उक्त स्वस्थ्य सेवा केन्द्रमा पुर्याउने ब्यबस्था गर्नु पर्दछ । कोरोना बिरामीहरुलाई भेन्टिलेटर सहितको आईसियु सेवा जरुरत पर्न सक्दछ । त्यो सेवा त्यही नजिकको हस्पिटलमा उपलब्ध हुन जरुरी छ ।
नेपालमा ढिलो संक्रमण भएको कारण सरकारसंग यी सेवाको तैयारी गर्ने प्रसस्त समय थियो । यी कुराहरुमा अझै तैयारी आवस्यक छ भने यथासीघ्र गर्न जरुरी छ । संक्रमितहरुको संख्या बृद्धि भैरहेको संख्या बुझ्दा भ्यानटिलेटर सहितको हस्पिटल बेडहरुको थप प्रबन्ध जरुरत हुन सक्दछ । मानिसहरु भ्यान्टिलेटर सुविधाको अभावको कारण मृत्यु हुन हुँदैन । हस्पिटल र एम्बुलेन्स सेवाका स्वास्थ्यकर्मीहरु आफैं संक्रमित हुन सक्ने र अरुलाई पनि सार्न सक्ने सम्भावना बढी भएकाले सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिपिई कमी हुन दिन हुँदैन र लक्षण देखिएमा स्वास्थ्यकर्मी ७ दिन एकान्तमा बस्न जरुरी छ । हस्पिटल बेडमा चाप बढ्ने अवस्थामा अर्जेन्ट नभएका अन्य स्वास्थ्य सेवाहरु बन्द गरेर भए पनि यो महामारी संक्रमितहरुको ओषधी उपचार गर्ने ब्यवस्था गर्नु पर्दछ ।
यसरी नेपालमा दिनानुदिन बढ्दै गईरहेको कोरोना संक्रमणले मुलुकभित्र र बाहिर बस्ने सबैलाई चासो र चिन्ता बढाएको छ । लकडाउनको पूर्ण पालना, न्यून आय भएका श्रमिकहरुलाई जीविका धान्ने ब्यवस्था, क्वारेन्टाइन र एकान्त बस्ने प्रकृयालाई पूर्ण पालना, प्रभावकारी अनुगमन प्रकृया, पिपिईको उचित ब्यवस्था, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी र भोलेन्टियरहरुलाई अनलाईन तालिम र हौसला, तथ्य सूचनाको प्रवाह र हस्पिटलमा आवस्यकता अनुसार समन्वयात्मक र सुरक्षित आईसियु सेवा प्रदान गरेमा यो महामारीबाट कम मानवीय क्षति हुने देखिन्छ ।

पुरुषोत्तम पौडेल समसामयिक विषयमा कलम चलाउँछन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार