मगर संघ युकेको वार्षिक साधारणसभा ‘जुम’बाटै

फाइल फोटो

लण्डन । गतवर्ष यतिबेला बेलायतमा हरेक सप्ताहन्तमा नेपाली संघसंस्थाको कार्यक्रम तीव्र हुन्थ्यो । कसैको बैठक, कसैको साधारणसभा, कसैको ग्रीष्मकालिन भेटघाट । तर केही महिनाअघि संसारमा भित्रिएको कोरोना भाइरसले यी दिनचर्यालाई छोडेर ज्यान बचाउनु नै मुख्य कार्य बनाइदियो । भाइरसले बदलिदिएको समाजको स्वरुपसँगै अब फेरि नेपाली समाज पनि बदलिँदै आफ्ना क्रियाकलाप अगाडि बढाउँदै छन् ।
यसैक्रममा युकेका ठूला संस्थाहरुमध्ये एक मगर संघ युकेले अनलाइनमै आफ्नो एक महत्वपूर्ण वार्षिक कार्यक्रम साधारणसभा सम्पन्न गरेको छ । गत आइतबार जुमबाट गरिएको सो साधारणसभामा विगतमा भन्दा धेरै सहभागिता रहेको अध्यक्ष सुनिल रानामगर बताउँछन् ।
अनलाइन साधारणसभामा केन्टदेखि क्याट्रिकसम्मका १२ वटा शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, संरक्षक, सल्लाहकारहरु गरी ८० जनाको सहभागिता थियो ।
अध्यक्ष राना आफूले कार्यकालको शुरुवातबाटै प्रविधिको प्रयोग गरी भेट भएरै गरिने बैठकहरु घटाउन खोजेको बताउँछन् । “धेरैवटा विकल्पहरु परीक्षण गरियो तर भनेजस्तो भएन । तर अहिले कोरोनाको महामारीका कारण अरु उपाय नै रहेन” रानाले भने ।
कोरोनाको महामारीपछि युकेमा धेरै संघसंस्थाले पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेका छन् । तर मगर संघ युकेले भने पूर्वघोषित साधारणसभाको मिति परिवर्तन गर्न वा स्थगन गर्न चाहेन । अध्यक्ष राना भन्छन्, “कोरोनाले प्रभाव पारेको छ । यो केही महिनामै सकिने होइन । त्यसैले हामी पनि परिवरिर्तत सन्दर्भअनुसार अघि बढ्दै जानुपर्छ भनेर स्थगन गर्न चाहेनौँ ।”
जुमबाट गरिएको साधारण सभा केही लामो भए पनि पहिले पहिले गरिने साधारणसभामा हरेक सहभागीको यात्राका लागि लाग्ने समय जोड्दा समयको वचत नै भएको देखिन्छ । त्यसका साथै कतिपयले साधारणसभामा माग लिँदै घरको काम पनि भ्याए । अध्यक्ष राना भन्छन्, “जुमका कारण कतिपय यसअघि कहिल्यै संघका कार्यक्रममा नआउनेहरु पनि आउनुभयो । नेपालबाट पनि सहभागी हुनुभयो ।”
अनलाइनबाट साधारणसभा चलाउन पहिलेका साधारणसभाभन्दा सजिलो भएको अध्यक्ष रानाले बताए । “पहिले पहिलेको साधारणसभामा छलफल चलाउन निक्कै गाह्रो हुन्थ्यो । एकै जना मात्र बोलिरहने पनि हुन्थ्यो तर अनलाइनबाट साधारण सभा गर्दा होस्टको नियन्त्रणमा कसलाई बोल्न दिने कसलाई नदिने सुविधा भएकाले त्यस्तो समस्या भएन” उनले भने ।
सबै अनुभव सकारात्मक मात्र छैनन् । नकारात्मक पनि छन् । प्राविधिक ज्ञान कमी भएका कारण प्राय वयोवृद्ध सल्लाहकारहरु साधारणसभामा सहभागी हुन पाएनन् । “हामीले साधारणसभा अघि कसैलाई प्राविधिक सहयोग चाहिन्छ भने हामी सहयोग गर्न तयार छौँ पनि भनेका थियौँ” अध्यक्ष रानाले भने । यसबाहेक वक्ताको भावभंगी, हाउभाउ देख्न नपाएको राना बताउँछन् ।
“कसैले मैले बोल्न पाइनँ भन्ने ठाउँ रहेन”, उनले भने । “समग्रमा सकारात्मक प्रभाव परेको छ । जेजस्तो अवस्थामा पनि जीवन र संस्था चलाउँदै जानुपर्छ भन्ने सबैलाई सन्देश गएको छ”, उनले थपे ।
संघले एक वर्षका लागि जुमको सेवा खरिद गरी आफ्ना शाखाहरुलाई पनि साधारणसभा, बैठक जस्ता सांगठानिक क्रियाकलाप नरोक्न अनुरोध गरेको छ ।
अध्यक्ष रानाको अध्यक्षता र महासचिव रुद्र थापाको सञ्चालनमा भएको साधारणसभामा वरिष्ठ उपाध्यक्ष सीता पुनले स्वागत मन्तब्य दिएकी थिइन् । साधारणसभामा महासचिव रुद्र थापाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष होमबहादुर रोकाले आर्थिक प्रतिवेदन, क्याप्टेन रिटायर्ड बलराम घले, इन्द्र पुन र जगत थापाले गत कार्यकालको लेखापरीक्षण प्रतिवेदन, मेजर रिटायर्ड कुल थापाले गत वर्षको लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए । यस्तै संघका शाखाहरु र आवद्ध संस्थाहरुले पनि प्रतिवेदन पेश गरेका थिए । विधान संशोधन समितिका संयोजक क्याप्टेन रिटायर्ड रामबहादुर पुनले विधान संशोधनको मस्यौदा पेश गरेका थिए ।
साधारणसभामा प्लमस्टिड शाखाका अध्यक्ष दलप्रसाद थापा, केन्ट शाखाका अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुन, क्याट्रिक शाखाका अध्यक्ष क्याप्टेन रिटायर्ड भक्त थापा, वेल्स शाखाका अध्यक्ष महादेव थापा, युनाइटेड ह्याम्पसायर सरे बर्कसायर शाखाका अध्यक्ष श्रीमती हेमा राना, स्वीण्डन शाखाका अध्यक्ष कुमार राना, रेडिंग शाखाका अध्यक्ष टिकाजी राना, मिडल्याण्ड शाखाका सचिव चम्पा थापा लगायतले प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनका साथमा आफ्ना क्षेत्रमा कोरोनाले पारेको प्रभाव पनि बताएका थिए । यस्तै मगर महिला संघ युकेकी अध्यक्ष विष्णु श्रीश, मगर युवा संघका अध्यक्ष किशोर रानालगायतले पनि आफ्ना संस्थाको गतिविधि प्रस्तुत गरेका थिए । यस्तै, नेपालबाट मेजर रिटायर्ड कृष्णकुमार आलेले नेपालमा रहेको संघको विभिन्न कोषका बारेमा जानकारी गराएका थिए ।
साधारणसभाले संघको आगामी तीन वर्षका लागि लेफ्टिनेण्ट कर्णेल रिटायर्ड यामबहादुर राना, क्याप्टेन रिटायर्ड दुर्गा राम्जाली र जगत थापालाई संघको ट्रष्टीका रुपमा चयन गरेको छ । त्यस्तै संघको मुखपत्र ‘कानुङ लाङ्घा’ प्रकाशनको संयोजनको जिम्मा सदस्य निर्मला थापालाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री