
लण्डन । कोरोना भाइरस (कोभिड-१९) का कारण प्रभावित विद्यार्थीहरु, बृद्धबृद्धा र बेलायत भ्रमणमा रहेका मानिसहरुमा वितरण गरिएको राहतमा समन्वय अभाव देखिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, मर्जिङ नेप्सक्स, नेपाली जनसम्पर्क समिति युके, प्रवासी नेपाली एकता मंच युके तथा स्थानीय संघसंस्थाहरुबीच सहयोग आदानप्रदान भन्दा पनि आ आफ्नै ढंगले सहयोग वितरण गर्न थालेपछि समन्वय अभाव सतहमा देखिएको हो ।
ती संस्थाहरुले वितरण गरेको राहत कस कसले पाएका थिए भनेर नाम सार्वजनिक गरेका छैनन् । व्यक्तिगत विवरण गोप्य राख्ने नाममा कसैले दोहोर्याएर राहत सहयोग पाउने र कसैले नपाउने स्थिति आउन सक्ने देखिन्छ । गत जनवरी वा फ्रेवुअरीमा बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई सबैभन्दा बढी राहत वितरण गरिएको छ । नेप्सक्स, एनआरएनए युके, एनपिसिसी युके र सोलिसिटर दिपक भट्टराई लगायतले विद्यार्थीहरुलाई राहत वितरण गरेको सार्वजनिक गरिसकेका छन् । तर, सोलिसिटर भट्टराई बाहेक अरुले राहत वितरण गरिएका व्यक्तिको नामावली सार्वजनिक गरेका छैनन् ।
बेलायतमा नेपाली विद्यार्थीहरुलाई खान र बस्न गाह्रो भएको समाचारहरु आउन थालेपछि संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावासले मर्जिङ नेप्सक्सलाई विद्यार्थीहरुको समस्या समाधानका लागि राहत वितरण गर्ने जिम्मा दियो । राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणले विज्ञप्तिमार्फत नेपाली समुदायलाई नेप्सक्सलाई आर्थिक सहयोग गर्न आग्रह गरेपछि नेप्सक्सले विद्यार्थीहरुको लागत संकलन गरी राहत वितरण गरिरहेको छ । दूतावासबाट आधिकारिक पत्र पाएलगत्तै नेप्सक्सले आफ्नो कामलाई तीव्रता दिँदै आएको छ । राहत बाहेक अध्ययन गरेका विश्वविद्यालयका ‘फि रिफण्ड’ देखि काउन्सिलिङसम्मका कार्य पनि नेप्सक्सले गरिरहेको अध्यक्ष पवन कंडेल बताउँछन् ।
दूतावासको निर्णयलगत्तै बसेको एनआरएनए युकेको बैठकले आफूले बनाएको मापदण्डका आधारमा विद्यार्थीहरुलाई छुट्टै सहयोग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि करीब ४० जना विद्यार्थीहरुलाई एनआरएनए युकेले राहत वितरण गरिसकेको जनाएको छ । करीब तीन हजारलाई माक्स, स्यानिटाइजर, ग्लोव्सलगायतका सामग्री पनि एनआरएनले वितरण गरेको जनाएको छ ।
त्यसबाहेक व्यक्तिगत रुपमा कतिपय कार्यसमिति सदस्यहरुले बेलायत भ्रमणमा रहेका डाक्टरहरु, यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरु र समस्यामा परेका सर्वसाधारणलाई घरमै राखेर सहयोग गरिरहेका छन् । उपाध्यक्षद्वय सुनिलबावु खड्का र रोजिना प्रधान राईसँग सम्पर्कमा आएका विद्यार्थीमध्ये धेरैले सहयोग पाएका छन् । ‘एनआरएनए युके हेल्पलाइन र यहाँका समुदायको सिफारिसलाई पहिलो प्राथमिकतामा राखेर हामीले कोरोनाका कारण प्रभावित भएका नेपालीलाई सहयोग गरिरहेका छौं,’ उपाध्यक्ष सुनिलबाबु खड्काले वीनेपालीसँग भने । एनआरएनए युकेले समस्यामा परेका व्यक्तिहरुलाई सम्पर्कमा आउन पटक पटक आव्हान गरिरहेको छ । ‘राहत वितरणमा एक अर्कासँग सहकार्य हुन जरुरी छ,’ उपाध्यक्ष खडकाले भने, ‘समस्यामा परेकाले नपाउने र टाठाबाठाले दोहोर्याई तेहर्याई पाउने स्थिति बन्न दिनु हुँदैन । हामी सबै हातेमालो गरेर अघि बढनुपर्छ ।’
कोरोना संक्रमणबाट प्रभावितलाई राहत वितरण गर्न इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा समुदायसँग आर्थिक सहयोग अभियान चलिरहेको छ । कोरोना भाइरसकै कारण समस्यामा परेका व्यक्तिहरु जीवन निर्वाहका लागि रकम खर्च गरिने कोभिड १९ राहत कोषका संयोजक श्रेष्ठले जनाए ।
आइतबार नेपाली जनसम्पर्क समिति युके अध्यक्ष यूवराज गुरुङको टोलीले हडर्सफिल्ड विश्वविद्यालयका केही विद्यार्थीहरुलाई राहत बाँडेको थियो । प्रवासी नेपाली एकता मंच युकेले पनि स्थानीय तहमा राहत वितरण गरेको जनाएको छ । ठाउँ ठाउँमा स्थानीय स्तरमा गठित समितिले आ-आफ्नै क्षेत्रमा राहत बाँडेका छन्। त्यसबाहेक अल्डरसट, फार्नवरो, डाटफोर्ड, रिडिङ, लेस्टर, ननिटनलगायत क्षेत्रमा पनि स्थानीय स्तरमा राहत बाँडिएका खबरहरु प्राप्त भएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]