लण्डन । कोरोना भाइरसको संक्रमणको फैलन शुरु हुँदा युकेमा बसोबासरत धेरै नेपालीलाई डर थियो–हाम्रा धेरै गोरखा भूतपूर्व सैनिकहरु वयोवृद्ध छन् उनीहरुलाई कस्तो असर पर्ला ?
धेरैजसो ज्येष्ठ गोरखा सैनिक र उनका परिवार रसमुर काउन्सिलअन्तर्गतको फार्नब्रो र अल्डरसटमा बसोबास गर्ने भएकाले सो क्षेत्रमा कोरोना संक्रमणले निकै मानवीय क्षति पुर्याउला कि भन्ने आशंका थियो तर सौभाग्यवश बेलायतका अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीको दाँजोमा सो क्षेत्रमा असर न्यून देखिएको छ । यसका पछाडि धेरै कारणहरु हुन सक्छन् जसमध्ये एक हुनसक्छ त्यहाँको नेपाली समुदायको क्रियाशीलता । कोरोना संक्रमणबाट ज्येष्ठ नागरिकहरुलाई बचाउन त्यहाँको नेपाली समुदायले के गरेको थियो ?
बेलायतमै नेपालीहरुको बाक्लो बस्ती रहेको काउन्सिल हो रसमुर काउन्सिल । त्यहाँका पूर्व सांसद जेराल्ड होवार्थले नेपालीहरुको अचानक बढेको भीड स्थानीय पूर्वाधारले धान्न नसक्ने भयो भन्दै केही वर्षअघि गुनासो समेत गरेका थिए । उनको गुनासोपछि पहिले धेरै सक्रिय नरहेको ग्रेटर रसमुर नेपाली कम्युनिटी अचानक सक्रिय बन्यो र यही कम्युनिटीको कार्य नै अहिले रसमुर क्षेत्रमा ज्येष्ठ गोरखा बचाउनमा महत्वपूर्ण बनेको छ ।
कम्युनिटीले स्थानीय काउन्सिल, स्वयंसेवकसित मिलेर नेपाली भाषामा कोरोनाबाट बच्ने उपायका बारेमा प्रचारसामग्री बनायो र घरघरमा बाँड्यो । गोरखा भूतपूर्व सैनिक समुदायमा लोकप्रिय बीएफबीएस गोरखा रेडियोमार्फत वयोवृद्ध गोरखा सैनिकहरुलाई कसरी कोरोनाबाट जोगिने, लकडाउनमा कसरी बस्ने, आपत पर्यो भने कसलाई, कसरी सम्पर्क गर्ने भन्ने बारेमा लगातार जानकारी दिइरह्यो । अनि युवा टोलीलाई कहीँ भाषाको समस्या परे दोभाषेको काम गर्न तम्तयार अवस्था राख्यो ।
धेरैजसो ज्येष्ठ गोरखा सैनिक र उनका परिवारले नियमित औषधि सेवन गर्नुपर्ने भएकाले उनीहरुलाई औषधि नछुटाई आपूर्ति गरिरहनु पर्ने थियो । औषधि संकलन गर्ने र सम्बन्धित व्यक्तिकोमा पुर्याउने जिम्मा युवाहरुलाई दिइएको थियो । यसैगरी, आफन्तहरु नभएका गोरखाहरुलाई किनमेल गरिदिनु पर्ने थियो । त्यस्तै, एक्लै बस्ने वा श्रीमान–श्रीमती नै बिरामी भएका गोरखाहरुलाई खाना पुर्याउनुपर्ने हुन्थ्यो । यी सबै कार्यका लागि कम्युनिटीले ४० जना स्वयंसेवकहरुमध्ये हरेक दिन दुई/दुई जनालाई खटाएको थियो । युकेमा लकडाउन शुरु भएपछि थालिएको यो क्रम अहिले पनि जारी छ । यसैगरी लकडाउनमा घरमै बस्दा अनलाइन योग र ध्यानको कक्षा सन्चालन गरिँदै आएको छ।
त्यस्तै, ज्येष्ठ गोरखा सैनिकहरुलाई समस्या आफ्नो आपसमै साटासाट गर्न सजिलो हुने देखेर कम्युनिटीले अल्डरसट र फार्नब्रोमा दुईजना ज्येष्ठ भूतपूर्व गोरखा सैनिकलाई सम्पर्क व्यक्ति तोकेको थियो । सम्पर्क व्यक्तिले आफ्नो क्षेत्रका साथीहरुलाई नियमित सम्पर्क गर्ने र कुनै समस्या भएमा कम्युनिटीका अध्यक्षलाई जानकारी दिने सो अनुसार कम्युनिटीले स्वयंसेवक खटाउने चक्र बनाएको थियो ।
“हामीले ज्येष्ठ बाबाआमालाई घर बाहिर निस्कँदै ननिस्कनु, यदि तपाईलाई केही समस्या परे हामीलाई भन्नुहोस् भनेको थियौँ”, कम्युनिटीका अध्यक्ष रामधन राई भन्छन् । “घरमा बस्दा दिक्दार लागे गार्डेनमा निस्कनु, घाम ताप्नु तर ढोका बाहिर निस्कँदै ननिस्कनु भनेका थियौँ । पूर्णरुपमा लकडाउनको नियम पालना गरेकै कारण होला अहिलेसम्म त्यस्तो अप्रिय घटना सुन्नु परेको छैन”, उनले थपे ।
रसमुरमा कति नेपालीमूलका बस्छन् आधिकारिक तथ्यांक छैन । सन् २०११ मा भएको पछिल्लो जनगणनामा करिब ७ हजार नेपाली रहेको देखाएको छ तर सो क्षेत्रका पूर्व सांसदले नै १० हजार नेपाली रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । राईको अनुमानमा रसमुरमा कम्तीमा १५ हजार नेपाली हुनुपर्छ । त्यसमध्ये ज्येष्ठ नागरिक र बाँकीको अनुपात आधा–आधा हुनुपर्छ । अध्यक्ष राईका अनुसार अहिलेसम्म सो क्षेत्रमा कोरोना संक्रमणबाट एकजना मात्र बितेको अनौपचारिक जानकारी प्राप्त भएको छ र संक्रमितहरुको संख्या पनि धेरै छैन । जबकि रसमुर भन्दा धेरै कम नेपालीहरु बसोबास गर्ने बेलायतका अन्य क्षेत्र ननिटन र नट्टिघममा समेत रसमुरमा भन्दा धेरै नेपाली कोरोना संक्रमणबाट बितेका छन् ।
कोरोनाले विश्वव्यापी रुपमै ज्येष्ठ नागरिकहरुलाई धेरै असर पारेको छ । बेलायतमा मात्र कोरोना संक्रमणबाट दिवंगत भएकाहरुमा ७० प्रतिशतभन्दा धेरै हिस्सा ७५ वर्ष माथिकाको रहेको तथ्यांक छ । कोरोना र ज्येष्ठ नागरिकहरुको यस्तो अवस्थाका बारेमा शुरुमा सुन्दा ‘ओहो ! धेरै मानिस जान्छ होला’ भनेर आफूलाई पनि लागेको अध्यक्ष राई बताउँछन्, । ‘तर बेलायत सरकारको नियम, हाम्रो अनुरोधलाई उहाँहरुले राम्रोसित पालना गरिदिनुभयो र कोरोनालाई नियन्त्रणमा राख्न सक्यौँ’, उनले भने ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो