बेलायतमा कोरोना संक्रमण र जातिय अल्पसंख्यक समुदाय

शुरुआती दिनहरुमा हामीमा के भ्रम रहयो भने कोरोना भाइरस चीनमा मात्र सीमित रहन्छ । बेलायतमा हामी सुरक्षित छौँ, अझ अमेरिकाले त यतिसम्म भन्न भ्यायो कि यसले अमेरिकालाई खासै असर गर्दैन तर जब समय ब्यतीत हुँदै गयो यसले नितान्त भिन्न नतिजा देखाउँदै गयो । झट्ट हेर्दा अन्य सामान्य भाइरस जस्तै बुझिए पनि यसको प्रकोप बढ्दै जाँदा असर र प्रभाव थाम्नै नसकिने प्रकारले बढ्दैछ । सामाजिक विकासको विधार्थीको नाताले सोही चस्माले हेर्ने कोसिस यो सानो आलेखमा गरेको छु । हुनत यस सम्बन्धी तहगत तथा वर्गीकृत तथ्यांकहरु छैन । यद्यपि जे जति पाइयो त्यसैको आधारमा कोरोनाले जातिय अल्पसंख्यकहरु (एसिएन र अफ्रिकनमूलका आप्रवासीहरु) समुदायलाई पारेको असरको बारेमा सानो आँकलन गर्ने कोसिस गरेको छु ।

साँच्चै जातिय अल्पसंख्यक समुदाय बढ़ी चपेटामा परेको हो त ?

यो एउटा जटिल प्रश्न हो र भएका तथ्यांक केलाउने हो भने निक्कै नै अत्यासलाग्दो स्थिति अगाडि आउँछ । सन् २०११ को जनगणनाअनुसार सम्पूर्ण जनसंख्याको मात्र १४ प्रतिशत हिस्सा ओगटेको यो समुदायको संक्रमित हिस्सा भने इन्टेन्सिभ केयर न्याशनल अडिट एण्ड रिसर्च सेन्टरका अनुसार जम्मा संक्रमितमध्येकै ३३.६ प्रतिशत छ । जनसांख्यिक अनुपातमा हेर्दा यसलाई भयावह नै भन्नुपर्ने हुन्छ । द गार्जियनका अनुसार १४ प्रतिशत कुल जनसंख्या भएको यस समुदायको मृत्युदर भने हालसम्म कुल मृत्युको १६ प्रतिशत रहेको तथ्य आएको छ । प्रत्येक तेश्रो गंभीर संक्रमित बिरामी पनि अफ्रिकन तथा एसिएन अल्पसंख्यक समुदायकै छ । द गार्जियनकै अनुसार अझ भयावह त के छ भने हालसम्म मृत्यु भएका स्वास्थ्यकर्मीमध्ये ६८ प्रतिशत यही समुदायबाट छन् । त्यति मात्र होइन अग्रभाग (फ्रन्टलाइन) मा रहेर काम गर्ने ४८ स्वास्थ्यकर्मीले हालसम्म ज्यान गुमाइसकेका छन् त्यसमा पनि ३३ जना यही समुदायभित्रका छन् ।

बेलायतकै सबभन्दा उच्च मृत्यदर लण्डनको ब्रेन्ट काउन्सिलमा रहेको छ  जहाँ प्रति १ लाख जनस‌ंख्यामा २८६ जनाको मृत्यु भएको देखिन्छ । त्यहाँको मुख्य बासिन्दा पनि यही समुदायका छन् । लण्डनमा सबैभन्दा कम मृत्युदर किंग्स्टनमा छ जहाँ  प्रति १ लाख जनस‌ंख्यामा ५४ जनाको मात्र मृत्यु भएको पाइन्छ र यहाँका मूल बासिन्दा स्वेत छन् । लण्डनको ब्रेन्ट युकेकै उच्च मृत्युदर भएको स्थानमा पर्छ भने युकेभरिमै सबभन्दा कम मृत्युदर आयरल्याण्डमा छ ।

भौगोलिक रुपमा तुलना गर्दा आफू बसेको केन्टलाई हेर्ने कोसिस गरेँ । बड़ो चाखलाग्दो नतिजा देखियो । लण्डनसंग जोडिएको डार्टफोर्ड, ग्रेभ्जइन्ड  र सेभेनोक्समा मृत्युदर  प्रति १ लाख जनसंख्यामा ४० देखि ४४ जना मा छ भने लण्डनभन्दा टाढाका फोल्कस्टोन, मेडस्टोन र टनब्रिजमा मृत्यु दर १ लाखमा १८ देखि २२ जना देखिन्छ ।  यसरी मृत्युको अनुपात, संक्रमितको अनुपात, भौगोलिक, जनसंख्या जस्ता कुरालाई आधार मानेर हेर्दा अफ्रिकन तथा एसिएन मूलका जातिय अल्पसंख्यक समुदायको मृत्यु तथा संक्रमणको दर साथै यस समुदायका स्वास्थ्यकर्मीको मृत्यु तथा संक्रमण दर अतिउच्च देखिएको छ ।

कारण के हुन सक्ला त ?

यसको पनि सहज उत्तर भने छैन । यद्यपि धेरै गहन अध्ययन जरुरी छ । उपर्युक्त तथ्य तथा भएका तथ्यांकका आधारमा तपसिलका केही बुँदाहरुलाई केलाउन सकिन्छ

१. भीडभाडयुक्त बसाई:

सरकारी घरबार (हाउसहोल्ड) सर्भेको नतिजा अनुसार बेलायतमा सबभन्दा उच्च भीडभाडयुक्त बसोबास बस्नेमा बंगलादेशी  ३० प्रतिशत छन् भने सबभन्दा कम भीडभाडयुक्त बसाई स्वेतहरुको २ प्रतिशत मात्र छ । त्यस्तैगरी पाकिस्तानीहरु १६ प्रतिशत, अफ्रिकनहरु१५ प्रतिशत भीडभाडयुक्त बसाइमा बस्छन् । सर्भेमा हामी नेपालीहरुको अलग्गै महल छैन र हामी अन्यमा पर्दछौँ तर करीब १० प्रतिशत जनसँख्या भीड़भाड़ युक्त बसाईमा रहेको अनुमान छ । यस्तो बसाइले स्वास्थ्य र सरसफाईमा चुनौती आउने तथा आइसोलेसन बस्नुपर्दा अत्यन्तै उच्च संक्रमणको संभावना हुने हुँदा यस्तो प्रकारको भीडभाडयुक्त बसाइलाई जोखिमको कारणको रुपमा लिनुपर्ने हुन्छ ।

२. सांस्कृतिक कारण तथा संयुक्त बसाई:

माथिको बुँदासंग मिल्दोजुल्दो भएपनि मुख्य रुपमा सांस्कृतिक कारणले विभिन्न पुस्ता बृद्ध हजुरबा-आमादेखि नाति-नातिनासम्म एकै ठाउँमा बस्ने हुँदा संक्रमणलाई नै सघाउ पुग्ने हुन्छ ।

३. बढ़ी दीर्घ तथा जटिल रोगी बढ़ी हुनु:

उच्चरक्तचाप, डिप्रेशन, मुटु , मधुमेह, मोटोपन जस्ता दीर्घ रोगीहरु यो समुदायमा तुलनात्मकरूपमा बढ़ी हुनु पनि कोरोनालाई बढ़ावा दिने अर्को कारणको रुपमा लिनुपर्ने हुन्छ जुन अति जोखिमयुक्त समूह हो ।

४. गरीबी:

यो बुँदा लेख्दैगर्दा डा. तेजेन्द्र फेरालीज्यूसँगको सम्वाद सम्झिरहेको छु, जति नै विकास, समता जे जे भने पनि त्यो आर्थिक पक्षसंग अन्ततोगत्वा जोडिन आउँदो रहेछ । मूलत: गरीबी यस्तो जाँतो रहेछ जहाँ हरेक अवसर, सम्भावना, जीवन पिस्सिनै पर्नेरहेछ । अफ्रिकन तथा एसिएन जातिय अल्पसंख्यक समुदायको पनि सन्दर्भ त्यही हो कि गरिबीले हामीलाई फ्रन्टलाइनमा लगेर काम गर्न राखिदियो । हाम्रो रहरले होइन।

५.एक्लोपनको महसुस र आत्म विस्वासको कमी:

झट्ट हेर्दा यस्तो पनि हुन्छ र जस्तो लाग्छ तर मातृभूमिभन्दा टाढा अवसरको खोजीमा भौँतारिएको मान्छेले अगाडि आएको अवसरलाई लिँदैजाने हो । विडम्बना जति नै सम्पति जोड़े पनि महँगा गाड़ी चढ़े पनि आत्मसन्तुस्टी अत्यन्तै महत्वपूर्ण कुरा रहेछ जुन यहाँ पाउन गाह्रो छ । अधिकांश ब्यक्ति भित्री मनबाट खुसी छैनन् र विगतको खुसीमा रमाइरहेका छन् । यस्तो एक्लोपनले सताइरहँदा कोरोनाको डर थपिन गयो र अझ कोरोनाले संक्रमित नै बनाउँदा आत्मबल गिर्ने संभावना अति हुने रैछ। आत्मबल गिर्दो अवस्थामा बिरामीले लड़ाई लड्न गाह्रो हुँदोरहेछ । यो कुरा लेखक आफैँ पनि कोरोनाको लड़ाईबाट आएको हुँदा तथ्यभन्दा पनि अनुभवसंग नजिक छ ।

जेहोस युकेको सरकारले अफ्रिकन तथा एसिएन जातिय अल्पसंख्यक समुदायको जनसांख्यिक आधारमा भएको मृत्युदर तथा संक्रमणको अवस्थालाई हेरेर पुनरावलोकन गर्दैछ । आशा छ कारण तथा तथ्य नजिक पुगेर यसको रोकथाम हुनेछ ।

अन्त्यमा अफ्रिकन तथा एसिएन जातिय अल्पसंख्यक समुदायका निको भएका वा अस्पतालबाट फर्केका कोरोना पीड़ितहरुबाट समेत रोकथामका लागि भए गरेका अनुभवलाई साटासाट गर्दै र कोरोनाकै विभाग वा क्षेत्रमा कार्यरत हाम्रा धेरै स्वास्थ्यकर्मीहरुबाट अनुभव साटासाट गर्दै यो हाम्रो समुदायलाई कसरी पीड़ाबाट निकाल्न सकिन्छ र मृत्युदर तथा संक्रमण घटाउन सकिन्छ भन्ने तर्फ सामाजिक अभियन्ता तथा सम्बद्ध संघ संस्था लाग्नुपर्ने खाँचो टडकारो देखिएको छ ।

आऔं हामी सबै मिली बचौं र बचाऔं ।

(लेखक डार्टफोर्ड नेपाली कम्युनिटीका अध्यक्ष ,आफैँ कोरोना पीडित तथा अन्तर्राष्ट्रिय सामाजिक विकासको बिद्यार्थी हुनुहुन्छ)

Sources:

The Guardian

The Kent online

2011 census

ICNARC

Household Survey

NHS workforces (gov website)

प्रतिक्रिया

सम्बन्धित सामाग्री