ब्यक्तिगत दुःख सुखभन्दा पनि सात समुन्द्रपारि संसार कै सम्बृद्ध भनिएको देश बेलायत जहाँ कोरोनासँगको जम्काभेटपश्चात जिजीविषालाई जीवित राख्न कति कठिन भयो भन्ने यो अनुभव । कोरोनासंग लडिरहेका र लडनुपर्ने अवस्थामा रहेकाहरुलाई कसरी लडियो भन्ने बारेमा थप जानकारी भयो । कोरोनासँग लड्न सहयोग पुग्यो भने आफुलाई अलिकति भएपनि सन्तुष्टि मिल्नेछ भन्ने विस्वास लिएको छु ।
सन्दर्भलाई सुरुदेखि नै जोडन पाए अहिलेसम्मको जम्काभेट र विजयबीचको त्रासदी प्रस्ट्याउन सजिलो हुनेछ । सर्वप्रथम कोरोना प्रकोप देखिने गरी बेलायतमा सुरुभयो । सरकारी नीति अनुसार अत्यन्तै गाह्रो अवस्थामा मात्र एनएचएसको १११ मा सम्पर्क गर्न सकिने र जीवन नै जोखिममा पर्न जाने सम्भावनामा मात्र इमर्जेन्सी सर्भिस ९९९ लाई खबर गर्न सकिने स्वास्थ्य गाईडलाइन छ । डाक्टर कहाँ जान नसकिने भन्नासाथ डार्टफोर्ड नेपाली समाजको अध्यक्षको हैसियतमा तत्काल कार्यसमितिको बैठक बोलाएर पर्न सक्ने सम्भावित असर र जरूरतको बारेमा साथीहरुलाई अवगत गराए । सम्भवत टिओआरसहितको कोरोनासंग जुध्ने पहिलो औपचारिक प्रयासस्वरुप हामीले स्वयंसेवक टिम र स्वस्थ्य टीमको रुपमा दुईवटा औपचारिक टिम सहितको प्रारूप तय गरेका थियौं । एकातिर स्वयंसेवक टिमले समन्वयात्मक रुपमा लजिस्टिक सपोर्ट गर्दै रह्यो भने अर्कोतिर घरमै आइसोलेसन बसेदेखि अस्पताल जानुपर्ने अवस्था बिचको अत्यन्तै सम्वेदनशील अवस्थामा स्वास्थ्य टिमले कन्सलट्यान्ट डाक्टरहरुको सुझावसहितको सहयोग गरिरह्यो । हाम्रो यो ‘अप्रोच’ धरै समुदायलाई मन परेर यस्तै गरिरहनु भएको जस्तो लाग्छ । बेलायतस्थित नेपाली राजदूतावास, काउन्सिल तथा गैरआवासीय नेपाली संघ युकेका साथीहरुबाट पनि उत्साहपूर्ण प्रतिकृया आइरह्यो । हामीले क्षमताले भ्याएसम्म सहयोग जारी राख्यौँ ।
यसैबीच, मलाई निक्कै कडा खोकीले समायो । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा मैले केही नढाँटिकन हाम्रो सहयोगी टिममा अपडेट गर्न थालेँ । धेरै साथीहरुले मलाई स्वास्थ्यलाभको कामना र प्रत्येक ६ घण्टामा सिटामोल लिन सुझाव दिनुभयो । परिवारको सल्लाह, आफ्नो ज्ञान, साथीहरु र एनएचएसको सल्लाह अनुसार काम गर्दै गए । तर ६ अप्रिल दिउँसो अत्यन्तै गाह्रो महशुस भयो ।
श्वासप्रश्वास लिन मुस्किल पर्याे, यो कुरा छोरा जेनिसले एकदम नोटिसमा लिएको रहेछ र रोशू (श्रीमती) ले ९९९ कल गर्न भनेपछि मलाई त कुरा गर्न गाह्रो भैरहेकोमा जेनिसले नै कुरा गरे । छोराले फोन राखेको १५ मिनेटमै एम्बुलेन्स घरमा आइपुग्यो । त्यो बेला सायद अलि ढिला भएको भए मेरो स्वास्थ्य अवस्थाका बारेमा भन्न सक्दिन थिएँ । मलाई तत्काल ड्यारेन भ्याली अस्पताल डार्टफोड इमरजेन्सीमा पुर्याइयो । चेकजाँच गर्दा कोरोना पोजेटिभ देखियो ।
यही समय थियो मेरो कोरोनासँगको जुधाइ र मृत्युसँगको करिब साक्षात्कार ! शरीरमा अक्सिजनको कमी हुन थालेको र लंग्समा इन्फेक्शन देखिएको हुँदा एन्टिबायोटिक लिने र घरमै आराम गर्ने सलाह बमोजिम अस्पतालबाट भोलिपल्ट बेलुकी घर आएँ । घर त आएँ तर पनि ज्वरो र खोकी निको भएको होइन, नेपाल रहेका आफन्तहरु, बुवाआमालाई धेरै ढाँट्न सकिएन । हाम्रो संयोजक आशा फेराली बैनीलाई यथार्थ बताइदिनु अनुरोध गरेँ । आशा बैनीले बुवाआमालाई मेरो स्वास्थ्य अवस्थाका बारेमा विस्तृतमा बुझाएपछि वहाँहरु पनि आत्तिन छाड्नु भयो । त्यसपछि मैले धेरै आनन्द महशुस गरेँ । तैपनि निरन्तर परिवारसँग सम्पर्कमा रहेँ ।
स्वास्थ्य टिमको साथीहरुसँग नियमित सम्पर्कमा नै थिएँ । यता साथीहरुबाट सोधखोज हुनथाल्यो यत्तिकैमा श्रीमती रोशुको स्वास्थ्यमा नकारात्मक असरहरु देखापर्न थाल्यो, बाबु जेनिसलाई पनि ज्वरो देखियो । घरका सबै बिमारी भए । परिवारमा श्रीमती र छोरा जेनिसलाई पनि कोरोना देखियो । हामी छुट्टाछुट्टै कोठामा आइसोलेसनमा बस्न थाल्यौँ । परिवारको सदस्यबीच भेटघाट गर्न नसक्ने अवस्थामा हामी पुग्यौं । यस्तो बेला हाम्रो स्वयंसेवक टिम र स्वस्थ्य टिमको अमूल्य योगदानको जति प्रसंशा गरेपनि कमै हुन्छ ।
अहिले पनि रोशु सिटामोल लिईरहेकी छिन् । अब श्रीमती रोशुको स्वास्थ्यमा सुधार भइरहेको छ । छोरा जेनिस चाहिँले कोरोनामाथि जित हासिल गरिसकेको छ । म लड्दै छु । त्यो कोरोनालाई म पछारेर छाड्छु भन्ने हिम्मत मैले लिएको छु । यो कोरोना विरुद्धको लडाईमा मेरो अनुभवलाई राख्दा हाम्रो समुदायलाई ठूलो सहयोग हुने आशा मैले लिएको छु ।
कोरोनासँगको युद्ध जित्नका लागि सहयोगी भएका केही महत्वपूर्ण बुँदा सेयर गर्न चाहन्छु ।
१. आत्मविश्वास-
यो गाह्रो कुरा हो । तर मैले विमारीको अवस्था भोगिसकेका साथीहरुको लडाइलाई नजिकबाट हेरिरहेको थिएँ । विशेषतः विनोद न्यौपाने, माधव पराजुली, शेखर वाग्ले, अर्जुन कटुवाल र भर्खरै गोरख कार्की लगायतको कोरोना विरुद्धको लडाइले मलाई सधै आत्मबल प्रदान गर्यो ।
अर्को कुरा, समुदायको नेतृत्वमा रहेर आउन सक्ने संभावित खतरासँग जुध्न आफैँ तैयार भएकाले मलाई हार्ने सुविधा थिएन । त्यही हिम्मत र विश्वासले कोरोनासँग म लडिरहे जसले लड्न पनि सजिलो भयो । यसरी नै आदरणीय बेलायतस्थित महामहिम राजदूत दुर्गावहादुर सुवेदी दाइ जसले प्रत्येक दिन सन्देश वा फोनमार्फत् जानकारी लिने र आत्मबल बढाउन प्रेरित गरिरहनु भयो । म वहाँप्रति हार्दिक नमन भन्न चाहन्छु ।
२. स्वास्थ्य टिमको सुझाव अक्षरश पालन-
कुनबेला ९९९ डायल गर्ने भन्ने अति संवेदनशील समय थाहा हुन नसक्दा ज्यान जान सक्ने अनुभव मैले गरेँ । विशेषतः आइसोलेशनको स्पेशल वार्डमा कार्यरत हाम्रा स्वस्थ्य टिमका साथीहरु तथा कन्सलट्यान्ट डाक्टरहरु, स्वास्थ्य संयोजक सुनिता थापा गौतम र डा. लोहनीज्यूको अमूल्य सुझावलाई मैले अक्षरशः पालना गरेँ । वहाँहरुका ती सल्लाह मेरो लागि अति नै महत्वपूर्ण रहे । वहाँहरुले पनि काममा हुँदा वा घरमा रहँदा कुनै पनि समय झर्काे नमानी सुझाव दिनुभयो अनि मैले पुनःजन्म प्राप्त गर्न सफल भएको छु ।
३. अनन्य मित्रहरुको निर्विकल्प सहयोग-
हिजोसम्म पनि हामीले मित्रहरुको चुल्हाको खानेकुरा खाइरह्यौँ । कहाँ पाक्यो, कसरी पाक्यो ? हामीलाई थाहा भएन । त्यो आत्मियता र मित्रता मैले डार्टफोर्डमा पाएँ । हाम्रो परिवारलाई दुखका बेला खाना खुवाएर सहयोग गर्ने डिएनसी स्वयमसेवी टिमका आशा, भरत, ध्रुव, दीपा, अमृता भाउजु, रेनू भाउजु, शर्मिला बैनी, शुनिल न्यौपानेप्रति आभारी छु । त्यस्तै, लजिस्टिक टिममा रहेर सहयोग गर्नुहुने दीपक सर, डा. तेजेन, भरत, धनजी, शीतल बैनी, पवनज्योति र राजन खकुरेलजीको जति प्रसंशा पनि कमै हुन्छ ।
४. अपनत्व-
हामीलाई चाँडै ठीक गराउने अर्को औषधि चैँ आफन्त तथा साथीहरुको माया, प्रार्थना, स्नेह नै हो । धेरैजनाले सोधी खोजी गर्नुभयो कि हामीलाई अलिकति पनि एक्लो महसुस गर्न परेन । यतिबेला हामीले बिमारीको बारेमा चिन्ता गर्नुभन्दा पनि फोनमा कुरा गर्दै, असल कुरा सोच्दासोच्दै धेरै जाति भईसकेका छौँ । नेपाल तथा विश्वभरका आफन्त र प्रियजनहरुको हौसला, माया, प्रेम जस्तो मीठो औषधी केही हुन्न रहेनछ । त्यो हामीलाई विरामी परेका दिन देखि नै पायौँ ।
अन्तमा एउटा अनुरोध गर्न चाहन्छु । कोरोनाको शंका लागेमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा नजिक साथी वा स्वयंमसेवी टोलीसँग खुलेर कुरा गर्नुहोस । मिडियामा जाने वा नजाने त्यो आ-आफ्नै अवस्था हुन्छ । मेरो विनम्र अनुरोध छ । स्वाथ्य अवस्था कृपया सेयर गर्नुहोस । यो नयाँ भाइरस हो, सबैले अनुसन्धान गरिरहेका छन् । यो भाइरसको उपचार गर्न औषधी पत्ता लागेको छैन । सकारात्मक सोच नै यसको उत्तम औषधी हो । जीवन अनमोल छ, अलिकति पनि हिच्किचाहट नमान्नुहोस् ।
डार्टफोर्डको कुरा गर्दा हाम्रा स्वास्थ्य टिममा स्वास्थ्य क्षेत्रमै काम गरेका योग्य साथीहरु हुनुहुन्छ । वहाँहरुलाई गम्भीरतापूर्वक सुन्नुहोस, अफ्ट्यारो पर्दा त हो नि हामीलाई सबै चाहिने । अरू बेला त सबैले आफ्नै तरीकाले जीवन चलाएकै छन् । समुदाय वा समाजमा हामी बाँधिएकै अप्ठ्यारो बेलामा एक आपसमा सहयोग लिन र दिन हो । सबैलाई पुनः एकपल्ट भित्री हृदयदेखि नै हार्दिक आभार तथा नमन ब्यक्त गर्न चाहन्छौँ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो