मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना भाइरसले मानिसहरुको मनस्थितिमा कस्ता असर पार्न सक्छ र त्यसबाट कसरी जोगिने भन्ने सन्दर्भमा गरिएको कुराकानी । यो सामग्री नेपाल पत्रकार महासंघ युके शाखाको कोरोनासम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारिएको हो ।
कोरोना भाइरसका कारण अहिले विश्वमा महामारी फैलिएको छ । यस्ता महामारीले कस्तो मानसिक असर पार्ने गर्छ ?
विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० को दिन कोभिड-१९ (COVID-19) को संक्रमणलाई महामारीको रूपमा घोषणा गर्यो । तत्पश्चात् मात्रै विश्वको ध्यान यस महामारीप्रति संवेदनशील हुन पुग्यो। कतिपय शक्तिशाली राष्ट्रले यस महामारीप्रति खासै संवेदनशीलता नअपनाएको हुनाले आज उनीहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । युकेमा ६ मार्चको दिन एकमात्र केस कोभिड-१९ को कारणले मृत्यु भएको देखिएको थियो । २३ मार्चदेखि मात्र यहाँ लकडाउन आह्वान गरियो यद्यपि यो महामारी भित्रभित्रै कतिसम्म फैलिसकेको रैछ भन्ने ६ अप्रिलको डाटाले प्रष्ट पार्दछ । ६ मार्चको दिन एक व्यक्ति यस रोगले मरेका थिए भने ६ अप्रिलको दिन यो संख्या बढ़ेर ५ हजार ३७३ भएछ । यसै प्रकारले सोही दिनसम्ममा २ लाख ८ हजार ८०० व्यक्तिहरूको परीक्षण भएको र त्यसमध्ये ५१ हजार ६०८ व्यक्तिहरूमा संक्रमण पाईएको छ र यो संख्या विस्तारै बढ़दै जाने अनुमान गरिएको छ ।
समग्रमा भन्नुपर्दा यस कोभिड-१९ ले वैश्विक महामारीको रूप ग्रहण गर्नुनै हामी सबैको माझ ठूलो समस्या र चुनौतिको रूपमा उभिनु हो । सबै ठूला साना निकायदेखि लिएर सामान्य जनतासम्म यसबाट अछुतो रहेका छैनन् र यस्तो अवस्थाले मानसिकरूपमा पनि उतिकै दवाब उत्पन्न गराउने नै भयो । यस प्रकारको विशेष तर विकराल अवस्थामा व्यक्तिले महसुस गर्ने मानसिक दवाबबाट दुश्चिंता बढाउने गर्दछ र पछि गएर अत्यधिक तनावको परिस्थिति सृजना गर्दछ । यदि यस प्रकारका तनाव बेलैमा व्यवस्थापन हुन सकेन भने यसले विभिन्न मनोसामाजिक समस्याहरू उत्पन्न गर्नमा सहायक भूमिका खेल्दछ जस्तै – इनसोम्निया, ऑब्सेसिव कम्पल्सिव न्युरोसिस, सिजोफ्रेनिया आदि ।
महामारीका कारण मानिसहरुको जीवनशैली अचानक फेरिएको छ । सरकारले घरबाट बाहिर ननिस्कनु भनेर आदेश दिएको छ । एकै ठाउँमा लामो समय बस्ता वा साथीभाइ, आफन्त भेट्न नपाउँदा कस्ता मानसिक समस्या आउन सक्छ ?
अहिलेको विशेष परिस्थितिलाई मध्येनजर गरेर सरकारले विभिन्न कडाखाले कदम चालेको छ जस्तै – लकडाउन । ‘लकडाउन’ भनेकै सामाजिक घुलमिललाई तोडनु हो जसले गर्दा कोभिड-१९ एकबाट अर्कोमा सर्न नपाओस् । अहिले यस महामारीको कुनै औषधि बनी नसकेको हुनाले यसबाट जोगिन सामाजिक दूरी बनाई रहनु र सामाजिक मेलमिलापमा बंदेज लगाउनुका साथै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने नै एक मात्र विकल्प रहेको छ ।
यद्यपि एक्कासी दैनिक जीवनमा यस प्रकारको नियमलाई कडाइका साथ पालना गर्दै जाँदा एक प्रकारको अदृश्य जेलघरभित्र परेको महशुस हुनु स्वाभाविक हो । यस प्रकारको बन्दाबन्दीको प्रभाव हाम्रो मानसिक स्वास्थ्यमाथि पक्कै पर्दछ र हामीले यस विशेष समयलाई सही रूपमा बाँच्न सिकेनौं भने विभिन्न खाले मनोसामाजिक रोगको शिकार हुन पुगिन्छ ।
मानसिक समस्याका लक्षणहरु के के हुन सक्छन्?
यस प्रकारको महामारीले धेरथोर सबैमा एकप्रकारको तनाव उत्पन्न गराएकै हुन्छ, जस्तै कतै मलाई यस महामारीले त छोएन ? कतै मेरा आफ्ना आफन्तहरु यस रोगबाट पिडीत भए कि ? अर्थात् यस महामारीबाट अकालमै मृत्युवरण गर्नु पर्ने हो कि भन्ने तनाव त छँदैछ त्यसमाथि कतै ननिस्की एकै ठाँऊमा लामो समयसम्म बस्नु पर्दाको अवस्था र अहिले विभिन्न सामाजिक संजालले छर्ने तथानामको भ्रम र गलत प्रचारले मानसिक संतुलन गुम्न धेरै बेर लाग्दैन । अत: आवश्यक के छ भने यस अवस्थालाई सामना गर्नको लागी मानसिक रूपले आफूलाई तैयार गर्नु अर्थात् सकारात्मकरूपले बलियो मानसिकता बनाएर हामी यस विशेष र विषम परिस्थितिसित लड़न सक्छौं ।
यद्यपि हामी आफैं अथवा आफन्तको व्यवहारलाई सूक्ष्म तवरले अध्ययन पनि गरिरहनु पर्दछ कि कतै –
क. अनिद्राको शिकार भइ रहिएको छ कि?
ख. भोक मरेर गएको छ कि?
ग. बिनाकारण छाती दुख्छ वा स्वास प्रश्वासमा अपठ्यारो महशुस गरेको छ कि?
घ. बढ़ी एकान्तवास मन पराउन थालेको छ कि?
ङ. मनोरंजन अथवा कुनै प्रकारको क्रियाकलापबाट वितृष्णा महशुस गर्दै छ कि?
च. बिना कारण टाउको दुख्ने, पेट दुख्ने गरेको छ कि?
छ. आफुलाई अरूमाथि बोझ ठानेको छ कि? मर्छु भन्ने भावना मात्र व्यक्त गर्दछ कि?
ज. सानो सानो कुरामा पनि बढी नर्भस हुने गरेको छ कि? अरूको कुरा सुन्दा झर्को मान्ने गरेको छ कि?
झ. हातखुट्टामा अचानक पसिना आउने अथवा गल्ने गरेको छ कि?
व्यक्तिमा अथवा स्वयंमा पनि उपरोक्त लक्षणहरु देखियो भने मानसिक रोग नै भन्ने किटानका साथ भन्न नसकिए पनि त्यसको प्राथमिक लक्षणको रूपमा लिन सकिन्छ । तसर्थ यस्तो लक्षणहरूप्रति समयमै संवेदनशील हुनु अति आवश्यक हुन्छ ।
त्यस्तो समस्यालाई कम गर्ने उपायहरु के के हुन सक्छन् ?
यदि उपरोक्त लक्षणहरू व्यक्ति विशेष अथवा स्वयममा भएको महशुस भएमा यसबाट शीघ्रातिशीघ्र टाढ़ा हुन जरूरी छ ।
क. सर्वप्रथम त मानसिक रूपले बलियो हुन जरूरी हुन्छ । यदि हामी मानसिकरूपले बलियो भयौं भने आधी जीत त सहजै हासिल गर्न सकिन्छ । यस महामारीसंग भागेर जान सक्ने कतै ठाउं नभएकोले हामी सकारात्मक रूपले मानसिक रूपले यस रोगसंग लड्न तैयार हुने र सरकारले तय गरेको निर्देशन र गाइडलाइनको पालना गर्न तैयार हुनु पर्दछ ।
ख. एकातिर महामारीको प्रकोप अर्कोतिर लकडाउनको अवस्थामा सक्दो आफूलाई सृजनात्मक क्रियाकलापतिर, मनोरंजनात्मक कार्यतिर व्यस्त राख्नु पर्दछ । यसले हामीलाई स्फूर्ति र मानसिक शान्ति प्रदान गर्दछ ।
ग. राम्रो राम्रो पुस्तकहरू, प्रेरणादायी जीवनीहरू, कथा कविता वा निबन्धहरु अध्ययन गर्ने गर्नु पर्छ । यसबाट समय पनि राम्ररी बित्ने छ साथै केही राम्रा खुराकहरू हाम्रो मस्तिष्कले प्राप्त गर्ने छ ।
घ. घर भित्रै यस्ता कामहरू जो हामी फुर्सदमा गर्ने भनेर थाति राख्छौं त्यो कामहरू पूरा गर्ने गरौं ताकि समयको राम्रो सदुपयोग हुन सकोस् ।
ङ. संधैको व्यस्त दिनचर्याको कारणले आफ्नै परिवार भित्रपनि हामी साह्रै औपचारिक भई सकेका छौं । यस समयलाई एकआपसमा अनौपचारिक रूपले खुब स्वतंत्र भै एकआपसमा अझै नजिकिने मौकाको रूपमा लियौं भने मानसिक विकृतिले ठाँउ लिन पाउँदैन ।
च. नकारात्मक विचार आउने कुनै पनि विचारलाई मनमस्तिष्कमा ठाउं नदिउँ । सामाजिक संजालमा पनि बढी नकारात्मकता पस्किने विषयलाई सकभर ध्यान नदिउँ ।
ज. आध्यात्मिकतातिर रूचि छ भने त्यतातिर ध्यान दिनुस, कोठाभित्र गर्न सकिने सानो सानो व्यायाम, योग आदि गर्न सकिन्छ ।
झ. आफ्नो आफन्तसंग फोनमै भएपनि बोल्न नछोडौं । उनीहरूसंग भौतिक दूरी भएतापनि मानसिक रूपले हामी एकअर्कासंग नजिक छौं भन्ने भाव स्थापित गराउनु आवश्यक छ । विशेषगरी बुढ़ापाकाहरूलाई यस विषम परिस्थितिबाट बाँच्नका लागी ठूलो हौसला र नैतिक बल प्रदान गर्ने कार्य गरी रहनु पर्दछ ।
ञ. यस अवधिमा हाम्रो दिनचर्यामा अचानक परिवर्तन आएको हुनाले हाम्रो धेरै कुराहरू प्रभावित भैरहेको हुन्छ । अत: यसको प्रभाव निद्रामाथि पनि पर्दछ । कम्तिमा ८-१० घण्टा सम्म सुत्ने बानी गर्नु पर्दछ ।
ट. मादक पदार्थ र सूर्तिजन्य वस्तुको सेवनबाट जोगिनु पर्दछ । यसको सेवनले पनि मानिसलाई बढी विचलित बनाउन सक्छ ।
महामारीले मानिसहरुमा चिन्ता असाध्यै बढाएको देखिन्छ । जागिर गुम्ने हो कि, आफैँ वा आफ्ना घरका सदस्यहरु नै पर्ने हुन् कि भन्ने पीर बढाएको देखिन्छ । यस्तो पीर कसरी कम गर्न सकिएला ?
महामारीले व्यक्तिलाई, समाजलाई र देशलाई नै चिंतित बनाएको छ, यो सही हो । व्यक्तिलाई आफ्नो जागिर गुम्ने चिंता, सामाजिक सदभाव र सामाजिक अनुबंधहरू खलबलिने चिंता, देशलाई आर्थिक र व्यापारिक स्तर खच्किने चिंता यो चिंता त सर्वव्यापी छ र कोही पनि यसबाट अछुतो छैन । तर यो पनि नबिर्सौं कि अत्यधिक चिंता गर्दैमा कुनै जादू त हुनेवाला छैन । अत्यधिक चिंता गर्दैमा यो महामारी त सजिलै सकिने त होइन ।
तसर्थ, सबै मिली यस महामारीको विरूद्धमा लड्न बाहेक अरू विकल्प हुँदैन । सबैले यस रोगसित लड्न पूर्व सावधानी अपनाउनै पर्छ । व्यक्तिगत सुरक्षाको सबै उपाय अपनाउनु पर्दछ । सरकारले जारी गरेको गाइडलाइनको पालना गर्नै पर्ने हुन्छ । यो अवस्था केही समयलाई मात्र हो भन्ने विचारका साथ आफ्नो आत्मबललाई अलिकति पनि कमजोर नबनाई अगाडि बढ़नु पर्दछ ।
सामाजिक सञ्जाल वा समाचारमा अतिरञ्जित र अफवाहहरु पाइन्छ । त्यस्ता सामग्रीले कस्तो समस्या ल्याउँछ र त्यसबाट कसरी जोगिने ?
सामाजिक संजाल र विविध संचारमाध्यमले सही र व्यावहारिक पक्षलाई दर्शाउंछ भने त्यो त अत्यन्तै सह्राहनीय कुरा हो । तर यदि ठिक यस्को विपरीत समाजमा भय, त्रास पैदा गर्ने र अतिरंजित कुराहरू पस्केर आफ्नो दर्शक संख्या (TRP) बढाउने गरिन्छ भने त्यस्ता खबरहरुलाई हतोत्साहित गर्नु पर्दछ । साथै सरकारी निकायले पनि त्यसप्रति कडा कदम चाल्नु पर्ने हुन्छ ।
युकेमा धेरै नेपालीहरु चिकित्सक, नर्स, केयररका रुपमा सीधै कोरोना संक्रमितसंग काम गरिरहेका छन् । उहाँहरुमा कस्तो मानसिक समस्या पर्न सक्छ र कसरी जोगिने ?
यो सही हो कि बेलायतवासी नेपालीहरुको कूल जनसंख्यामध्ये ठूलो संख्या कुनै न कुनै रूपमा स्वास्थ्य क्षेत्रसंग सम्बन्धित हुनु हुन्छ । डाक्टर, नर्स, स्वास्थ्य सहायक, रेडियोग्राफर, फ़ार्मेसिष्ट आदि प्रत्यक्षरूपले कोभिड-१९ संक्रमितहरूसंग काम गरिरहनु भएको छ । यसप्रकारले युकेमा नेपाली समुदाय यस महामारीको उच्च जोखिममा रहेको अनुमान सहजै लगाउन सकिन्छ । यस अलावा भूपू सैनिकहरूमध्ये वृद्ध बाबा आमाहरूको पनि संख्यात्मक रूपले बढी बसोबास रहेको छ । वहाँहरू पनि यस महामारीको उच्च जोखिममा रहनु भएको छ ।
नेपाली समुदायले उच्च सतर्कता अपनाउनै पर्ने हुन्छ । एनएचएसको गाइडलाइन्स र सरकारले तोकेको निर्देशन कडाइका साथ पालन गर्नुपर्ने हुन्छ । सामाजिक दूरी बनाउनु पर्दछ, हातगोडा साबुनले मिची मिची धुनु पर्दछ, सेनिटाइजर प्रयोग गर्नु पर्दछ, मास्कको प्रयोग निरंतर गर्नु पर्दछ । खानपिन र व्यक्तिगत सरसफाईको पूर्णरुपले ख्याल गर्नुपर्दछ । वृद्ध बाबा आमाहरूमा भाषाको समस्या हुनेले संबधित सामाजिक अभियन्ताहरूले विशेष ध्यान पुर्याउनु पर्दछ ।
यस महामारीको लडाईंमा अग्रपंक्तिमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सरकारले पनि पूरा ध्यान दिनु पर्ने हुन्छ । उनीहरूको जोखिम न्यूनीकरणको लागी हरसंभव प्रयास गर्नु पर्ने हुन्छ । उनीहरूलाई सुरक्षितसाथ सेवा दिन सक्ने सबै प्रकारको उपकरणहरू जस्तै PPE, masks , gloves, sanitizers उपलब्ध गराउनु पर्दछ ।
हामी नेपालीहरुमा चिने जानेको मानिस भेटे पछि हालखबर सोध्ने, घरमा आउनोस्, चिया पियर जानोस् भन्ने चलन छ । अब के त्यस्तो चलन छाड्नु पर्ने हो ?
यस कोरोनाको प्रकोपले हामीलाई सामाजिक औपचारिकताप्रति अंकुश लगाएको छ । कोरोना श्रृंखलाबद्ध तवरले सजिलै फैलन्छ । अत: यसको श्रृंखलालाई तोड़नु नै यस महामारीबाट आफूलाई बचाउनु हो । अब केही महिना अथवा वर्षसम्मको लागी सामाजिकतालाई बिर्सनु नै अति उत्तम उपाय हुनेछ । हुन त यो हामी एशियाली त्यसमाथि नेपाली संस्कारभित्र कुनै अन्जान व्यक्तिलाई त एक कप चिया खुवाउने सहज परम्परा रहेकोमा अब त्यस्ता बानीलाई हामीले थाति राख्नुपर्ने हुन्छ । यो बुझ्न जरूरी छ कि हामी बाँच्यौं भने र कोरोनालाई हराउन सक्यौं भने मात्र हामी आफ्नो संस्कारलाई पुन: निरंतरता दिन सक्छौं । अत: आत्मबल उच्च राखौं, इमानदारिता अपनाऔं र आज्ञाकारी बनौं । यस महामारी सम्बन्धी सूचनाहरूप्रति अपडेट बनी रहौं र अरूलाई पनि सुसूचित गरौं । नकारात्मक सोचलाई हटाउँ र सकारात्मक सोचलाई प्रश्रय दिउँ । सरकारलाई सहयोग गरौं । आफ्नो तवरबाट पनि हुन सक्छ भने आवश्यकता भएकालाई सहयोग गर्न तत्पर रहौं । स्वस्थ रहौं, कोरोना अवश्य हार्ने छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा