शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: १५:३० | UK Time: 10:45

कोरोना भाइरस र यसले निम्त्याउन सक्ने आर्थिक संकट

डा. मुकुन्द बास्तोला
२०७६ चैत २५ गते १५:५८
bastola

डा.बास्तोला

अहिले कोरोना भाइरस र यसबाट हुन सक्ने इन्फेक्सन कोभिड-१९ ले विश्वलाई नै त्राहीमाम बनाएको अवस्था छ । विश्वका अति नै विकसित देशहरुदेखि लिएर अति नै कम विकसित मुलुकलाई समेत छाडेको छैन ।

कुनै पनि व्यक्तिको जस्तोसुकै आर्थिक हैसियत भएता पनि उनीहरुलाई यो रोगबाट सजिलै छुट्कारा पाउन असंभव प्राय: छ । यसको ज्वलन्त उदाहरण भर्खर मात्र संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई लिन सकिन्छ । यसको अर्थ यो हो कि, यो भाइरसले न त धनी देश न त धनी व्यक्ति वा न त गरिव देश, न त गरिव व्यक्ति नै भन्दछ । विश्व आज एक किसिमले हिजोका ठुला-ठुला विश्व युद्ध भन्दा पनि धेरै नै त्रसित भएको अवस्था छ ।

हिजो विश्वका धनी राष्ट्र्हरु एक आपसमा कस्ले पहिला आणविक हतियारको उत्पादन गर्ने र परीक्षण गर्ने होडबाजी थियो । र एकले अर्कालाई त्यही आधुनिक हतियारको आधारमा नै धम्क्याई रहेका थिए । आज यी सबै कुराहरुलाई कोभिड-१९ नामक इन्फेक्सनले फिक्का पारिदिएको छ ।

अब चर्चा गरौं, यो भाइरसको दीर्घकालिन असर र यसले उत्पन्न गर्न सक्ने आर्थिक संकटको बारेमा ।
विगतको इतिहासलाई फर्केर हेर्ने हो भने सन् २००७ / २००८ मा अमेरिकामा ठुलो आर्थिक मन्दी भएको थियो । त्यो अवधिमा आर्थिक मन्दीबाट अमेरिकालाई बाहिर निस्कन कम्तिमा १८ देखि २२ महिनासम्म लागेको थियो । त्यतिवेला सबैभन्दा बढी आर्थिक संकट त्यहाँको हाउजिङ बजारमा परेको थियो ।

सुरुमा सन् २००४ / २००५ तिर त्यहाँका बैंकहरुले सस्तो व्याजदरमा जो कोहीलाई पनि सहजै कर्जा प्रदान गरेको थियो । त्यसको फलस्वरुप जो कोहीले पनि सहजै सुपथ व्याजदरमा कर्जा पाउने र घर किन्ने प्रचलन अत्याधिक मात्रामा भयो । यसले गर्दा घरहरुको माग अत्याधिक बढन गयो र बैकहरुसँग पनि तरलताको बिस्तारै कमी हुँदै गयो । जसका कारण बैकले कर्जा व्याजदरमा भारी बृद्धि गर्दै गए । जसले यस्तो अवस्था सिर्जना गर्यो कि आर्थिक हैसियत राम्रो भएका व्यक्ति तथा व्यवसायहरुले पनि कर्जा लिन असंभव प्राय भयो । फलस्वरुप ठुला – ठुला व्यवसायहरु कटौती र कतिपय व्यवसायहरु बन्द भए ।

बैकहरुमा पनि तरलताको अभावले गर्दा एक बैकले अर्को बैकलाई पनि क्रेडिट स्वीकार गर्न छोड्यो । फलस्वरुप यसले दुइटा कुरामा ठुलो असर पार्यो । पहिलो, मानिसहरुको घरको मूल्य यति घट्यो कि मूल्य भन्दा घरको कर्जा दुई तिहाई बढी तिर्नु पर्ने अवस्थाको सिर्जना भयो । झण्डै र झण्डै मोर्गेज मार्केट नै समाप्त हुन पुग्यो ।

बैकहरुले आन्तरिक बैक क्रेडिट फ्रिज गरे । जसले गर्दा ठुला- ठुला कम्पनीहरुले पनि क्रेडिट नपाउँदा बन्द गर्नु पर्ने स्थिति आयो । उदाहरण लागि विश्वकै ठुला मोटर कम्पनी जेनरल मोटर्स र चेस्लरले डुबेको घोषणा गरे । यसको प्रभाव यति धेरै बढन थाल्यो कि सर्वसाधारणसँग सानो- सानो व्यवसाय सुरु गर्न र पैसा खर्च गर्न डर पैदा गर्यो । जसका कारण धेरै व्यक्तिहरु बेरोजगार भए ।

दोस्रो, यो परिस्थितिले गर्दा अमेरिका जस्तो देशमा पनि धेरै बेराजगारीको अवस्था सिर्जना भयो । अव विश्वका ठुला आर्थिक सवल राष्ट्र्हरु अमेरिका, जर्मनी तथा बेलायतलगायत अन्य धनी राष्ट्र्हरुमा यो कोरोना महामारीले बिकराल संकट निम्त्याउने संभावना रहेको छ । जस्तो कि अहिले अमेरिका, जर्मनी र बेलायत लगायतका देशहरुले आफ्ना जनतालाई तत्काल राहत स्वरुप पैसा धेरै बाड्ने, बैकहरुले व्याजदर अति नै कम अर्थात जिरो व्याजदरमा सहुलियत दिने । त्यसपछि, विस्तारै व्याजदर बढाउने भएको हुनाले यसले दुई वटा कुरामा असर पुर्याउने देखिन्छ ।

एउटा, मुद्रा स्फिर्ति अथवा वस्तुको वास्ताविक मूल्य भन्दा क्रय मूल्य बढी हुनु र त्यो अवस्थामा धेरै पैसा खर्च गर्दा पनि थोरै सामानमा चित्त बुझाउनु पर्ने हुन्छ । देशहरुको उत्पादनमा कमी हुदै आउँदा मान्छेले पैसा भएर पनि कतिपय सामान खरीद गर्न सक्दैनन् । अन्तत र बैकहरुले व्याजदर बढाउँदै लैजान्छन् । फलस्वरुप राम्रो आर्थिक हैसियत भएका व्यवसायहरुले पनि कर्जा नपाउने अथवा पाउदा पनि सारै कम पाउँने अवस्था आउन सक्छ । यसले गर्दा धेरै जसो व्यवसायले पुरा उत्पादन गर्न नसक्ने तथा ग्राहक नहुदाँ कतिपय व्यवसायहरु बन्द नै हुने र अलिर अलि भएका व्यवसायले रोजगारी नै कटौती गर्ने संभावना प्रवल देखिन्छ ।

यसलाई कुनै पनि सरकारले पूर्णरुपमा रोक्न त सक्दैनन् । तर, यसको जोखिमलाई केही मात्रामा भएपनि कम गर्न भने सक्छन् । यदि सरकारले राम्रो योजना तर्जुमा गर्न सकेको अवस्थामा यसको एक मात्र उपाय भनेको कुनै पनि सरकारले उत्पादन बृद्धिमा जोड दिने र तरलतामा नियन्त्रण गर्ने रणनीति अपनाउनु पर्ने आवश्यकता छ ।-डा. मुकुन्द बास्तोला

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक