कोरोना महामारीका बेला बेलायतको अध्यागमन खुकुलो

लन्डन । बेलायतले विश्वव्यापी फैलंदै गएको कोरोना भाइरस (कोभिड १९) परास्त गर्न अहोरात्र खटिएका चिकित्सक, नर्स र प्यारामेडिक्सको भिजा एक वर्ष थपिदिने भएको छ ।

स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न सरकारले बिना शुल्क एक वर्ष भिजा अवधि स्वतः थपिदिने गृह मन्त्रालयले जनाएको हो ।

करिब २८ सय माइग्रेन्ट डाक्टर, नर्स र प्यारामेडिक्सको भिजा १ अक्टोबर, २०२० अघि सकिने भए ति र परिवारको भिजा स्वतः थपिने गृहमन्त्री प्रिती पटेलले एक विज्ञप्तिमा जनाएकी छन् । महामारीका बेला ति स्वास्थ्यकर्मीलाई भिजा थपका लागि झन्झट बेहोर्नु नपरोस् भन्ने गृहमन्त्रीको चाहना छ ।

लन्डनस्थित एकजना कानूनविद सोलिसिटर राजु थापाका अनुसार, अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले ट्रेनी डाक्टर नर्सलाई एनएचएसमा तोकिएको घण्टामात्र काम गर्न पाउने प्रतिवन्ध पनि फुकुवा गरेको छ ।

तर, भिजा स्वतः थपिने सुविधा केयर वर्करलाई भने नदिंदा यसप्रति असन्तुष्टि व्यक्त भएको छ । केयर 
वर्कर्स युनिटकी एक्जुकेटिभ डिरेक्टर क्यारोलिन गेरलिचले होम अफिसको यो नीति विभेदपूर्ण रहेको बताउंदै यो सुविधा उनीहरुलाई पनि दिइनुपर्ने माग गरेकी छिन् ।

उता, कोभिड १९ का कारण भिजिट भिजामा आएर बेलायतमै रोकिएका विदेशीहरुको पनि भिजा अवधि थपिदिने घोषणा सरकारले गरेको छ । गत २४ जनवरीदेखि ३१ मे २०२० सम्म भिजा सकिने भए निजहरुको भिजा ३१ मे २०२० सम्म थपिने सोलिसिटर थापाले बताए । यसबारे पुनरावलोकन हुने विश्वास पनि थापाको छ ।

यसका लागि कोरोना भाइरस इमिग्रेसन टिमसंग सम्पर्क गर्नुपर्नेछ ।

सरकारले भ्रमण भिजामा आएका विदेशीलाई कोरोना भाइरसको परिक्षण र उपचार सुविधा पनि निशुल्क प्रदान गर्ने भएको छ ।

राष्ट्रिय हितलाई मध्यनजर गरि कुनै पनि व्यक्तिको अध्यागमन स्थिति सोधपुछ नगरि कोरोना भाइरसको उपचार गरिने जनाइएको छ ।
यसअघि भिजिट भिजाका आप्रवासीलाई नेशनल हेल्थ सर्भिस (एनएचएस) को सुविधा लिन शुल्क तिर्नुपर्ने प्रावधान छ ।

कोभिड १९ बिरामीको चापले बेलायत अहिले अस्तव्यस्त छ । बेलायतमा शनिबारसम्म ४ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या करिब ४२ हजार छ । सरकारले आपतकालिन सेवाका लागि लन्डनको एक्सेल प्रदर्शनी कक्षलाई नाइटिंगेल अस्पतालमा रुपान्तरण गरेको छ, जहां ४ हजार शैया हुनेछन् ।

सरकारले करिब अढाइ लाख स्वयंसेवक माग गरेकामा करिब ७ लाख ५० हजारले आवेदन दिएका छन् ।

वाटफोर्ड जनरल अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. मोहन थापा सरकारले कोभिड बिरामी जांचका लागि चिकित्सक, नर्सलाई पर्याप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) उपलब्ध गराउन नसकेको बताउंछन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री