एनआरएनए अध्यक्ष पन्तले बेलायतमा गुमाएको त्यो अवसर

Kumar Pant
बेलायत । विदेशमा रहेका नेपालीहरुको परिचय दिनदिनै फेरिदै गएको छ । दुईजना भन्दा बढी नेपाली जम्मा भएकी संघसंस्था गठन गरिहाल्ने । अनि आठ/दश जना जम्मा भएपछि त्यो संस्था विघटन गरिहाल्ने । दैनिक जीवनयापन पछिको दोस्रो प्राथमिकतामा परेको यो कार्य अहिले डायस्पोरामा डढेलोसरी फैलिदो छ ।

त्यसवीचमै कोरोना भाईरस जस्तै फ्याट नेपाली भाइरस फैलिएको छ, बेलायतमा । जुनसुकै संस्थामा सल्लाहकार बनिहाल्ने । सल्लाहकार भएर पसेको संस्था कहिल्यै एक नहुने । पक्ष र विपक्षका नाममा दुवैलाई मिल्न पनि नदिने । कसैले तपाईले यसरी किन नेपाली समुदायमा हस्तक्षेप गर्नु भएको हो ? तपाईंको व्यवहारलाई धेरैले राम्रो मान्दैनन् नी ? भन्यो भने, मेरो ‘व्यूटी’ भनेको यही हो भन्न पनि पछि नपर्ने । यस्तै अवस्थामा गुज्रिएको बेलायतस्थित नेपाली समुदायको भूमरीमा बिहीबार गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष कुमार पन्त परेका छन् ।

बिहीबार विहान जर्मनीबाट घरेलु हवाईजहाज चढेर बेलायतको सिटी एयरपोर्टमा ओर्लिदा पन्तले फूलका गुच्छाको स्वागत पाए । साँझ अल्डरसटस्थित एम्पायर हलमा रातो कार्पेट ओछ्याउदै स्टेजमा सम्मान । त्यही सम्मान स्वरुप पाएको ड्यासबाट भाषण गर्दा दर्शक दीर्घामा व्यानरसहित कालो झण्डाको अर्को स्वागत । ८२ मुलुकमा फैलिएको एनआरएनए मध्ये सवैभन्दा बढी झण्डै १४ हजार पंजीकृत सदस्य भएको यूकेमा कालो झण्डा देखेपछि उनको मन पनि फाट्यो जस्तो छ । प्रजातन्त्रको जननी बेलायतमा कालो झण्डा देखाउनु सामान्य मानिन्छ । त्यही भएर होला, एनआरएनए अध्यक्ष पन्तले पनि आफ्नो भाषणको सुरुमै जिन्दावाद र मुर्दावादबाटै अघि बढदै आएकोले सामान्य लागेको बताए ।

उनी यतिमै अडिएनन् अघि बढेर भने, “तपाईंहरु बेलायत बस्दा यहाँका व्यवहार पनि सिक्नु भएको होला भन्ने ठानेको थिए । तर, दुखका साथ भन्नुपर्छ त्यो रहेन छ ।” पन्तले यत्ति भन्दै गर्दा तलबाट तालि बज्यो । अनि प्रसंग नमोडिकन पन्त अघि बढेर भने, “तपाईहरु (अध्यक्षलगायत) ले पनि फरक विचारलाई सुन्ने र समेट्ने प्रयाग गर्नुहोला ।”

भद्र र शालिन स्वभावका अध्यक्ष पन्त जुन उत्साहका साथ बेलायत आएका थिए । यो पंक्तिकारलाई लाग्छ उनी दुखी मन लिएर जर्मनी फर्किए । फर्किदै गर्दा एक घण्टाको यात्रामा उनले अवश्य पनि मनन गरे होलान् आफूले संघर्ष गरेर यहाँसम्म ल्याएको एनआरएनए अनि आफैले हाँकेको एनआरएनए । अझ महासचिव हेमराज शर्माका शव्दमा भन्ने हो भने गैरदलीय सामाजिक संस्था तथा स्मार्ट एनआरएनए ।

अध्यक्ष पन्तले अझ गम खाएर भने होलान, अनि यिनै हुन त मेरा आफ्ना मान्छे ? चार जना उपाध्यक्षहरुसँग बसेर कुरा गर्ने क्षमता नभएका आफ्ना मान्छे ? प्रजातान्त्रिक मुलुक यूरोपमा बसोवास गरेर पनि राजनीतिक कल्चर वा सांगठनिक कल्चर नभएका आफ्ना मान्छेको भीड सम्झेर दिक्क माने होलान् । अनि नेपालमा भएका घटनाको याद आयो होला । गैरआवासीय नेपालीले गत अक्टोबरमा नेपालमा कमाई सकेको बद्नामीलाई अध्यक्ष पन्तको नेतृत्वले हटाउने र आम नेपालीको मन जित्नु पर्ने बेला यस्ता विवादले पक्कै पनि उनको शिरलाई उंचो बनाएन होला । नेपालमा जांदा बेलायतमा गैरआवासीय नेपाली संघ यूकेमा के भएको रहेछ भनेर सांसद, मन्त्री वा कर्मचारीले सोध्दा के जवाफ दिने? त्यो उनी स्वयंलाई थाहा होला ।

यसवीच लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले भाषणकै वीचमा भने, “बेलायत जस्तो मुलुकमा जान पाउँदा कर्मचारीहरुले भन्ने गरेका गोर्खा लाहुरे र एकतामा बांधिएर बसेका नेपाली भएको ठाउँ बेलायत ।” यो पंक्तिकारले उठाउन खोजेको कुरा पनि यही हो । कुमार पन्त एनआरएनए आइसिसिका अध्यक्ष हुन् । उनलाई कसैले माने पनि नमाने पनि उनी निर्वाचित अध्यक्ष हुन् । उनलाई सफल बनाउन चाहनेबाटै असफल बनाउने प्रयास भयो जस्तो लाग्छ । केन्द्रीय अध्यक्षले असन्तुष्ट भएपनि जिम्मेवार पदमा बसेका व्यक्तीसँग दुईचार घण्टा विताएका भए एनआरएनए यूके स्थापना दिवसको कार्यक्रमको रौनक बदलिन्थ्यो होला ।

असन्तुष्ट मानिएका चार उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्की बेलायती समाजमा तुलानात्मक हैसियत बनाएर बसेका मानिस हुन् । उनीहरुसँग भेट्दा अध्यक्ष पन्तको गुम्ने केही थिएन । दुई चार जना उनका आसेपासेहरुले पन्तसँग बस्ने समय कम पाउने थिए होलान् । पदको बार्गेनिङको लागि समय हुंदैन थियो होला । सामाजिक संजालमा दैनिक सवैलाई अर्ति दिने र नीजि जीवनमा हिट्लरी शैली देखाएर निषेधको राजनीति गर्ने आफ्ना मान्छेका बारेमा अध्यक्ष पन्तलाई अलि थाहा हुन्थ्यो होला । बेलायत आएको मौकामा अध्यक्ष पन्तले यूकेको विवाद मिलाउन मात्र प्रयास गरेको भए सर्वोच्च कमाण्डर जस्तै कमाण्ड हातमा लिएको देखिन्थ्यो ।

असन्तुष्टी राख्ने ठाउँ नभएर मिडियामा सार्वजनिक रुपमा बोलिरहेका व्यक्ती केन्द्रीय अध्यक्षलाई नभेटने कुरा रहदैन थियो । एनआरएनए जस्तो महाअभियानमा जोडिएका लाखौँ नेपाली समुदायवीच पन्तकै हाईहाई हुन्थ्यो होला । उनकै नेतृत्व क्षमताको कदर हुन्थ्यो होला । कहिलेकाहीं नेतृत्वले घेरा तोडेर, पर्खाल नाघेर बाहिर हेरेपछि छुट्टै संसार भेटिन सक्छ । एक वा दुई निर्वाचनमा सहयोग वा आफूलाई अनुकूल हुने एक वा दुईवटा समाचार लेखेर कसैको फाइदा गराए भन्दैमा तिनीहरुको वरिपरि नेतृत्व घुम्नु पर्छ भन्ने छैन । नेतृत्वकर्ताले कहिलेकाहिं घेरा भन्दा माथि उठेर पनि काम गर्नुपर्ने हुन्छ । नत्र पदमा रहुन्जेल यस्ता घेरा बढदै जाने अनि पद सकिएको भोलीपल्ट पारिवारिक घेरा बाहेक अरु नभेटिने हुन सक्छ ।

अध्यक्ष पन्त वरिपरि भएका व्यक्तिहरुको भीड उनका नातेदार वा आफन्तको होइन । यस्तै एनआरएनएको महाअभियानका क्रममा भेटिएका व्यक्ती हुन् । समयक्रममा उनीहरुले पनि छाडने निश्चित छ ।

एनआरएनए जस्तो महाअभियानमा धेरै मान्छे उनीसँग थिए । अहिले छैनन् । घेरामा रमाउने मानिसहरु जो शक्तिमा आयो उतै पुग्छन् । यी मानिसहरु हिजो अरुसँग थिए । आज पन्तसँग छन्, भोली अरुसँग हुन्छन् । बस, केही समय कुर्नु मात्र पर्छ । अध्यक्ष पन्तसँग वरिपरि रहेका मानिसका सार्वजनिक जीवन कस्ता छन्, उनलाई पक्कै थाहै छ । त्यसैले नेतृत्वले कहिलेकाहिं एक/दुई दिन समय दिएर यस्ता विवादलाई साम्य पार्नु जरुरी छ । सामाजिक कामको महाअभियानमा दुई बर्षका लागि निस्किसकेका पन्तका लागि एक दिन बेलायतमा बढी विताउनु ठुलो कुरा होइन । मुख्य बिषय नेतृत्वकर्ता कस्ता मानिसको सल्लाहबाट चल्छ भन्ने हो । त्यो उहाँ स्वयंले छातिमा हात राखेर एक मिनेट सोच्नु भयो भने प्रस्ट थाहा हुन्छ ।

यसबाट पन्तले एउटा पाठ सिक्नु पर्छ । एनआरएनए आईसिसि अध्यक्षले कालो झण्डाको झिल्कोलाई बेलायतबाट अरुतिर फैलिन दिनुहुंदैन । यो झिल्को संसारभर फैलियो भने यसलाई कसरी निभाउने भनेर योजना बनाउँदा बनाउंदै दुई वर्षे कार्यकाल सकिन्छ । यस्तो अवस्था आउँदा गैरआवासीय नेपालीले नेपालका लागि गर्न खोजेका कामहरु समेत अघि बढन सक्दैनन् ।
[email protected]

प्रतिक्रिया

सम्बन्धित सामाग्री