जीवनशैलीले राख्छ दीर्घायू

लेखक आचार्य

संसारमा सबैभन्दा बढी बांच्ने (८६.४ वर्ष) जापानका महिलाहरुको जीवनशैली र खाना महत्वपूर्ण कुरा भएको अनुसन्धानले बताएको छ । हालै गरिएको नयां अध्ययनले जापानिज महिलाहरु दीर्घायू हुनुको मुख्य कारण उनीहरुले खाने अन्नहरु, माछा, फलफुल र सब्जी अनि ‘ग्रीन टी’ लाई दिइएको छ ।
परम्परागत जापानी खानामा कम क्यालोरीका परिकारहरु ठिकैको परिणाममा हुन्छ । औसत जापानीहरु पश्चिमी देशका मानिसहरु भन्दा करिब २५ प्रति कम क्यालोरी खान्छन् ।

प्रायः जापानीहरु हप्तामा तीन पोर्सन माछा (१पोर्सन-१४० ग्राम), धेरै चोकरयुक्त होलग्रेन अन्नहरू, प्रशस्त सब्जीहरु, सोयाका परिकारहरु जस्तै टोफु, कोन्बू, सीविडको साथसाथै टोउरिनले भरिपूर्ण स्कुइड, अक्टोपस खान्छन् जसले कोलेस्ट्रोल र 
रक्तचाप कम गर्न सक्छ ।

त्यस्तै गरि स्वस्थकर जीवनका लागि मेडिटेरियन खानालाई पनि राम्रो मानिएको छ । सन् २०१३ मा गरिएको अध्ययनले जो मानिसहरु मेडिटेरियन खाना खाने गर्छन्, उनीहरुको मुटुरोग र स्ट्रोक हुने जोखिम ३० प्रतिशतले कम भएको पत्ता लगाएको छ ।

मेडिटेरियन खाना भन्नाले मेडिटेरियन समुन्द्रमा 
पर्ने देशहरु जस्तै इटाली, फ्रान्स, ग्रीस, स्पेनका मानिसहरुले खाने स्वास्थ्यकर खाने बानीलाई जनाउंछ । मेडिटेरियन क्युजिनको परिभाषा ठाउंहरु हेरी फरक हुन्छन् । तर, मुख्यतया फलफुल, सब्जी, नट्स, कोसे तरकारी, अन्नहरू, ओलिभ तेल र माछा पर्दछ ।

यी जापानी र मेडिटेरियन दुवै प्रकारका खानामा धेरै समानता छन् । यी खाना स्वस्थ्यकर हुनाको प्रमुख कारणमा निम्न तत्वहरु छन्-

फाइबर-
स्वास्थ्य र सन्तुलित आहारको लागि फाइबर महत्वपूर्ण भाग हो । यसले मुटुरोग, मधुमेह, वजन बढ्ने, केहि क्यान्सरबाट बचाउन मद्दत गर्न सक्छ । यसले पाचन स्वास्थ्य सुधार्न पनि सक्छ । बच्चाहरुले करिब २० ग्राम र प्रौढले घटीमा ३० ग्राम दिनमा फाइबर खाने सल्लाह दिइन्छ । फाइबर वनस्पतिबाट पाइने खानामा मात्र पाइन्छ । मासु,माछा, दुध आदिमा फाइबर पाईंदैन् ।

सोलुबल र इन सोलुबल गरि दुई फाइबरको किसिम हुन् । यी दुवै किसिमको फाइबरले शरीरलाई फाइदा गर्दछ । त्यसैले सधैं खानामा यी दुवै फाइबर खानु पर्दछ । होलग्रेन अन्नहरू तथा प्रशस्त मात्रामा फलफुल र सब्जी खाएमा फाइबरको मात्रा पुग्छ । सोलुबल फाइबर शरीरले पचाउंछ । यसले रगतमा हुने कोलेस्ट्रोल कम गर्न सहयोग गर्न सक्छ र यसका मुख्य श्रोतहरु फापर, जौ, गाजर, आलु, केरा, स्याउ, कोसे तरकारी आदि हुन् र कब्जियत हुने समस्यालाई फाइबरले धेरै फाइदा गर्दछ ।

इनसोलुबल फाइबर शरीरले पचाउंदैन् त्यसैले आन्द्राको साथै पाचन प्रक्रियालाई सफा गरी दिसाको रुपमा बाहिर निस्कन्छ । यसले अर्को काम आन्द्रा, पेटको साथै पाचनक्रियामा खानालाई सजिलोसंग पठाउंछ । त्यसैले यदि डायरिया भएको छ भने फाइबर कम खानु पर्छ । चपाती आटा, नछिल्किएको चामल (ब्राउन राइस), नट्स र बियाहरु पर्दछन् ।

फाइबरयुक्त खानाले पेट धेरै बेरसम्म भरिने हुन्छ । यसले नितम्बको क्यान्सरबाट बचाउन सक्छ । फाइबरको साथै प्रशस्त मात्रामा तरल पेय पिउनु पर्छ । दिनमा घटीमा १.२ लिटर पेय हुनुपर्दछ । मौसम र ब्यायाम गरे अनुसार पेय बढाउनु पर्दछ ।

ओमेगा-३
ओमेगा-३ बर्गको चिल्लो स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । ओमेगा-३ को चिल्लो विभिन्न रुपमा पाउन सकिन्छ-

ए एल ए (अल्फा लिनोलेनिक एसिड )- यो चिल्लो शरीरले बनाउन सक्दैन, त्यसैले खानाबाट 
आउनुपर्छ । अरु ओमेगा(३ चिल्लोहरु बनाउन यसले महत्वपूर्ण काम गर्छ । यसको मुख्य श्रोतहरु शुद्ध तोरीको तेल, बनस्पति तेल, आलस तेल, ओखर, हाडे बदम हरियो पात भएको सब्जीहरु आदि हुन् ।

इ पि ए (एईको सापेंटाईनोइक एसीड) र डी एच ए (डोको साहेक्षेइनोइक एसिड)- हाम्रो शरीरमा ए एल ए द्वारा बनाइने लामो सिलसिलाको यो चिल्लोले हाम्रो शरीरमा अधिक फाइदा पाइन्छ । तेलयुक्त माछाहरु जस्तै साल्मन, ट्राउट, म्याक्यारेल, सार्डीन यसको मुख्य श्रोत हो । त्यसैले तेलयुक्त माछालाई नियमित खानामा सामेल गर्नुपर्छ ।

मेडिटेरियन, जापान र ग्रीनल्याण्ड, आइसल्याण्डका मानिसहरुले ओमेगा-३ ले भरिपूर्ण माछाहरु खाने हुनाले उनीहरुलाई मुटुरोग लाग्ने सम्भावना अरु पश्चिमी देशहरु जस्तै बेलायत, अमेरिका भन्दा निकै कम देखिएको छ । आइसल्याण्डका लोग्ने मानिसहरु विश्वमा सबैभन्दा बढी बांच्छन् । उनीहरुको औसत उमेर ८०.८ वर्ष हो ।

ओमेगा-३ को खानाबाट धेरै किसिमको स्वास्थ्यमा फाइदा हुने हुनाले ओमेगा-३ हुने खानाहरु खान सुझाव दिइन्छ । यी खानाहरु भिटामिन मिनरलहरु जस्तै आयोडिन, क्याल्सियम र सेलेनियमका स्रोतहरु हुन् । अन्य पोषणका तत्वहरुमा भिटामिन ए र डी अनि प्रोटिन पाइन्छ । ओमेगा-३ को चिल्लोले गर्भवती महिला तथा स्तनपान गर्ने बच्चाको स्वस्थ्य विकास हुन मद्दत गर्दछ । यसले सम्झना शक्ति कायम राख्नुका साथै डिप्रेसनको उपचारमा पनि सहयोग गर्न सक्छ ।

एन्टीअक्सिडेन्ट-
एन्टीअक्सिडेन्ट भनेको एउटा मोलिक्युल हो जसले हाम्रो शरीरमा हुने इलेक्ट्रोनहरुको नोक्सानलाई 
रोक्छ । एन्टीअक्सिडेन्टमा धेरै किसिमका पोषणका तत्वहरु पाइन्छ । ती मध्ये भिटामिन सी, भिटामिन इ र बेटा कारोटेन मुख्य हुन् । यसका मुख्य श्रोतहरु विभिन्न किसिमका फलफुल, सागपात र तरकारीहरू, होलग्रेन अन्नहरू, सूर्यमुखी तेल आदि हुन् ।

‘ग्रीन टी’मा फ्लाभोनोइड्स, कटेचिन्स जस्ता एन्टीअक्सिडेन्ट पाइन्छन् । ‘ग्रीन टी’ को नियमित सेवनले स्वास्थ्यमा अनेक फाइदा हुन्छ । जापान, चीनतिर ग्रीन टीलाई औषधिको रुपमा धेरै शताब्दी पहिले देखिनै पिउंदै आइएको छ ।

रातो अंगुरमा स्वास्थ्यबर्धक धेरै एन्टीअक्सिडेन्ट जस्तै क्येर्सेटिन र रेस्भेराट्रोल पाइन्छ । यसले मुटु र क्यान्सरबाट बचाउन मद्दत गर्न सक्छ । यसका लागि वाइन नै पिउनु पर्छ भन्ने छैन्, अंगुरको जुस या अंगुर खानु नै पर्याप्त हुन्छ । बास्तवमा पुरुष ४० वर्षभन्दा माथि र महिलाको महिनावारी रोकिएपछि थोरै मात्राको वाइन सेवनले मुटुरोगलाई फाइदा हुने पाइएको छ । ब्रिटिश मुटुरोग संघले दिनमा दुई युनिट अल्कोहल भन्दा बढी पिउने सल्लाह कसैलाई पनि दिंदैन् । एक युनिटमा बियर ३३० एमएल, हिवस्की २५ एमएल र वाइन १२५ एमएल मानिन्छ ।

धेरै मदिरा सेवनले उच्च रक्तचाप, स्ट्रोक हुने जोखिम धेरै बढ्छ । यसले अस्वस्थ्यकर क्रियाकलाप लाई उक्साहित गर्दछ । मदिराले कलेजो रोग, हड्डी पातलो हुने रोग, स्नायु र मांशपेशीको नोक्सान, डिप्रेसन लगायत दुर्घटना हुने जोखिम प्रबल रुपले बढाउंछ । 
जो मानिसहरु दिनमा पांच युनिट भन्दा बढी मदिरा सेवन गर्छन्, उनीहरुलाई क्यान्सर हुने सम्भावाना पनि धेरै रहन्छ ।

पोटासियम र अरु भिटामिनहरु
स्वस्थकर र सन्तुलित आहारले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्दछ । जापानी र मेडिटेरियनका मानिसहरुको भोजनले शरीरलाई चाहिने मिनरल र भिटामिन पाइन्छ । यस किसिमको खानामा जनाबरबाट पाइने चिल्लो (स्याचुरेटेट फ्याट) कम हुन्छ । स्याचुरेटेट फ्याटले कोलेस्ट्रोल बढाउन महत्वपूर्ण भूमिका खेल्दछ जुन मुटुरोगको प्रमुख जोखिम हो । क्रियाशील जीवन, धुमपान त्याग्नु, चिन्ताको ब्यवस्थापन, उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको नियन्त्रण, पातलो शरीर, स्वास्थ्यकर खाना, दिनको आधा घन्टाको ब्यायाम आदिले कोरोनरी मुटुरोगबाट बच्न या सावधान हुन महत्वपूर्ण भूमिका खेल्दछ ।

बढी फलफुल र सब्जी खानाले पोटासियम भन्ने रसायन पाइन्छ जसले रक्तचाप कम गर्दछ । आफ्नो करेसाबारीमा तरकारी उब्जाउने तरिका अबलम्बन गर्नु बान्छनीय हुन्छ । साग सब्जी खेतीले एक त शारीरिक क्रियाकलाप बढ्ने अर्को ताजा तरकारीको रसोस्वादन गर्न पाइन्छ । बारी नहुनेले गमलामा राखेर तरकारी फलाएको उदाहरण पनि प्रशस्त छ । जांगरलाई प्रोत्साहन गरे लाभ हुन्छ ।

तपाईं मेडिटेरियन तथा जापानिज खाना खान सक्नुहुन्छ । तलको कुरालाई ध्यान दिऔं:
-स्ट्राची खानाहरु जस्तै चपाती आटा, जौ, फापर, नफलेको चामल जस्ता होलग्रेन अन्नहरू खाऔं ।
-विभिन्न किसिमका फलफुल र सब्जी प्रशस्त खाऔं ।
-मासु कम खाऔं, यसको बदलामा केहि माछा, गेडागुडी खाऔं ।
-क्याल्सियम र प्रोटिनका लागि कम चिल्लो भएको दुध र यसका परिकारहरु थोरै मात्रामा खाऔं ।
-चिल्लो छान्दामा शुद्ध तोरीको तेल, सूर्यमुखी तेल, ओलिभ तेल खाऔं । कोठाको तापक्रममा जम्ने चिल्लो जस्तै बोसो, घीउ, डाल्टा घीउ आदि स्वस्थकर नहुने कुरा मनन गरौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री