पुनम दिदीलाई १३ प्रश्न

Poonam Gurung

पुनम गुरुङ

पाठकबृन्द दशैं तिहार अनि छठ उमंगका साथ बित्यो होला । ‘बिलेटेड’ शुभकामनासहित यो लेख एनआरएन यूकेको चुनावी रस्साकस्सी, हाम्रो आशा र अध्यक्ष पुनम गुरुङ दिदीका चुनौतिका पहाडहरुमा केन्द्रित छ । पुनम दिदीलाई बधाई टक्रयाउंदै यो लेख अगाडि बढाउन चाहन्छु ।

पाठकहरु ! राजनैतिक नेतृत्व, नेताको चाकडी, दौडधुप, एउटा झुण्ड तयार गरि आफैं पैसा हालेर सदस्यताको पासो हान्ने प्रवृत्ति र परम्परागत ‘सिण्डीकेट’ लाई निरन्तरता दिंदै एनआरएन प्रजातान्त्रिक नामक विवादित चुनावबाट तैरिएको छ ।

बिगत म कोट्याउंदिन किनकि त्यहां दुःखाईमात्र छ, पीडामात्रै छ । त्यहां सट्टेबाजका केही अपवाद बाहेक ‘गुलाम’ हरु मात्र छन् । मलाई नामै लिंदा पनि झर्को लाग्छ । विगतको परिवेश लगुंरबुर्जा खेलाएको जस्तो गोटी कहिले तल फर्कन्छ, कहिले दाहिने, कहिले देब्रे । त्यो बेथितितिर म जान चाहन्न ।

योग फगामी दाईको आव्हानलाई उर्दी मानी अनलाइन सदस्यता लिन मैले १० पाउण्ड तिरेर सदस्यता लिने कोशिस गरें । झण्डै तीन घण्टा खर्चिएं । मेरो प्रविधिप्रति अनभिज्ञता वा अज्ञानता अथवा एनआरएनको झारा टार्ने प्रबृत्तिको अर्को ज्वलन्त उदाहरण मानौं । यो झन्झटिलो र झारा टार्ने प्रवृत्तिको शिकार म आफैं भएं । अनलाइनबाट पैसा तिरियो, सदस्य हुनका लागि चाहिने डकुमेन्ट सबै अपलोड 
गरियो । यति भएपछि ढुक्क भएं अब सदस्य बनियो । तर बिडम्बना भोटर लिष्टमा नाम खोजें कतै भटिन । पछि मेरो नाममा पैसा नआएकाले बैकल्पिकमा राखिएको रहेछ । जबकि मसंग पैसा तिरेको प्रमाण यथेष्ट छ । न त 
कसैले मलाई सम्पर्क गरयो न त मैले कुनै ‘कन्फरमेसन’ नै पाएं । निर्वाचन समितिलाई 
हेर्ने जिम्मा दिइएको रहेछ, निर्वाचन समितिलाई दुई पटक इमेल गरें, हारगुहार मागें केही लागेन ।

निर्वाचन समितिले पनि यो चुनावबाट पाठ सिकोस्, राम्रो 
गर्ने नियत हुंदा पनि कलंकको टिका कसैलाई लगाउन नपरोस् खैर म जस्ता पीडित धेरै हुनुहुंदो रहेछ । नैतिक जिम्मेवारी लिंदै हाम्रो पैसाको महत्व दिंदै कि पैसा फिर्ता गर्नुस् कि सदस्यता दिलाउने काम गर्नुस् । विविध कारणहरुले यो चुनावले मान्छेहरुमा झनै वितृष्णा जगाइदिएको छ । पैसा तिरेर सदस्यता लिएकाहरुले सदस्यताको औचित्य नभएको भन्दै नैराश्यता बढेको अवस्था छ भने जनमानसमा ‘नेगेटिभिटी मेन्टालिटी’ बढ्ढो छ । निष्पक्ष रहने कोशिस राख्नुस् ।

पुनम दिदी मलाई केही चित्तबुझ्दो कारण दिनुस् जसले मलाई फेरी सदस्य बन्न प्रेरित गरोस् । मेरो दैनिक जीवन र नेपालप्रतिको 
मायांलाई जोडिने माध्यम बनोस् भन्ने मेरो आशा हो । म घोत्लिएर सोच्छु तर केही पाउंदिन सिवाय पदेनहरुको नेपालबाट आउने नेताहरुको चाकडी, दूतावासका कार्यक्रमहरुमा प्रमुख अतिथि र नेपालमा कालो धनलाई सेतो बनाउने गुटको सेवा । पाउ मोलाई र नेताको छेउमा उभिएर फोटो सेसन गर्ने भिड र ‘लंका हाक्ने गफ’ जनमानसको यो भ्रमलाई चिरेर अब कसरी अगाडि बढ्नुहुन्छ, पहिलाकाले भन्दा काम गरेर पृथक कसरी बन्नुहुन्छ, कसरी म जस्ता हजारौं युवालाई समेटेर सदस्य बन्न प्रेरित गर्नुहुन्छ ? म लगायत मेरा हजारौं पाठक उत्तर खोजिरहेका छन् ।

अनुमानित रुपमा बेलायतमा एक लाख नेपाली छन् । यसमा मात्र १० पाउण्ड सदस्यता शुल्क राखिंदिदा पनि १० लाख पाउण्ड उठ्छ । स्वैच्छिक दान गर्नेहरु पनि निस्केलान् । त्यो १० लाख तब मात्र उठ्छ जब त्यो एक लाख नेपालीलाई हजुरले सांस्कृतिक, राजनैतिक र सामाजिक चरित्रलाई मिलाएर लैजानु भयो भने त्यो सम्भव छ । तेल र पानी घोल्दै हुनुहुन्छ, घोलिन्जेल मिल्छ नघोल्दा तेल तैरन्छ बिचार गरिदिनुस् । पुनम दिदी दुई वर्ष कटाउन मुस्किल नहोला । काम गर्नेका निम्ति दुई वर्ष आंफैमा पूर्ण समय हो ।

Anjan Bagale

लेखक अन्जन बगाले

बेलायतको जनमानस हजुरबाट तल उल्लेखित प्रश्नहरुको उत्तरको प्रतिक्षामा छन् । म पनि उत्तर आउंछ भन्ने आशा गरेको छु ।

१) नेपालमा लगानी भित्रयाउने हजुरका के योजना छन् ?

२) नेपालमा लगानी भित्रयाउन हजुरको टिममा कस्ता कस्ता विशेषज्ञहरु छन्, बैकिङ क्षेत्रबाट, कर्पोरेट क्षेत्रबाट ।

३) नेपालको राजनैतिक झन्झटलाई सल्टाउन सक्ने कस्ता मान्छेहरुको संलग्नता छ ?

४) नेपालमा लगानीका सम्भावनाहरु पहिचान कसरी गर्नु भएको छ ?

५) पर्यटन, हाइड्रो, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, अलैंची, अदुवा, चिया, कफी निर्यातका लागि कलकारखना कति खोल्ने कति लगानी 
लैजाने र नेपालमा कति नेपालीलाई रोजीरोटी निर्माण गर्ने योजना बुन्नु भएको छ ?

६) नेपाल सरकारको ‘ब्युरोक्रेसी’ संग समन्वय गरेर लगानी गर्न दूतावाससंग कसरी समन्वय गर्दै हुनुहुन्छ ?

७) नेपाली दूतावासले लगानी सम्मेलन कयौं पटक गरेको छ । त्यसलाई कसरी सदुपयोग 
गरियो अथवा कति लगानी भित्रियो कुनै डाटा भए आभारी हुने थिएं ।

८) जनताले पुरातन ‘माइण्ड सेट इग्नोर’ 
गर्दैछन् । नयां के पस्किन सक्नुहुन्छ ?

९) दोहोरो नागरिकता (डोयल सिटिजनसीप) सरकारले किस्तामा दिएको छ । यो कानुन पूर्ण लागू गर्न के कस्ता योजना छन् ?

१०) गोर्खाहरुको समस्या ज्वलन्त छन् कसरी मिलाउनु हुन्छ ?

११) सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुरयाउने लक्ष्य राखेको छ । पर्यटन समितिसंग कसरी एनआरएनले काम 
गर्ने योजना बनाएको छ ? प्रष्ट पारिदिनुहोस् । (हुन त पर्यटनमन्त्रीसंग एउटा अन्तरक्रिया त गर्नुभयो ।)

१२) घर घरै सदस्यता बनाउंदै हिंड्ने प्रचलनको अन्त्य गर्दिनुहोस् कि चिठ्ठीलाई मात्रै मान्यता दिनुहोस् । भोट हाल्नेलाई पनि कसलाई भोट हाल्ने जानकारी होस् ताकि स्वयंम सेवक खटाएर उम्मेदवारहरुको नाम लिष्ट बनाएर बांढ्नु नपरोस्, क्वान्टिटी कि क्वालिटी हजुरको जिम्मा ।

१३) पैसा तिरेर पनि सदस्यता लिन नपाएकाहरुको कि पैसा फिर्ता गरिदिनुस् कि सदस्यता दिलाउनुहोस् ।

र, अन्त्यमा म लगायत मेरा पाठकहरु जान्न चाहन्छन् । जन्ताले आग्रह गरेका छन् गुट उपगुटमा 
नफंसिदिनुहोस्, समुदाय र जातको हिलो छयाप्नेहरुसंग बचेर नेपालीको भइदिनुस्, नेपालले जे जित्छ नेपालीले जित्छ । कुरा बढी गर्ने काम नगर्नेहरुको झुण्डहरुले हजुरलाई भ्रममा राख्दिन सक्छन्, बिचौलिया गरेर दैनिक चलेको हुन्छ उनीहरुबाट बच्नु पर्ने हजुर हो बचिदिनुस् कुरा भन्दा काममा विश्वास गर्दिनुहोस् । खादा मालाबाट बचिदिनुहोस् ति खादामाला नै तपाईंको गल्पासो नबनुन् शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री