लन्डन । नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला आउंदो आइतबार (२५ अगस्त) केम्पटन पार्क रेस कोर्स लन्डनमा हुने भएको छ । आयोजक तमुधिं यूकेले सातादिन अघि आइतबार कार्यक्रमस्थलमै पत्रकार सम्मेलन गरि तयारीबारे अवगत गराएको हो । मेलामा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ ।
मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजक जुमकाजी गुरुङले जानकारी दिए । युवाहरुका लागि २ घण्टा समय छुट्याइएको छ, जहां उनीहरुले गीत संगीत प्रस्तुत गर्नेछन् ।
मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, ३ सय पाउण्डको एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएका छन् । नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड दिइनेछ । ‘राफल ड्र’ मा नेपाल रिटर्न टिकेट र एक तोला सुन राखिएको छ ।
मेलाको अनुमानित बजेट करिब ३५ हजार पाउण्ड छ । ३२ हजार आम्दानी हुने अपेक्षा गरिएकाले मेला घाटामा जाने अनुमान छ ।
तमुधिं यूकेले सन् २००९ देखि वर्षेनी लन्डनमा मेला गर्दै आएको छ । संयोजकले नेपाली कला, संस्कृति, भेषभूषा जोगाउन र विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउने उद्देश्यले मेला गरिएको जनाए ।
मेलामा वयस्कका लागि प्रवेश शुल्क ५ पाउण्ड, १२ वर्ष मुनीका बालबालिकाका लागि तीन पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड र बस शुल्क १२ पाउण्ड तोकिएको छ ।
मेलामा गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रमुख अतिथीका रुपमा बोलाइएपनि ‘भिजा कन्फर्म’ भइनसकेको संस्थाले जनाएको छ । अतिथी सत्कार संयोजक मेजर रि. कृष्ण गुरुङले विशेष अतिथीहरु राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित विभिन्न देशका राजदूत, कुटनीतिज्ञहरु गरि करिब तीन सय अतिथीको सहभागिता रहने अपेक्षा गरिएको बताए । मेलामा सुरक्षा र स्वास्थ्य सेवा प्रवन्ध हुने आयोजकले जनाएका छन् ।
पत्रकारहरुको जिज्ञासा मेटाउंदै अध्यक्ष नन्दजंग गुरुङले नेपाली मेला शुरु भएको ११ वर्षमा यसको उपलब्धि नेपाली कला, संस्कृति र भेषभूषा भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्नु रहेको बताए । विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कुटनीतिज्ञहरुको उपस्थितिले नेपालबारे अन्तर्राष्ट्यि प्रचार प्रसार र पर्यटन प्रवर्धनमा सघाउ पुग्ने समेत अध्यक्षको विश्वास छ । उनले आफू संस्थाको नेतृत्वमा आएपछि बजेट कटौती गरिएको र यसको मारमा मिडिया पनि परेको स्वीकारे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै आफूहरु आउंदो साता केम्पटन पार्कलाई ‘नेपालमय’ बनाउन आतुर रहेको बताए । महासचिब तुलाराम गुरुङले पनि मेलाबारे बताए । मिडिया सेक्रेटरी रोहित गुरुङले सञ्चारकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्षले सञ्चारकर्मीहरुलाई स्वागत सम्मान गरेका थिए ।
कार्यक्रममा आमा समूहकी सचिव यशोधा गुरुङले आमा समूहले काउन्टरमा टिकेट व्यवस्थापन गर्ने, सारीको एक स्टल राख्ने र संकलित रकम क्यान्सर पीडितलाई सहयोग गर्ने योजना रहेको जनाइन् ।
कतिपय सहभागीले वर्षेनी मेला घाटामा गइरहंदा फरक रणनीति अपनाउन सुझाएका थिए । तस्बिर- शिव भण्डारी
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]