लण्डनमा दर्शकले सुने नेपाली महिलाका कारुणिक कथा

लन्डन । पासा पुचः गुठी बेलायतले बुधबार सोआस युनिभर्सिटी सभाहलमा ‘वुमन इन नेपाली सोसाइटी’ शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । सो क्रममा फिल्म मेकर तथा जर्नालिस्ट सुबिना श्रेष्ठका साथ प्रतिमा जोशी, रुक्मिणी प्रथान, मेनका श्रेष्ठ र लक्ष्मी राईले महिला हुनुका कथाहरु सुनाए । कार्यक्रम संयुक्त श्रेष्ठले सुरुवात गरेका थिए ।

फिल्म मेकर तथा पत्रकार सुबिना श्रेष्ठले अहिले पनि नेपाली समाजको सोचमा परिवर्तन नआएको बताइन् । उनले महिला भएकै कारण उनीहरुले नेपालमा भोग्नु परेको कठिनाइबारे आफ्नो अनुभव सुनाइन् । उनले नेपाली महिलाहरुले भोग्नु परेका समस्याहरुमा लैगिंक विभेदता, आमाको नाममा नागरिकता नहुंदा बच्चाहरुले भोग्नु परेका समस्या आदिबारे धारणा राखिन् । ‘नेपालीहरु आफूमात्रै आएनन्, नेपाली परम्परा र सोचहरुलाई पनि संगै लिएर बेलायत आएका रहेछन् । त्यसैले बेलायतमा रहेर पनि नेपाली महिलाहरुले नेपालमा जस्तै विभेद खप्नुपर्दो रहेछ’, अन्य सहभागीहरुको कथा सुनेपछि सुबिनाले सुनाइन्।

बेलायतमा रहेका महिलाहरुको यस्ता खाले साझा समस्याको साझा नेटवर्क र सम्पर्क र एकापसमा सहयोग कसरी गर्न सकिन्छ भन्ने जिज्ञासा समेत उनको थियो ।

अर्की महिला प्रतिमा जोशीले आफू घरेलु हिंसाबाट बांच्न सफल भएको बताइन् । प्रतिमाले गर्वसाथ भनिन्, ‘मलाई जनमानसमा गएर आफूले भोगेको कथा सुनाउन कत्ति सरम लाग्दैन् । किनभने मेरो अनुभव सुनेर एउटी महिला मात्रैले आफूलाई सुरक्षित गर्नसके त्यो मेरा लागि ठूलो उपलब्धि हुनेछ ।’

जीवन सोचे जस्तो सबैको इन्द्रेणी हुंदैन । पढे लेखेकी प्रतिमाको पूर्व पति विद्यावारिधि गरेका उच्च शिक्षित रहेछन् । बेलायती तथ्यांकले अधिकांश घरेलु हिंसा अल्पशिक्षित, बेरोजगार एवं अन्य असमझदारीका कारण हुने बताउंछ । प्रतिमाको हकमा एउटा शिक्षित र सम्पन्न श्रीमानदेखि भोग्नु परेको हिंसाको कथा हामी बांचिरहेको समाजको एउटा पाटो हो । आफ्नै परिवारले ‘तं नै उस्तो होला अनि छोड्यो तेरो लोग्नेले’ जस्ता लाञ्छना लगाएर खप्नु परेको पीडा र तीतो अनुभव सुनाइन् प्रतिमाले ।

बृद्ध पिताको स्याहारका लागि आफ्नो जीवन सुम्पेकी मेनका श्रेष्ठलाई धेरैले ‘किन बिहे नगरेको ?’ भन्ने प्रश्न गरिरहंदा उनले अनुभव सुनाइन् ‘बिहे गर्नु नै जीवनको मुलमन्त्र हैन, मेरो प्राथमिकता मेरो रोगी अनि बृद्ध पिताको स्याहार थियो ।’

नेपाली समाजले अविवाहित हुनुको मुल कारण भन्दा पनि ‘किन, के कारणले’ भन्ने जस्ता संकोच सोच र प्रश्नहरु बढी तेस्र्याउंछन्। मेनकालाई अविवाहित भएर एक्लो जीवन काट्नु परेकोमा कुनै किसिमको पछुतो छैन् । समकालिन साथीहरुका बालबच्चा पनि ठूलो भइसके ।  त्यो देखेर उनलाई खुशी नै लाग्छ । ‘तर, हरेक व्यक्तिको जीवन बांच्ने सोच र प्राथमिकता फरक हुन्छ र म आफ्नो जीवनदेखि एकदम सन्तुष्ट छु’, उनले सुनाइन्।

रुकमणि मानन्धरले दुई दशक भन्दा अघिको बेलायती नेपाली समाजभित्र एउटी महिलाले भोग्नु परेको घरेलु हिंसाको कहालीलाग्दो पाटो हांसी हांसी सुनाउंदा दर्शक दीर्घामा उनको कथा सुन्नेहरुको हांसोको लहर छुटे पनि उनको प्रत्येक शब्दहरुमा उत्तिकै भावुक पनि बने दर्शक । लोग्नेले अर्कै केटी च्यापेर हिंडेपछि स साना नाबालक नानीहरु सह्दयी छिमेकी (बेलायती) को सहयोगले हुर्काउंदै अहिले एउटा सक्षम महिला बनेकी रुकमणि मानन्धर धेरैका लागि प्रेरणाकी श्रोत हुन् ।

कट्टर नेवारी संस्कार र परिवारमा हुर्केकी रुकमणिसंग अंग्रेजी भाषाका कारण भोग्नु परेका अनेकन अनुभव पनि छन् । बेलायतमा बस्ने केटासंग बिहे गरेर सुन्दर जीवन बिताउन अनेकौं सपना लिएर दूरदेशमा आउंदा उनले भोगेका कथाहरुले जो कसैको मन छोयो । अहिले पनि विदेशमा बस्ने केटासंग बिहे गरयो भने छोरीको भविष्य सुरक्षित हुन्छ भनेर झन्डै आधा उमेर भन्दा पाको उमेरका दुलहासंग छोरी बिहे गरिदिएको फोटो र भिडियो देख्न पाइन्छ। रुकमणिको कथा सुन्न केहि मिनेटको कार्यक्रम पर्याप्त हुंदैन ।

अर्की वक्ता थिइन् लक्ष्मी राई । सधैं सपना देख्ने केटी । कहिले मञ्च, कहिले कविता, कहिले थिएटर । सन् १९९० तिर बिरलै स्टेजमा केटीहरुले माइक समातेर उद्घोषण गर्थे । जीवनमा भुल्न नसक्ने घट्ना, आफ्नो मिल्ने साथीलाई बुवाले भेट्न नदिएको घट्ना उनको मानसपटलमा अझै ताजै छ । ‘केटी भएकै कारण स्टेजमा बोल्नु त्यो बेला सम्मानजनक रुपमा हेरिंदैनथ्यो । साथीको बुवाका लागि बिग्रेकी केटी थिएं म’, लक्ष्मीले सुनाइन्।

हिजोआज त नेपालमा छ्यासछ्यास्ती भेटिन्छ ’उदेषण’ प्रशिक्षण केन्द्र र यसलाई एउटा कला भनेर सिकाइन्छ ।

कलेज बिदामा घर फर्किंदा, काठमाडौंमा अफिस सेक्रेटरीको जागीर गर्दै गरेको अनुभव सुनाउंदा ‘त्यस्तो जागिर पनि खान्छ?’ भनेर गाली गरेको अर्को प्रसंग पनि उनले सुनाइन्। कुनै बेला सेक्रेटरी जागीर गर्नु भनेको केहि पुरुष मानसिकताको परिधिमा, ‘एउटी सुन्दर युवती, लो-कट ब्लाउज लगाएर, मिनी स्कर्टमा बोसको अघि पछि घुम्छे’ जस्तो हिन्दी सिनेमाको नराम्रो छाप रहेको भेटिन्थ्यो ।

महिला भएर भोग्नु परेको अनुभव पनि प्रशस्तै छन् ।  घरपरिवार सहयोगी रहे पनि महिलाप्रति हेरिने समाजको दृष्टिकोण, विभेदपूर्ण व्यवहार चाहे त्यो धर्म संस्कारको नाममा होस्, कार्य विभाजन अथवा नेतृत्वको प्रसंगमा, नेपालमा मात्रै हैन, महिलाप्रति समाजको सोच बेलायती नेपाली समाजभित्र पनि संकीर्ण रहेको लक्ष्मीको अनुभव छ ।

त्रिबेणी गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रम प्रत्येक सप्ताहन्त बेलायतमा भइरहने विभिन्न कार्यक्रमभन्दा अत्यन्तै पृथक रहेको दर्शकहरुले प्रतिक्रिया दिए । सोचे भन्दा बढी दर्शकहरुको उपस्थितिले हल खचाखच भरिएको थियो । अधिकांश युवाहरुको उपस्थिति रहेको यस्तो किसिमको कार्यक्रम गरेर महिलाहरुलाई बोल्ने अवसर दिने पासा पुच गुठी धन्यवादको पात्र बन्यो ।

कार्यक्रम चलाउंदै संयुक्त श्रेष्ठले महिला भएकै कारण गर्नु पर्नेजस्ता कुसंस्कारहरुप्रति जनचेतनाका लागि आफ्नो निजी अनुभव शेयर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री