काजाब्लांका क्यासेल्लो, बेल्जियम । नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजना र बेल्जियमस्थित महासंघमा आबद्ध मातृ संस्थाहरूको सहआयोजनामा सुन्दर नगरी लुभेनमा ३१ औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
शनिबार ९ अगस्टमा विभिन्न कार्यक्रम सहित बेल्जियममा विश्व आदिवासी दिवस मनाइएको हो । कार्यक्रम ‘अधिकारसहितको पहिचान, नेपाल आदिवासी जनजाति महासंघको साझा अभियान’ भन्ने नाराको साथ आयोजना गरिएको थियो । संयुक्त राष्ट्रसंघको यस वर्षको नारा भने ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमा संयुक्त आदिवासीको अधिकार सुनिश्चित गर, आईएल ओ १६९ अनुरूप सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर’ रहेको थियो । बागमती प्रदेशमा तामाङ र नेपाल भाषा तथा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता प्राप्त भएको खुसियालीमा दिप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
नेपाली राजदूतावासका प्रतिनिधि रमेश गैरेले सम्बोधन गर्नुहुँदै आदिवासी जनजातिको कार्यक्रममा सरिक भई शुभकामना दिन पाउदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले संस्कृति जगेर्ना गर्न आफ्नो घरभित्र परिवारबाट लागेमा पुस्तान्तरण र संरक्षण हुने धारणा राख्नुभयो । आफ्नो जातीय भाषा, संस्कार, संस्कृति संवर्द्धन र प्रवर्द्धन राष्ट्रिय गौरवको विषय भएको र यसका लागि महासंघले कार्यक्रम अगाडि बढाइरहेकोमा उहाँले विशेष धन्यवाद दिनुभयो ।
त्यस्तैगरी एनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटाले महासंघसँग सधैं हातेमालो, सहकार्य गर्दै निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली समाज सधैं एकढिक्का भएर प्रक्रियागत ढंगले अगाडि बढ्छ । केही विवाद जस्तो देखिए तापनि सामाजिक दुराशयलाई चिर्दै नीति नियम, विधि विधानको पालना गर्दै एनआरएनए बेल्जियम अघि बढिरहेको हुनाले कोही पनि भ्रमित नहुन म आग्रह गर्दछु ।’
कार्यक्रममा विशेष अतिथि नेफिन निवर्तमान अध्यक्ष बिरमान घर्ती मगरले नेफिनको गठन र विश्व आदिवासी दिवस ९ अगस्टको विषयमा संक्षिप्त धारणा राख्नुभएको थियो । त्यसैगरी जातीय संस्थाका अध्यक्ष प्रतिनिधिहरू तामाङ समाजका कोषाध्यक्ष मानु घिसिङ, मगर संघ अध्यक्ष कल्पना मगर, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ राई, चुम्लुङ अध्यक्ष बदन योङहाङ, तमु समाज बेल्जियम अध्यक्ष राम घलेले नेपाल सरकारको भाषा विधेयक पारित भई सरकारी कामकाजी भाषाको रूपमा लागू हुने क्रम अधिकार सहितको पहिचानको लागि महत्वपूर्ण उपलब्धि भएको र थप उपलब्धिका लागि सशक्त रूपमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
वैचारिक संस्थाको प्रतिनिधित्व गर्दै नेपाली जनप्रगतिशील मञ्च बेल्जियम अध्यक्ष मनिष गुरुङले आदिवासी अधिकारका लागि नेपाल सरकारले संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरे तापनि आदिवासीको जल, जमिन, जंगल र प्राकृतिक प्रदत्त श्रोतसाधन माथिको आदिवासी जनजातिको श्रम र लाभांश सम्बन्धमा नेपाल सरकार मौन हुन नहुने बताउनुभयो ।
त्यसैगरी किरात राई सोसाइटीबाट केजिन राईको नेतृत्वमा साकेला सिली प्रस्तुत गरिएको थियो भने मगर संघबाट सतमान पुन र श्याम बुढामगरको नेतृत्वमा भुमे नाच देखाइएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै नेफिन बेल्जियमका अध्यक्ष प्रविना गुरूङले अधिकारसहितको पहिचान भन्ने मूल नारामा बेल्जियमस्थित सबै जातीय संस्थाहरू सहमत भई गतिविधि अगाडि बढाएकोमा धन्यवाद भन्दै आईएलओ १६९ र यूएनडीआरआईपीमा उल्लेख भएको अधिकार प्राप्त भइनसकेकोले आदिवासी अधिकार प्राप्तिका निम्ति महासंघ निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी महासंघ उपाध्यक्ष मुना राईले स्वागत मन्तव्य राख्दै प्रत्यक्ष परोक्ष रूपमा आर्थिक, भौतिक, नैतिक सहयोग समर्थन गर्नुहुने सबैमा महासंघको तर्फबाट आभार व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक ओमराज गुरूङ, सहसंयोजक कल्पना मगर रहनुभएको थियो भने कार्यक्रम संचालन महासचिव रबिन राईले गर्नुभएको थियो ।