लन्डन दूतावासमा भेला भए विश्वका नेपाली साहित्यकार


लन्डन । छैटौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट नेपाली साहित्यकारहरु लन्डनमा भेला भएका छन् । शनिबारदेखि शुरु तीन दिने सम्मेलनमा सम्मान तथा कृति विमोचन र विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । वर्तमान परिदृश्यमा नेपाली साहित्य, महाभूकम्पछि नेपाली साहित्यको अवस्था, डायस्पोरा र मातृभूमिको अन्तरसम्बन्ध आदि विषयमा कार्यपत्र प्रस्तुत गरिने समाजले जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजना र बेलायत च्याप्टरको संयोजनमा जारी उक्त सम्मेलनका सहभागी शनिबार सांझ लन्डनस्थित नेपाली दूतावासको रिसेप्सनमा सहभागी भए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न देशबाट आएका श्रष्टाहरुले आ आफ्ना कविता वाचन गरे । सो अवसरमा नेपाली मौलिक नाच र गायन पनि प्रस्तुत गरियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली भाषा, संस्कृति र साहित्यको उत्थानका लागि बेलायतको नेपाली डायस्पोराले अतुलनीय योगदान गरिरहेको बताए । बेलायतका विभिन्न नेपाली संघसंस्था र मिडियाले नेपाली साहित्यलाई मलजल गरिरहेको राजदूतको धारणा थियो ।

डा. सुवेदीले आफ्नो कुटनैतिक, राजनैतिक तथा प्रशासनिक काममा किञ्चित कमी हुन नदिइ नेपाली साहित्यको लागि आफूले पनि पसिना बगाइरहेको बताए । ‘विदेशका ३७ मिसनमध्ये मैले मात्र दूतावासमा नेपाली मुर्धन्य साहित्यकारहरुको तस्विर भित्तामा टांगेको छु, राजदूत डा. सुवेदीले भने, ‘बेलायत नेपाल सम्बन्धमा गोर्खाहरुको ठूलो योगदान छ । त्यसकारण लाहुरे साहित्य, युद्ध साहित्य र डायस्पोराको साहित्यलाई अब प्रज्ञा प्रतिष्ठानले पनि प्राथमिकता दिन पर्ने बेला आइसकेको छ ।’

कार्यक्रमका प्रमुख अतिथी संस्कृतिवीद डा जगमान गुरुङले युद्ध साहित्यप्रति आफू सकारात्मक रहेको र त्यस्ता कृति प्रकाशन गर्ने आश्वासन दिए । उनले बेलायत नेपाली साहित्यका लागि उर्वर भूमि भएको उल्लेख गर्दै श्रष्टाहरुलाई थप सक्रिय हुन अपिल गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले दूतावासले साहित्यकारहरुको सम्मान गरेकामा कृतज्ञता व्यक्त गरे ।

वरिष्ठ साहित्यकार तथा कुटनीतिज्ञ कृसु क्षेत्रीले सञ्चालन गरेको सो अवसरमा विश्ववीमोहन श्रेष्ठ, बासु शर्मा, नारायण गाउंले, सन्ध्या पहाडी, प्रा.डा. मोहन सिटौला, गोवर्धन पूजा, डा. रुपक श्रेष्ठ, डा. पुष्पा शर्मा, बाबा बस्नेत लगायत कयौं श्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा सितु खरेल, शर्मिला बर्देवा लगायतले गीत र प्रसुना कंडेल, सबु सेन्चुरी, अमृता गिरी गजुरेल लगायतले नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार एवं राजदूत डा. दुर्गाबहादुर सुवेदी 
(दुबसु क्षेत्री) को ‘साझा पुरस्कार २०६७’ प्राप्त कृति ‘अश्वमेध यज्ञका घोडाहरु’ को वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीद्वारा स्वरवद्ध ‘अडियो बुक’ पनि विमोचन गरिएको थियो । सो अवसरमा अतिथीहरुलाई सम्मान पनि गरियो ।  

सो अवसरमा समालोचक डा. खगेन्द्रप्रसाद लुईंटेल, डा. कविता लामा, डा. देवी सुवेदी, प्रा. डा. सूर्यप्रसाद सुवेदी, ध्रुब केसी, कोमल मल्ल, घनबहादुर थापा, विजय हितान, जया राई, सुमल गुरुङ, गोपी सापकोटा लगायत नेपाल तथा बेलायतका वरिष्ठ साहित्यकारहरुको उपस्थिति थियो ।

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री