जोन्सनले छानेका मन्त्रीहरु ब्रेक्जिटका कट्टर समर्थक

Boris Johnson

प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नयां नेता चुनिएसंगै बुधबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका बोरिस जोन्सनले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनले छानेका अधिकांश मन्त्रीहरु ब्रेक्जिट पक्षधर छन् । बिना सम्झौता भएपनि बेलायत इयूबाट बाहिरिनुपर्छ भन्ने वकालत गर्दै आएका ति मन्त्री आप्रवासी नियन्त्रणका लागि ब्रेक्जिट प्रमुख आधार मान्छन् ।

प्रधानमन्त्री बने लगत्तै जोन्सनले टेरेजा मे क्याबिनेटका ३० मध्ये ११ जना मन्त्रीहरुलाई वर्खास्त गरेका छन् भने ६ जनाले 
राजिनामा दिएका छन् । फिलिप हयामण्ड, जेरेमी हन्ट, रोरी 
स्टेवार्ट जस्ता हस्ती बाहिरिएका छन् । हयामण्ड अर्थमन्त्री, हन्ट जोन्सनसंग दलको नेतामा पराजित विदेशमन्त्री र स्टेवार्ट 
अन्तर्राष्ट्रिय विकासमन्त्री थिए ।

निवर्तमान प्रधानमन्त्री टेरेजा मेले बुधबार बकिङघम दरबार गएर महारानी एलिजावेथ द्वितीयासमक्ष राजिनामा दिएपछि प्रधानमन्त्री जोन्सनले लगत्तै रानीसंग नयां सरकार गठनका लागि अनुमति लिएका थिए ।

दरबारबाट फर्किएपछि अपरान्ह प्रधानमन्त्रीले साजिद जाभिदलाई अर्थमन्त्री (चान्सलर) नियुक्त गरेका छन् । मे क्याबिनेटमा गृहमन्त्री रहेका जाभिद दलको नेतामा पराजित भएका थिए ।

त्यसैगरि, प्रिती पटेल र डोमिनिक राब क्रमशः गृह र विदेश मन्त्री नियुक्त भएका छन् । दलको नेता बन्ने प्रतिष्पर्धामा बोरिसलाई खुलेर सघाएकी ब्रेक्जिट पक्षधर प्रिती बिना जानकारी इजरायली राजनीतिज्ञहरुसंग भेटघाट गरेको 
आरोपमा सन् २०१७ नोभेम्बरमा मन्त्रीबाट राजिनामा दिन वाध्य भएकी थिइन् ।

सन् २०१५ मा न्यायमन्त्री नियुक्त भएका ब्रेक्जिटका कट्टर समर्थक राबलाई मेले आफू 
प्रधानमन्त्री भएपछि वर्खास्त गरेकी थिइन् । तर, गत वर्ष जुलाई २०१८ मा डेभिड डेभिसले ब्रेक्जिट मन्त्रीबाट राजिनामा दिएपछि राब डेभिसको जिम्मेवारीमा आए । यद्यपि, मेको ब्रेक्जिट डिलमा अहमति जनाउंदै राबले त्यो मन्त्री पद पनि छाडेका थिए ।

त्यसैगरि, स्टेफेन बारक्ले र गेभिन विलियमसनको मन्त्रिमण्डलमा पुनरागमन भएको छ, जसमा बारक्ले ब्रेक्जिट मन्त्री र विलियमसन शिक्षा मन्त्री नियुक्त भएका छन् । चिनिया मोबाइल कम्पनी हुवावेबारे सूचना चुहाएको आरोपमा मेले गेभिनलाई यसै वर्षको शुरुतिर हटाएकी थिइन् ।

नवनियुक्त रक्षा मन्त्रीमा बेन वालेस, अन्तर्राष्ट्रिय व्यापार मन्त्रीमा लिज ट्रस र स्वास्थ्य मन्त्रीमा म्याट हयानकक नियुक्त भएका छन् । त्यसैगरि, वर्क एण्ड पेन्सन तथा महिला मन्त्रीमा एम्बर रुड, वातावरण मन्त्रीमा टेरेजा भिलर्स, संस्कृति मन्त्रीमा निक्की मोर्गन, व्यापार मन्त्रीमा एन्ड्री लिड्सम, हाउजिङ मन्त्रीमा रोबर्ट जेनरिक, न्याय मन्त्रीमा रोबर्ट बकल्याण्ड, स्कटिस मन्त्रीमा एलिस्टर ज्याक, यातायात मन्त्रीमा ग्रान्ट सेप्स, नर्दन आयरल्याण्ड मन्त्रीमा जुलियन स्मिथ, वेल्स मन्त्रीमा एलन कान्र्स र हाउस अफ लर्डस नेतामा ब्यारोनेस इभान्स नियुक्त भएका बीबीसीले जनाएको छ । जोन्सनले माइकल गोभको पदोन्नति गर्दै चान्सलर अफ दि डची अफ ल्यानकास्टर नियुक्त गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले ईयू समयसीमा (३१ अक्टोबर) भित्रै सम्झौता वा बिना सम्झौता बेलायतले ईयू छोड्ने उद्घोष गरेका छन् ।
बेलायतको ७७ औं प्रधानमन्त्री भएपछि आफ्नो कार्यालय टेन डाउनिङ स्ट्रिट बाहिर पहिलो सम्बोधनमा जोन्सनले समयसीमाभित्र ब्रेक्जिट टुंगो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जोन्सनले यदि ईयूले कुनै सम्झौता गर्न अस्वीकार गरेमा ईयू छाडेवापत तिर्नुपर्ने ३९ अर्ब पाउण्ड नतिर्ने चेतावनी दिए । उनले थप २० हजार प्रहरी भर्ना गर्ने घोषणा पनि गरेका छन् । प्रहरी कटौतीका कारण बेलायतमा गम्भीर अपराधका घट्ना बढ्दै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।

उता, निवर्तमान प्रधानमन्त्री मेले विदाई सम्बोधनमा आफ्नो उत्तराधिकारीको राम्रो भाग्यको कामना गरेकी छन् । तर, 
प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भने नयां 
प्रधानमन्त्रीसंग देश चलाउने जनादेश नरहेको भन्दै तत्काल आम चुनाव गराउन आव्हान गरेका छन् ।

विश्व प्रख्यात इटन र अक्सफोर्ड अध्ययन गरेका पूर्व 
विदेशमन्त्री, मेयर एवं राजनीतिक पत्रकार जोन्सनले एकलाख ५९ हजार ३२० टोरी सदस्यहरुमध्ये ६६ प्रतिशत 
(९२, १५३) मत ल्याएर हन्टलाई पराजित गर्दै मंगलबार दलको नेता चुनिएसंगै प्रधानमन्त्री भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री