प्रधानमन्त्री फर्किएको भोलिपल्ट बेलायतले निकाल्यो विज्ञप्ति

प्रधानमन्त्री ओली समकक्षी टेरेजा मेसंग द्विपक्षीय वार्तामा

लन्डन । बेलायतको तीन दिने भ्रमण सकेर प्रधानमन्त्री केपी ओली फ्रान्स पुगेको भोलिपल्ट बेलायतले एक विज्ञप्ति जारी गरेको छ । प्रधानमन्त्री ओलीले समकक्षी टेरेजा मेसंग द्विपक्षीय वार्ता गरेका थिए । बिहीबार परराष्ट्रमन्त्री स्तरमा संयुक्त वक्तव्य जारी भएको हो ।

प्रधानमन्त्रीको संयुक्त अधिराज्य (बेलायत) भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका सेक्रेटरी अफ स्टेट फर फरेन एण्ड कमनवेल्थ अफेयर्स मन्त्री जेरेमी हन्टले संयुक्त वक्तव्य जारी गरेका हुन्।

संयुक्त वक्तव्यमा दुई देशबीचको २०० वर्ष देखि रहंदै आएको सम्बन्ध थप व्यापक, जिवन्त र विविधतामा फैलिंदै गएको उल्लेख छ । यस वर्ष दुई देश साझा उद्देश्य प्राप्तिको प्रगतिमा साक्षी बस्न पाएको भन्दै साझा स्वार्थमा थप सम्बन्धलाई अगाडि बढाउने प्रतिवद्धतासमेत वक्तव्यमा जनाइएको छ ।

बेलायतको विदेश मन्त्रालय (एफसिओ) र नेपालको परराष्ट्र मन्त्रालय बेलायती सेनामा गोर्खाहरुको लामो तथा विशिष्ट सेवाप्रति ज्ञात रहेको भन्दै दुबै देश गोरखा सम्बन्धि विषयमा छलफललाई निरन्तरता दिन सहमति भएका छन्।

दुबै देश नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’ एजेण्डा प्राप्तिका लागि व्यापार तथा लगानी सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको उल्लेख छ । छलफलका क्रममा बेलायत नेपालको ठूलो दातृ राष्ट्र भएकोमा सहमत हुँदै नेपालले लगानीको थप वातावरण बनाउने विषयमा सहमत भएको छ। साथै बेलयतले पनि आफ्ना देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्न सहमत भएको छ।

लगानीलाई सहज बनाउनका लागि दोहोरो कर हटाउने सम्झौतालाई सन् २०२० सम्म पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भएको छ। बेलायतले बेलायती वित्तीय संस्थाहरुसंग काम गर्न चाहेको प्रति स्वागत समेत गरेको छ।

नेपालले दिगो विकास लक्ष्य २०३० प्राप्ति गर्दै निर्धारित समयमा नै अल्पविकसित राष्ट्रबाट माथि उठ्न गरेको प्रयत्नलाई ध्यानमा राख्दै बेलायतको विदेश मन्त्रालयले नेपालको नयां नीति अनुरुप बलियो विकास साझेदारको रुपमा काम गर्न सहमति जनाएको छ।

परराष्ट्र मन्त्रालयले नेपाल सरकारको तर्फबाट २०७२ मा गएको भूकम्प पछिको पुन निर्माणमा डीएफआईडीले पुराएको सहयोग प्रति आभार व्यक्त गरेको छ। त्यस्तै दुबै देशबीच जलवायु परिवर्तनका मुद्दाहरुमा द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा मिलेर काम गर्ने विषयमा सहमति भएको छ।

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदका सदस्यसमेत रहेका दुबै देशले अन्तर्राष्ट्रिय मूल्य र मान्यताहरु अनुरुप मानवअधिकारको रक्षा तथा संरक्षण गर्ने प्रतिवद्धतासमेत गरेका छन्। त्यस्तै दुबै देशहरु मानव तस्करीको समस्या समाधानका लागि ध्यान दिने विषयमा सहमत भएका छन्।

नेपालले महिला तथा बालबालिकाको बेचबिखन सम्बन्धी राष्ट्र संघीय पालेर्मो प्रोटोकल यसै वर्ष अनुमोदन गर्ने लक्ष्य राखेको प्रति बेलायतको विदेश मन्त्रालयले स्वागत गरेको छ। साथै यस मुद्दामा नेपालमा डीएफआइडी संगै मिलेर काम गर्ने सहमतिसमेत भएको वक्तव्यमा उल्लेख छ।

त्यस्तै दुबै पक्ष अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रता प्रति प्रतिवद्धता जनाएका छन्। बेलायत र क्यानडाले यसै वर्ष संयुक्त रुपमा ‘मिडिया फ्रिडम कन्फ्रेन्स’ आयोजना गर्न लागेको जानकारी गराउंदै बेलायतले नेपालको प्रतिनिधित्वको लागि अनुरोध गरेको छ।

त्यस्तै दुबै देश शिक्षा क्षेत्रमा साझेदारी गर्दै अगाडि बढ्ने विषयमा समेत सहमत भएका छन् । बेलायती विश्वविद्यालयले नेपालमा डिग्री प्रदान गर्ने, त्यस्तै चेभेनिङ छात्रवृत्ति कार्यक्रम, बेलायत सरकारको बालिका शिक्षा प्रोजेक्टका विषयमा समेत छलफल भएको थियो । त्यस्तै बेलायतले बेलायती ए लेभल योग्यतालाई आधिकारिक मान्यता दिएको भन्दै नेपालको स्वागत गरेको छ ।

त्यस्तै बेलायत सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको छ। दुबै पक्ष दुबै देशका साझा मुद्दामा भविष्यमा थप मिलेर काम गर्न सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री