बेलायतका नेपाली आफ्नो प्रधानमन्त्रीलाई भेट्न आतुर

प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर – नवीन पौडेल, रासस

लन्डन । नेपालका प्रधानमन्त्री १७ वर्षपछि बेलायत आउने भएपछि यहांको नेपाली समुदाय उत्साहित र आशावादी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका अवसरमा नेपाली डायस्पोरालाई समेत सम्वोधन गर्ने भएकाले उनीहरु आफ्ना कुरा राख्न आतुर छन् । आफ्ना प्रधानमन्त्रीसंग एनआरएनले दोहोरो नागरिकता र भूपू गोर्खाहरुले समान पेन्सन मुद्दा उठाउने बताएका छन् ।

बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा प्रधानमन्त्री ओली बेलायतको तीन दिने भ्रमणका सिलसिलामा आज १० जुन सोमबार लन्डन उत्रने कार्यक्रम छ । तर, मेले गत शुक्रबार दलको नेताबाट राजीनामा दिइसकेकाले उनी यतिखेर कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।  

बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगिसकेको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सघाउने बताउंछन् लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (ओबिइ) ।

‘प्रधानमन्त्री टेरेजा मेले छिट्टै सरकार छाड्न लागेको भए पनि ब्रिटिश सरकारको संयन्त्र भने स्थायी र व्यावसायिक छ । म भ्रमणको स्वागत र सफलताको कामना गर्दछु’, सुवेदीले भने ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रधानमन्त्री ओलीको भ्रमण समस्त बेलायतवासी नेपालीको सौभाग्य र गौरवको विषय भएको बताउंछन् । ‘सम्माननीय प्रधानमन्त्रीले देशमा स्थिरता आएर निर्वाचनद्वारा सवल, सक्षम सरकार निर्वाचित भइसकेपछि २०३ वर्ष भन्दा लामो मैत्रीपूर्ण, सुमधुर, सुदृढ र मित्रवत एवं कुटनीतिक सम्बन्धको सबैभन्दा पुरानो राष्ट्रको भ्रमण गर्दै हुनुहुन्छ’, राजदूतले भने, ‘सार्वभौम, स्थिर, सवल र सक्षम सरकारको प्रतिनिधित्व गरेर बेलायत आउन लाग्नुभएका प्रधानमन्त्रीको स्वागत, सम्मान गरौं । त्यो सम्मान नेपाल, नेपाल सरकार, नेपाली साथै बेलायतको नेपाली समुदायको पनि सम्मान हो ।’

लिभरपुल जोन मोर युनिभर्सिटीका डिन डा. पदम सिम्खडा बेलायतको कानून अनुसार कामचलाउ प्रधानमन्त्रीले महत्वपूर्ण सम्झौता गर्न नपाउने भएकाले यो भ्रमण आपसी सम्बन्ध विस्तारमामात्र केन्द्रित हुने बताउंछन् ।

सिम्खडाले प्रधानमन्त्रीसंग दोहोरो नागरिकता सवालमा एनआरएन ‘फ्रेण्डली’ कानून र नेपालीको हकहित जस्ता विषयमा सकारात्मक सन्देश दिन राम्रो अवसर भएको बताए ।

जेनेभामा आइएलओ सम्मेलन सकेर सोमबार लन्डन आइपुग्ने प्रधानमन्त्री ओलीले आजै सांझ अक्सफोर्ड युनियन र अक्सफोर्ड विश्वविद्यालयको संयुक्त आयोजनामा अक्सफोर्डमा हुने कार्यक्रमलाई सम्वोधन गर्नेछन् ।

बेलायतमा ओलीको भ्रमण तालिका निकै व्यस्त छ । प्रधानमन्त्री ओली र बेलायती राजकुमार हयारी तथा प्रधानमन्त्री टेरेजा मेबीच जुन ११ तारिखमा भेट्ने तयारी छ । ओलीले आन्दोलनरत भूपू गोर्खाहरुको एउटा समूह गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिसंग जुन ११ तारिख बिहान ८.४५ बजे भेट्ने तय भएको छ । समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले प्रधानमन्त्रीसंग आफूहरुले समान पेन्सन मागबारे पहल गरिदिन आग्रह गर्ने बताए । एनआरएनहरुसंग पनि बेग्लै भेटघाट हुनेछ ।

प्रधानमन्त्री ओलीले ११ जुनमा बीबीसीमा अन्तर्वार्ता दिने तालिका छ । त्यसैगरि ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्ट्री युनियन र सर्वदलीय संसदीय समितिको संयुक्त आयोजनामा हुने रिसेप्सनमा पनि प्रधानमन्त्रीको सहभागिता रहनेछ ।

प्रधानमन्त्री ओली आफ्नो सम्मानमा १२ जुन बिहान ८.३० बजे दूतावासले गर्ने रिसेप्सनमा समेत सहभागी हुनेछन् ।

बेलायत सरकारको ‘डिप्लोमेटिक एण्ड प्रोटेक्सन पुलिस’ ले प्रधानमन्त्री आउने दूतावास कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाएको छ । ओलीसंग इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशन (आइएमओ) सेक्रेटरी जनरलसहितका पदाधिकारीले १२ तारिख बिहान भेट्दैछन् । वर्ल्ड इनर्जी काउन्सिल पदाधिकारीहरुसंग पनि भेट तय छ ।

ओली १२ जुनमा रेल चढेर पेरिस जाने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री