बेलायतमा बिरामीले पाउंदैनन् समय


लन्डन – बेलायतमा सरकारी चिकित्सकले बिरामीलाई हेर्ने समय कम भएको बताउंदै बढाउन माग गरेका छन् । उनीहरूले हालको समयमा पांच मिनेट थपेर १५ मिनेट बनाउन भनेका छन् । चिकित्सकहरूका अनुसार रोगहरूको बढ्दो जटिलताका कारण बिरामीलाई हेर्ने हालको समयसीमा कम भएको छ । बेलायतमा एक जना सरकारी चिकित्सकले प्रतिरोगी करिब १० मिनेट दिने गरेका छन् ।

नेपालमा औसतमा दुई मिनेटमा एउटा बिरामीलाई चिकित्सकले हेरिसक्छन् । भारतमा सरकारी चिकित्सकहरूका लागि प्रतिबिरामी २ मिनेट समय रहेको एउटा रिपोर्टमा उल्लेख छ  । ‘रोयल कलेज अफ जनरल प्राक्टिसनर्स (आरसीजीपी) का अनुसार बेलायतमा २००३ पछि प्रतिवर्ष आठ प्रतिशतले दीर्घ रोगीहरूको संख्यामा वृद्धि भएको छ  ।

त्यो अनुपातमा बिरामीहरूलाई समय कम भएको निष्कर्ष चिकित्सकहरूको छ  । यसैलाई ध्यानमा राखेर पछिल्लो वर्षको अक्टोबरमा सरकारले ‘एप्वाइन्टमेन्ट’ को समयसीमाको समीक्षा गरेको थियो । समीक्षा बैठकलगत्तै समय बढाउने सिफारिस गरिएको छ  ।

चिकित्सकसंग बिरामीको समय ५ मिनेट बढाउनुको अर्थ स्वास्थ्य क्षेत्रका झन्डै साढ चार अर्ब रुपैयां खर्चिनुपर्ने हुन्छ । यसबाट करिब २० हजार चिकित्सक र विशेषज्ञहरूको नयां नियुक्ति गर्नुपर्नेछ । क्याम्ब्रिज विश्वविद्यालयको एक शोधअनुसार सन् २०१७ मा बेलायतमा चिकित्सकसंग रोगीको बस्ने औसत समय ९ दशमलब २२ मिनेट छ  । बेलायतका ९२ प्रतिशत चिकित्सकका अनुसार उनीहरूसंग रोगीलाई राम्ररी 
हेर्ने पर्याप्त समय छैन ् ।

विश्वकै आधा जनसंख्या भएका मुलुकमा ५ मिनेटभन्दा कम समय मात्रै चिकित्सकहरूबाट बिरामीले पाउने गरेका छन् । १५ यस्ता मुलुक छन् जहां विश्वका ५० प्रतिशत जनसंख्या बसोबास गर्छन् । त्यहां चिकित्सकबाट प्रतिरोगी पांच मिनेट वा योभन्दा कम समय मात्रै पाउंछन् । कम समय दिनु बिरामीका लागि चिन्ताको विषय हो ।

यसले चिकित्सकमाथि कामको बोझ र तनाव पनि बढाउंछ । यस्तो अवस्थामा रोगीले बढी समय फार्मेसीमा या एन्टिबायोटिक औषधिहरू खानमै बिताउनुपर्ने हुन सक्छ  । यसबाट चिकित्सकसंगको सम्बन्ध पनि राम्रो हुंदैन  । ६७ मुलुकलाई समेटिएर गरिएको अनुसन्धानले यो निष्कर्ष निकालेको हो ।

बेलायतमा सम्पादकीय कार्यालय रहेको र चिकित्सासम्बन्धी सबै खाले अनुसन्धानहरू सार्वजनिक गर्ने ‘बीएमजी जर्नल’ का अनुसार स्विडेनका चिकित्सकले आफ्ना बिरामीलाई सबैभन्दा बढी समय दिने गरेका छन् । त्यहां सर्वाधिक २२ दशमलब ५ मिनेट समय चिकित्सकबाट बिरामीले पाउने गरेको जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ  ।

चिकित्सकबाट सबैभन्दा कम समय बंगलादेशमा बिरामीहरूले पाउंछन् । त्यहां चिकित्सकहरूबाट एक जना बिरामीले ४८ सेकेण्ड मात्रै पाउने प्रतिवेदनमा उल्लेख छ  । अनलाइन जर्नल बीएमजेले सार्वजनिक गरेको रिपोर्टमा नेपालको पछिल्लो तथ्यांक उल्लेख छैन ् ।

तर, सन् १९९३ मा केही अस्पतालमा गरिएको सर्वेक्षणमा बिरामीले चिकित्सकबाट औसतमा ३ दशमलब ५ मिनेट पाउने गरेको उल्लेख छ  । सन् २०१२ मा १ सय ९ वटा स्वास्थ्य केन्द्र, अस्पताल र क्लिनिकमा गरिएको अनुसन्धानमा २ दशमलब ०२ मिनेट उल्लेख छ  । अन्य मुलुकमध्ये अमेरिकामा २१ दशमलब ०७, बुल्गेरियामा २०, रूसमा १७, फ्रान्समा १६ र चीनमा २ मिनेट बिरामीले पाउने गर्छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री