लक्ष्यको यात्रा- सैनिक, व्यापारी देखि उपमेयरसम्म


लन्डन । एक जना भूतपूर्व गोर्खा सैनिक काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित भएपछि अहिले उनलाई बधाइको ओइरो छ ।

लन्डन बरो अफ बार्नेटको मंगलबार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा 
निर्विरोध निर्वाचित गरेपछि एकताकाका ग्रोसरी सप मालिक एवं एनआरएन अभियन्ता लक्ष्यको चर्चा चुलिएको हो ।

बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयां मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो ।

‘मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र बार्नेट काउन्सिलबीच सम्बन्ध बलियो बनाउनु हुनेछ । मैले उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायका लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउनेबारे प्रयास गर्नेछु’-उपमेयर निर्वाचित भएपछि सबैलाई धन्यवाद दिंदै गुरुङले भने- ‘ब्रिटेनको सबैभन्दा ठूलो तथा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन पाउंदा म गौरवान्वित र सम्मानित भएको ठानेको छु ।’

ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् । उनकी श्रीमती शोभा, दुई छोरी र एक छोरा छन् ।

उनी गत वर्ष कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वा्चित भएका थिए । बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पुरयाएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्डबाट सम्मानित पनि भएका थिए ।

सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयर पदमा निर्वाचित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयां नेता चुनिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री