कुनै पनि कार्यक्रममा निर्धारित समयमा पुग्नै पर्ने । विभिन्न कारणवस पुग्न नपाएमा वाकवाक लाग्ने । कस्तो समयको पावन्दीको घेराभित्र अनुशासित ? खै हामी अधिकांशलाई त १ घन्टा ढिलो पुगे पनि वाकवाक लागेन त । सायद समयले नै हामीलाई नचिनेर होला ।
बोलाएको कार्यक्रममा ढिला पुग्दा वाकवाक लाग्ने व्यक्ति हुनुहुन्छ लेखिका तथा सामाजिक अभियन्ता राधा पौडेल पौडेल । उहाँ अहिले अन्तर्रास्ट्रिय नारी दिवसको सिलसिलामा लिभरपुल जोनमूर्स युनिभर्सिटी र बृटिश एकाडेमीको संयुक्त कार्यक्रमको लागि डा सारा पार्करको निमन्त्रणामा बेलायत आउनु भएको छ । उहाँको ‘खलङामा हमला’, ‘जुम्ला’ र नयाँ प्रकाशित ‘अपबित्र रगत’ पुस्तक प्रकाशित छन् । ‘खलंगामा हमला’ पुस्तकबाट उहाँले प्रतिष्ठित मदन पुरस्कार जित्नुभएको छ । पेसाले नर्स र एनजिओमा जागिरे भए पनि उहाँ अहिले सबै जागिर छोडेर पूरै समय स्वम्सेविकाको रुपमा ‘मर्यादित महिनावारीको जिम्मेवारी’ को आवाज उठाउँदै विभिन्न देशमा पुगेर सन्देश विस्तार गर्दै हुनुहुन्छ । दुई विषयमा स्नातकोत्तर गरेकी ‘एक्सन वर्क्स’ नेपालकी संस्थापक अध्यक्ष र हजारौं महिलाको लागि प्रेरणाको श्रोत पनि हुनुहुन्छ उहाँ ।
एक शिक्षित र सक्षम महिला जो टन्न पैसा कमाएर ऐस आरामको जिन्दगी अङ्गाल्नुको सट्टा जुम्ला, मुगु, कालिकोट, कर्णाली भेग र सुदूर पूर्व अथवा दुर्गम क्षेत्रका महिलाहरुको जीवन उत्थानको लागि उहाँ लागिरहनुभएको छ । महिनावारी हुने प्राकृतिक प्रक्रियालाई छाउपडी राख्ने जस्ता कुप्रथा, महिनावारी हुँदा गरिने विभेद विरुद्ध उहाँ संघर्षरत हुनुहुन्छ । महिला र मातृस्वास्थ्यलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा चिन्तित हुनुहुन्छ । महिलाको यो प्राकृतिक समस्यामा पुरुष उत्तिकै जिम्मेवार हुनुपर्ने चासो र जानकारी हुनुपर्छ भनी उहाँ निरन्तर लागि पर्नुभएको छ ।
यस्ती प्रेरणाकी श्रोतलाई मगर संघ युकेको मगर भवनमा अध्यक्ष नेम थापा, मगर महिला संघकी अध्यक्ष छविमाया पुन, गोमा राना, लेख राना, पदम थापालगायत दाजुभाइ दिदीबहिनीहरुले स्वागत गर्ने अवसर मिलेको थियो । सुधा गुरुङले उहाँलाई मगर भवनसम्म ल्याइदिनु भएकोमा वहाँको टिमलाई धेरै धेरै धन्यवाद छ ।
धेरै शिक्षा पाएर हो कि भित्री आँखाको दृष्टिले हो कि के हो सम्मानको खादा एउटा भन्दा अरु खादा लगाउन उहाँलाई लाज लाग्दो रहेछ जबकि यहाँ भने खादा लगाएर फेसबुकमा राख्न पाए के के नै गरे जस्तो आफूलाई महसुस हुने ।
अब भने महिलाहरुको प्राकृतिक प्रक्रियाको बारेमा ‘मर्यादित महिनावारीको’ सन्दर्भमा लुकाएर चुप रहेर नबसौँ यस्को विरुद्ध चेतना जगाउन सबै लागि परौँ जस्ले गर्दा भावी सन्ततिको लागि छाउपडी इतिहासमा मात्रै सीमित रहोस् ।