एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)का दुई समूहले बेलायत भ्रमणमा रहेका कुलमान घिसिङसँग शुक्रबार १५ अगस्टमा छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम गरेका छन् ।

प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले अल्डरसटस्थित एम्पायर हलमा र राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले प्लमस्टेडस्थित गोर्खा क्याप्रिक्रनमा उज्यालो नेपाल अभियानका अभियन्ता घिसिङसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख कार्यक्रम संयोजकसमेत रहेका उपाध्यक्ष अनिल मल्ल (तीर्थ)ले स्वागत मन्तव्य राख्नुभएको थियो । महासचिव जुरेन्द्र खजुमले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रम अध्यक्ष गाहामगर, प्रमुख अतिथि कुलमान घिसिङ, विशेष अतिथि बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा विभाग सदस्य लेप्टेन कर्णेल टोलबहादुर खाम्चा मगरले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रम सुरु हुनुअघि घिसिङ र अध्यक्ष प्रेम गाहामगरले अल्डरसटको प्रिन्सेस गार्डेनमा रहेको प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापामगरको सालिकमा रिथ चढाउनुभएको थियो ।

कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संघ संघहरुका अध्यक्ष तथा प्रतिनिधिलाई प्रमुख अतिथि कुलमान घिसिङबाट मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै एनआरएनए यूकेका प्रमुख संरक्षक, प्रमुख सल्लाहकारहरु र सल्लाहकारहरुलाई समेत खादा, प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालमा लोडसेडिङ अन्त्य, नेपाल विद्युत् प्राधिकरणलाई फाइदामा पुर्‍याएको, उज्यालो नेपाल अभियानलगायत विषयमा बोल्नुभएको थियो । अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले उठाएका प्रश्नको जवाफ घिसिङले दिनुभएको थियो । लेप्टेन कर्णेल टोलबहादुर खाम्चा मगरले कार्यक्रममा गोर्खाली इतिहास र भिजे डेको बारेमा प्रकाश पार्नुभएको थियो ।

अध्यक्ष गाहामगरले उज्यालो नेपालका अभियन्ता घिसिङसँग भेटघाटको कार्यक्रम राख्न पाउँदा खुसी लागेको भन्दै उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

यसैगरी राजेन्द्र नेतृत्वको एनआरएनए यूकेले आयोजना गरेको कार्यक्रममा उज्यालो नेपाल अभियानअन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउँदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोसिसमा देश-विदेशका साथीहरुसँग जोडिएको जानकारी दिनुभयो । उहाँले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेशामा काम गरि रहेकाले नेपालले धेरै फाइदा लिन सक्ने अवस्था रहेको जनाउनुभयो ।

घिसिङले डायस्पोराका नेपालीहरुले नेपालमा बस्ने र लगानी गर्ने कोसिस गर्दा सास्ती खेप्नु परेकाले पुन:विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । सरकारले विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिनु पर्ने उहाँको भनाइ थियो ।

घिसिङलाई फ्लोरबाट प्रवक्ता श्याम लुइँटेल, इ.विदुर घिमिरे, राज पाण्डे, पूर्वमेयर जीत रानाभाटलगायतले प्रश्न गर्नुभएको थियो ।

कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिँदै घिसिङले यो उज्यालो नेपाल एक सामाजिक अभियान भएको बताउनुभयो । ‘म नेपालमा बसेर नेपालकै लागि केही गर्न चाहन्छु त्यसमा लागि रहेको छु । यो अभियानलाई तपाईं सबैको सहयोग आवश्यक छ,’ उहाँले भन्नुभयो ।

यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा.रक्षा थापाले फूल र खादा ओडाएर घिसिङलाई स्वागत गर्नुभएको थियो । एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन एनआरएनए यूकेका पूर्वसचिव तिलक भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए यूके इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष राममाया विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री