हेलिकप्टर दुर्घटनाले गैरआवासीय नेपाली सङ्घ स्तब्ध

काठमाडौं, १६ फागुन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढ्नुभएको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सवार सबैको निधन भएको खबरले गैरआवासीय नेपाली स्तब्ध भएको जनाएको छ ।

सङ्घले दिवङ्गत सबैको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । सङ्घले अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र होनहार युवा नेता गुमाएको जनाएको छ ।

“नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनुभएका अधिकारीसँगको एनआरएनएको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो । पर्यटनमन्त्रीको पद सम्हालेपछि नेपालको पर्यटन प्रवद्र्धनमा लागि उहाँले गर्नुभएको पहल हाम्रा लागि चिरस्मरणीय रहनेछन्”, सङ्घका प्रवक्ता भूषण घिमिरेद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सङ्घले सोही घटनामा परी दिवगङ्त हुनुभएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत सबैको परिवारजनमा यस शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेको छ ।

यसैबीच, नेपाल चेम्बर अफ कमर्शले पनि मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी शेर्पालगायतको दुर्घटनामा परी निधन भएकामा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री