लण्डन । युकेस्थित एक प्रतिष्ठित विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपालको संविधानमा जनतालाई सशक्त बनाउन र प्रजातन्त्रलाई सुरक्षित गर्न प्रशस्त प्रावधान भएको बताएका छन् । लण्डनस्थित अर्को प्रतिष्ठित विश्वविद्यालय लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसइ) मा आयोजित एक प्रवचन कार्यक्रममा सुवेदीले भने, ‘समग्रमा नेपालले राम्रो गरिरहेको छ र प्रजातन्त्रको गोरेटोमा हिँडिरहेको छ ।’
एलएसइको दक्षिण एसिया केन्द्रले आयोजना गरेको ‘नेपालमा संविधानवाद र मानवअधिकार’ विषयक प्रवचनका प्रमुख वक्ता रहेका लिड्स विश्वविद्यालयका प्राध्यापक सुवेदीले नेपालको सन् २००६ को परिवर्तन कुनै राजनैतिक दलको नेतृत्वमा नभई जनताको नेतृत्वमा भएकाले नेपालमा प्रजातन्त्रको भविष्य उज्वल रहेको बताए ।
उनले नेपालको वर्तमान संविधानमा जनताको राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक अधिकारलाई प्रत्याभूत गरिएको र सर्वोच्च अदालतलाई संविधानको व्याख्या गर्ने परम अधिकार दिइएको प्रष्ट पारे । संविधानले न्यायालयको स्वतन्त्रता र संसदको सर्वोच्चताको संरक्षण गरेको पनि उनले उल्लेख गरे ।
मानवअधिकारतर्फ वर्तमान संविधानले जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सम्प्रभूताको अधिकार लगायतका धेरै अधिकार सुरक्षित गरेको प्राध्यापक सुवेदीले बताए । नेपाल पक्ष रहेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिलाई संविधानले सम्बोधन गरेको उनले थपे । संविधानमा केही अधिकारहरु जस्तैः बाँच्न पाउने अधिकार, समानता, व्यक्तिगत स्वतन्त्रता, न्याय, वातावरण, स्वास्थ्य, शिक्षा तथा सँस्कृति, रोजगारी लगायतलाई देशमा संकटकाल लाग्दा पनि निलम्बन नहुने ब्यवस्था गरिएको उनले स्पष्ट पारे ।
केही आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारलाई राज्यको नीति निर्देशक सिद्धान्तभित्र राखिएको र त्यसले सीमान्तकृत समूह र समुदायलाई शिक्षा, स्वास्थ्य, आवास लगायतका कुरामा सशक्तिकरण, संरक्षण र विकासमा सहयोग गरेको उनले बताए । उनले नेपालको संसदमा महिलाको प्रतिनिधित्व दक्षिण एसियामै सर्वाधिक हुनसक्ने दाबी गरे । यस्तै, नेपालको संविधानमा राखिएका मानवअधिकारका प्रावधानहरु दक्षिण एसियाका संविधानहरुमध्ये नै सर्वाधिक हुनसक्ने आँकलन गरे । मानवअधिकारका अन्तर्राष्ट्रिय सन्धिहरु अनुमोदन गर्ने मुलुकहरुमा पनि नेपाल दक्षिण एसियामै अग्रणी रहेको पनि सुवेदीको भनाइ थियो ।
रक्तपात बिना नै गणतन्त्र आउनु, शान्तिप्रक्रियाको जस कुनै अन्तर्राष्ट्रिय संस्थामा नगई देशभित्रकै राजनीतिक दलहरुमै जानु र गत निर्वाचनमा कुनै पनि राजनीतिक दलले धाँधलीको आरोप नलाउनुले नेपालको राजनीतिक घटनाक्रम विश्वमै नौलो भएको उनले बताए । यसैगरी, अहिले नेपालमा राजनीतिक द्वन्द्वको कुनै चाह नदेखिएको, मिडियाले पूर्णरुपमा स्वतन्त्रता पाएको र नागरिक समाजको उपस्थिति हस्तक्षेपकारी देखिएको विश्लेषण पनि उनले गरे ।
नेपालको संक्रमणकाललाई व्यवस्थापन गर्नसक्ने राजनीतिक नेतृत्वको अभाव रहेको उनले बताए । वर्तमान राजनीतिक नेतृत्व दूरदर्शीभन्दा पनि शक्तिमा टाँसिरहन चाहने खालको भएको उनको धारणा थियो । संविधान प्रजातान्त्रिक भए पनि शासन सञ्चालनको सँस्कृति प्रजातान्त्रिक भइनसकेको उनको भनाइ थियो । संविधानतः व्यवस्था गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मानव अधिकार आयोग जस्ता संवैधानिक आयोगहरु निस्क्रिय र कमजोर रहेको उनको निचोड थियो ।
एलएसइ दक्षिण एसिया केन्द्रका उपनिर्देशक डा. निलञ्जन सरकारले सो कार्यक्रमको संयोजन गरेका थिए भने सहभागीहरुले विभिन्न प्रश्न गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा