लण्डन । युकेस्थित एक प्रतिष्ठित विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपालको संविधानमा जनतालाई सशक्त बनाउन र प्रजातन्त्रलाई सुरक्षित गर्न प्रशस्त प्रावधान भएको बताएका छन् । लण्डनस्थित अर्को प्रतिष्ठित विश्वविद्यालय लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसइ) मा आयोजित एक प्रवचन कार्यक्रममा सुवेदीले भने, ‘समग्रमा नेपालले राम्रो गरिरहेको छ र प्रजातन्त्रको गोरेटोमा हिँडिरहेको छ ।’
एलएसइको दक्षिण एसिया केन्द्रले आयोजना गरेको ‘नेपालमा संविधानवाद र मानवअधिकार’ विषयक प्रवचनका प्रमुख वक्ता रहेका लिड्स विश्वविद्यालयका प्राध्यापक सुवेदीले नेपालको सन् २००६ को परिवर्तन कुनै राजनैतिक दलको नेतृत्वमा नभई जनताको नेतृत्वमा भएकाले नेपालमा प्रजातन्त्रको भविष्य उज्वल रहेको बताए ।
उनले नेपालको वर्तमान संविधानमा जनताको राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक अधिकारलाई प्रत्याभूत गरिएको र सर्वोच्च अदालतलाई संविधानको व्याख्या गर्ने परम अधिकार दिइएको प्रष्ट पारे । संविधानले न्यायालयको स्वतन्त्रता र संसदको सर्वोच्चताको संरक्षण गरेको पनि उनले उल्लेख गरे ।
मानवअधिकारतर्फ वर्तमान संविधानले जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सम्प्रभूताको अधिकार लगायतका धेरै अधिकार सुरक्षित गरेको प्राध्यापक सुवेदीले बताए । नेपाल पक्ष रहेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिलाई संविधानले सम्बोधन गरेको उनले थपे । संविधानमा केही अधिकारहरु जस्तैः बाँच्न पाउने अधिकार, समानता, व्यक्तिगत स्वतन्त्रता, न्याय, वातावरण, स्वास्थ्य, शिक्षा तथा सँस्कृति, रोजगारी लगायतलाई देशमा संकटकाल लाग्दा पनि निलम्बन नहुने ब्यवस्था गरिएको उनले स्पष्ट पारे ।
केही आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारलाई राज्यको नीति निर्देशक सिद्धान्तभित्र राखिएको र त्यसले सीमान्तकृत समूह र समुदायलाई शिक्षा, स्वास्थ्य, आवास लगायतका कुरामा सशक्तिकरण, संरक्षण र विकासमा सहयोग गरेको उनले बताए । उनले नेपालको संसदमा महिलाको प्रतिनिधित्व दक्षिण एसियामै सर्वाधिक हुनसक्ने दाबी गरे । यस्तै, नेपालको संविधानमा राखिएका मानवअधिकारका प्रावधानहरु दक्षिण एसियाका संविधानहरुमध्ये नै सर्वाधिक हुनसक्ने आँकलन गरे । मानवअधिकारका अन्तर्राष्ट्रिय सन्धिहरु अनुमोदन गर्ने मुलुकहरुमा पनि नेपाल दक्षिण एसियामै अग्रणी रहेको पनि सुवेदीको भनाइ थियो ।
रक्तपात बिना नै गणतन्त्र आउनु, शान्तिप्रक्रियाको जस कुनै अन्तर्राष्ट्रिय संस्थामा नगई देशभित्रकै राजनीतिक दलहरुमै जानु र गत निर्वाचनमा कुनै पनि राजनीतिक दलले धाँधलीको आरोप नलाउनुले नेपालको राजनीतिक घटनाक्रम विश्वमै नौलो भएको उनले बताए । यसैगरी, अहिले नेपालमा राजनीतिक द्वन्द्वको कुनै चाह नदेखिएको, मिडियाले पूर्णरुपमा स्वतन्त्रता पाएको र नागरिक समाजको उपस्थिति हस्तक्षेपकारी देखिएको विश्लेषण पनि उनले गरे ।
नेपालको संक्रमणकाललाई व्यवस्थापन गर्नसक्ने राजनीतिक नेतृत्वको अभाव रहेको उनले बताए । वर्तमान राजनीतिक नेतृत्व दूरदर्शीभन्दा पनि शक्तिमा टाँसिरहन चाहने खालको भएको उनको धारणा थियो । संविधान प्रजातान्त्रिक भए पनि शासन सञ्चालनको सँस्कृति प्रजातान्त्रिक भइनसकेको उनको भनाइ थियो । संविधानतः व्यवस्था गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मानव अधिकार आयोग जस्ता संवैधानिक आयोगहरु निस्क्रिय र कमजोर रहेको उनको निचोड थियो ।
एलएसइ दक्षिण एसिया केन्द्रका उपनिर्देशक डा. निलञ्जन सरकारले सो कार्यक्रमको संयोजन गरेका थिए भने सहभागीहरुले विभिन्न प्रश्न गरेका थिए ।
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन