तमुधिं युकेद्वारा धादिङको खादिङमा निर्मित विद्यालय भवन उद्घाटन

लण्डन । धादिङ जिल्लाको दुर्गम क्षेत्र रुबी भ्याली गाउपालिका वडा नं. ६, खादिङमा तमुधिं युकेद्वारा निर्मित विद्यालय भवनको बुधवार उद्घाटन गरिएको छ । 

२०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भई खुल्ला मैदानमा पठनपाठन गर्न बाध्य खादिङस्थित हिमालय सरस्वती आधारभुत विद्यालयमा तमुधिं युकेले पाहार ट्रष्ट नेपालको प्राविधिक र स्थानीयको जनश्रमदानको सहयोगमा निर्मित ५ कोठे विद्यालय भवन उद्घाटन गरिएको हो । 

६० लाख ३५ हजार ५११ रुपैयामा निर्मित भवन उद्घाटन प्रमुख अतिथि तमुधिं युके अध्यक्ष ज्ञामबहादुर गुरुङ र विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले शिलालेख अनावरण गरी भवन उद्घाटन गरेका  थिए । 

भवन उद्घाटनमा तमुधिं युकेका निवर्तमान अध्यक्ष तथा भवन निर्माण संयोजक रामचन्द्र (सुर्जे) गुरुङ, तमुधिं युकेका नवर्निर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, नवर्निर्वाचित उपाध्यक्ष हरी गुरुङ, नवनिर्वाचित उपाध्यक्ष जुमकाजी गुरुङ, कोषाध्यक्ष दीपक गुरुङ, कार्यकारिणी सदस्य श्रीप्रसाद गुरुङ, सदस्य भिम गुरुङ लगायतले साथ दिएका थिए । उक्त भवनको २०७५ साल बैशाख १२ गते अध्यक्ष ज्ञाम गुरुङ र संयोजक सुर्जे रामचन्द्र गुरूङले शिलान्यास गरेका थिए ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि तमुधिं युकेले युकेमा च्यारिटी गरी संकलित ५० लाख रुपैया, पहार ट्रष्टको प्राविधिक सहयोग र स्थानियको ९ लाख बराबरको श्रमदानसहित करिब ६० लाख ३५ हजार ५११ रुपैयामा उक्त विद्यालय भवन निर्माण भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङले भुकम्प प्रभावित अति दुर्गम क्षेत्र खादिङमा विद्यालय निर्माण गरी सेवा पुर्याउन पाउदा अत्यन्तै खुशी भएको बताए । विद्यालयमा अझै आवश्यक थप ४ कोठाका लागि रोटरी क्लव अफ युकेसँग सहयोगको पहल गरिएको जानकारी पनि उनले दिए । उनले हिमालय सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत दिलाल गुरुङलाई आगामी वर्षदेखि तमु साँस्कृतिक प्रतिष्ठानसँग समन्वय गरी छात्रवृति उपलब्ध गराउन पहल गर्ने पनि बताए ।

विशेष अतिथि पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले खादिङमा तमुधिं युकेसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । पाहार ट्रष्टको उद्देश्य र कार्यक्रमसँगै मिल्ने योजना भएकाले तमुधिं र स्थानीयसँग आफूहरु जोडिएको उनको भनाई थियो । २०७२ सालको भूकम्पपश्चात पाहार ट्रष्टले खादिङमा १ हजार बोरा चामल र २ सय किलो नुन राहत स्वरुप सहयोग गरेको समेत उनले जानकारी दिए । 

तमुधिं युकेका निवर्तमान अध्यक्ष तथा विद्यालय भवन निर्माण संयोजक रामचन्द्र (सुर्जे) गुरुङले अति आवश्यक गाँउमा विद्यालय भवन निर्माण गर्न पाउंदा खुशी व्यक्त गरे । 

विद्यालयलाई गुणस्तरीय शिक्षाका लागि १८ वटा ल्यापटप हस्तान्तरण गर्दै डिस्कभरी वल्ड ट्रेकिङका मिलन गुरुङले तमुधिं युके र पाहार ट्रष्टको सहयोगले दुर्गम गाँउमा पनि धादिङबेसीको भन्दा राम्रो भवनमा गाँउका विद्यार्थीले पढ्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

रुबी भ्याली गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष नरमान गुरुङले शुभकामना व्यक्त गर्दै तमुधिं र पाहार ट्रष्टलाई सहयोगका लागि धन्यवाद दिए । 

कार्यक्रममा विद्यालय कार्यालयका लागि प्रमुख अतिथि तमुधिं युकेका अध्यक्ष गुरुङले १ थान ल्यापटप हस्तान्तरण गरे भने टलक गुरुङले पठाएको २ वटा भलिवल र १ थान भलिबल नेट विद्यालयका प्रधानाध्यापक गंगाराम तामाङलाई हस्तान्तरण गरे । 

तमुधिं युकेले भवन निर्माणका लागि विशेष सहयोग गरेको भन्दै पाहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङ, प्रधानाध्यापक गंगाराम तामाङ, वडा अध्यक्ष नरमान गुरुङ लगायतलाई सम्मानपत्र, मायाको चिनो सहित सम्मान गरेको थियो ।

भवन निर्माण हेरेका पाहार ट्रष्टका इञ्जिनियर नरेन्द्र नेपाली, कर्मचारी चन्द्र घले, खादिङ पुरयाउने पाइलटहरु एरिक र सविन लामालाई समेत खादा लगाइ सम्मान गरिएको थियो । 

त्यस्तै पाहार ट्रष्ट नेपालले पनि तमुधिं युकेसहित विशेष सहयोगीहरुलाई सम्मान र मायाको चिनो प्रदान गरेको थियो । विद्यालयको तर्फबाट पनि तमुधिं युके, पाहार ट्रष्ट लगायत अतिथिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङले विद्यालय भवन निर्माण गरिदिने तमु धिं युके र पाहार ट्रष्ट नेपाललाई धन्यवाद व्यक्त गर्दै विद्यालयका लागि अझै थप ४ कोठा आवश्यक भएकाले सहयोगको आग्रह गरे । 

प्रधानाध्यापक गंगाराम तामाङ र विद्यार्थी दिलाल गुरुङले खुल्ला आकाश मुनि बसेर पठन पाठन गर्न बाध्य भइरहदा तमुधिं र पाहार ट्रष्टको सहयोग खादिङबासीले कहिल्यै नविर्सने भन्दै आभार व्यक्त गरेका थिए । 

कक्षा ८ सम्म अध्यापन हुने हिमालय सरस्वती आधारभुत विद्यालयमा १५६ जना विद्यार्थी, ९ जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेको शिक्षक निर गुरुङले जानकारी दिए ।

अतिथिहरुलाई स्थानीय पाइथान देवी आमा समूहले फुलमाला र विद्यालयका विद्यार्थीहरु नृत्यसहित स्वागत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री