तमु समाज युकेको देउसी भैलो

लण्डन । तमु समाज युकेले बिगत झैं यस बर्षपनि नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसरमा लण्डनमा देउसी भैलो कार्यक्रम गरेको छ । गत ८ नोभेम्बर २०१८ (गोवर्धन पुजा) का दिन आफ्नै कम्युनिटी सेन्टर बरहाम पार्क, वेम्बलीमा कार्यक्रम भएको हो ।

प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्ताहरुमा स्वर्णिम संस्कृतिको सकरात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्यहरु तथा शुभचिन्तकहरुवीच पारस्परिक सम्बन्ध सबल, प्रगाढ र सुमधुर बनाउनुको साथै तमु समाज युकेको वहुउद्देश्यीय समाजिक भवन खरिद परियोजनाका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्य लिई गरिएको देउसी भैलो कार्यक्रममा सबैले दिल खोलेर दान दिए। 

समय अभावका कारण भैलरीहरु सबैको घर घर जान सम्भव नभएपनि फुर्सद भएका सबै सदस्य र शुभचिन्तकहरु सामूहिकरुपमा आफ्नै कम्युनिटी सेन्टरमा भेला भएर धैरैले आर्थिक सहयोग गरेका थिए । 

विविध कारण कार्यक्रममा सहभागी बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तकहरुले उदार भाव देखाइ अनलाइन बैंकिङबाट पनि रकम दिएर सहयोग गरेका थिए । दान दिने सदस्य तथा शुभचिन्तकहरुलाई तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले धन्यबाद सहित तिहारको शुभकामना कार्ड प्रदान गरेकी थिइन् ।

आफ्नो समाजको ‘पवित्र उद्देश्यका निम्ति सकेको सहयोग गरौं’ भन्ने भावनाबाट उत्प्रेरित सबैको स्वस्फूर्त सहभागिता, सहयोग र योगदानले नै बिगतका बर्षहरुझैं यस पटक पनि उल्लेख्य दान रकम संकलन गर्न समाज सफल भएको छ। यसले समाजका सदस्यहरु र शुभचिन्तकहरु बिचको पारसपरिक समझदारी, लगनसिलता र दरिलो एकता प्रतिबिम्बित गरेको समाजको बुझाइ छ ।

तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा महासचिव हर्कबहादुर गुरुङले संचालन गरेको देउसी भैलो कार्यक्रममा मुलत सदस्य, आमा समूहका आमाहरु, जेष्ठ नागरिक तथा दिदीबहिनीहरु जातिय पहिरनमा सजिएर सकृय सहभागिता जनाएका थिए । 

समाजका अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र जेष्ठ नागरिक टुल्की गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि आरम्भ गरेको कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्ब अध्यक्ष शिवशरण गुरुङ र निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङको विशेस उपस्थिति थियो ।

उक्त कार्यक्रममा हाल बेलायतमा रहेकी लोकप्रिय गायिका कला लम्साललाई स्वागत, सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । सम्मान कार्यक्रमपछि गायिका लम्सालले विविध गीत प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरन्जन गराइन् । 

दिउसो ४ बजे आरम्भ भै बेलुका ११ बजे अन्त भएको देउसी भैलो कार्यक्रममा आमा समूहको संयोजनमा स्वस्फुर्तरुपले विभिन्न सदस्यबाट प्रायोजन गरिएका थुप्रै परिकारको स्वदिस्ट खाना र पेय पदार्थ निशुल्क उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री