यती च्यारिटी नोभेम्बरमा, ९ डिसेम्बरका दिन अधिवेशन

लन्डन । युरोपकै सबैभन्दा पुरानो संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को अधिवेशन आगामी ९ डिसेम्वर २०१८ मा हुने भएको छ । लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा अधिवेशन हुने भएको हो ।

अधिवेशनका लागि गैर आवासीय नेपाली संघ बेलायतका महासचिव राजकुमार त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । केही समय अघि सम्पन्न कार्यसमिति बैठकले निर्वाचन समिति गठन गरेको महासचिव बाचस्पति रेग्मीले जनाए । नयां कार्यसमिति चयनका लागि एक सदस्यमा सिद्धार्थबिक्रम क्षेत्री र अर्को सदस्य संयोजक त्रिपाठीले नै मनोनित गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ ।

निर्वाचन समितिले निकट भविष्यमै यती कार्यसमितिसंग छलफल गरी निर्वाचन कार्यतालिका प्रकाशित गर्ने निर्वाचन संयोजक आरके त्रिपाठीले बताए । उनले यतीको सदस्यता लिन पनि अनुरोध गरेका छन् ।

यसैबीच, यतीले १७ नोभेम्वर २०१८ शनिबार एक च्यारिटी 
गर्ने तयारी गरेको छ । गैर आवासीय नेपाली संघ बेलायतको सहकार्यमा ‘अंध्यारोबाट उज्यालोतर्फ’ शीर्षकमा मानव जीवन संरक्षण मञ्चको सहयोगार्थ च्यारिटी हुन लागेको हो । उक्त कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथी र बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी विशेष अतिथी हुनेछन् ।

च्यारिटी सफल बनाउन यती नेपाली एसोसिएसन यूकेका तर्फबाट पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा ध्रुव केसी, योगकुमार फगामी, राजकुमार त्रिपाठी, चित्रबहादुर गुरुङ, राजु थापा, सिद्धार्थ बिक्रम क्षेत्री, शशीधर नेपाल, बाचस्पति रेग्मी र आरती श्रेष्ठ सम्मिलित एक तयारी समिति बनाइएको यती अध्यक्ष शशीधर नेपालले जानकारी दिए ।

यतीले च्यारिटी र अधिवेशन दुवैमा उत्साहजनक सहभागिताका लागि आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री