लण्डन पशुपतिनाथ मन्दिरमा दशैं टीका कार्यक्रम

लण्डन । साउथ इष्ट लन्डन, प्लमस्टेडमा अवस्थित युरोपकै पहिलो पशुपतिनाथ मन्दिरमा शुक्रबार दशैं टीका कार्यक्रम भएको छ ।

पण्डित निलहरि घिमिरे र ददिराम काफ्लेले भक्तजनहरुलाई टीका र जमरा प्रदान गरेका हुन् । पण्डित निलहरी घिमिरे, मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा, निवर्तमान अध्यक्ष बालजङ्ग अर्याल र वर्तमान अध्यक्ष सहदेव गिरी लगायत मन्दिर समितिका व्यक्तिहरुबाट विधि पूर्वक दुर्गादेवी पूजा गरी टीकाको शुरुवात गरिएको पण्डित घिमिरले जानकारी दिए ।

बिहान ९. १५ को शुभ साइतबाट टीका लगाउन शुरु गरिएको थियो । मन्दिरमै राखिएको जमरा र टीका लगाउन पाउंदा सहभागी हर्षित देखिन्थे । उनीहरुले विदेशमा समेत यस्तो परम्परा कायम गरिनु प्रशंसनीय बताए ।

मन्दिर व्यवस्थापनले स्थापनाकालदेखि नै मन्दिरमा टीका लगाउने परम्परा शुरु गरेको हो । मन्दिरले पूर्णिमासम्म हरेक दिन बिहान ११ बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म टीका कार्यक्रम कायम रहने जनाएको छ ।

टीका कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्यहरु श्रीमती सरिता पौडेल, तारा भट्टराई लगायतले सहयोग गरेका थिए ।

केही वर्ष यता मन्दिर व्यवस्थापन समितिका केही कमी कमजोरी र बेला बखत उब्जने ट्रष्टीहरु बीचको विवादले गर्दा पूर्णतया भक्तजनहरुलाई मन्दिरप्रति आकर्षित गर्न भने सकेको छैन । 

कतिपय स्थानीय वासिन्दालाई नेपालीद्वारा स्थापित यस मन्दिर कुन स्थानमा छ भन्ने समेत थाहा छैन जसकारण मन्दिरमा दर्शन गर्ने र टीका थाप्नेहरुको संख्या न्यून  देखिन्थ्यो ।

फोटो-श्री द्वारे 

प्रतिक्रिया

सम्बन्धित सामाग्री