गैर आवासीय नेपालीको लगानी र सीप मुलुकका लागि आवश्यक -मन्त्री बस्नेत


लन्डन । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले गैरआवासीय नेपालीको लगानी, ज्ञान र सीप मुलुकको सम्बृद्धिको लागि आवश्यक रहेको बताएका छन् । पूर्व एमाले र माओवादी केन्द्रका भातृसंगठनद्वारा संयुक्त रुपमा आयोजित अन्तर्क्रियामा नेपाल सरकारका मन्त्री बस्नेतले उक्त धारणा राखेका हुन् ।

बजारमा हल्ला गरेजस्तो सरकार निकम्मा नभएको दावी गर्दै मन्त्री बस्नेतले संघीयता कार्यान्वयनमा जाँदा केही काम गर्न ढिला भएको स्वीकार गरे । प्रवासीसँग निरन्तर सम्पर्कमा रहँदै नेपाल सरकारले यहाँका ज्ञान र सीपलाई मुलुकमा सुहाउने गरी लागु गर्ने उनले जनाए ।
मन्त्री बस्नेतले प्रवासी नेपालीलाई नागरिकताको हक सुरक्षित गर्न कानुन निर्माण भैरहेको जानकारी समेत दिए । उनले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि पनि सरकारले पहल गरिरहेको दावी गरे । प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपाल सरकारले हरेक क्षेत्रमा सिस्टम विकास गर्नु पर्नेमा जोड दिए । उनले ‘सिस्टम’ ले काम गर्ने परिपाटी बसाले बेथिति हट्दै जाने र विकासले गति समात्ने बताए ।

जनप्रतिशील मञ्च युके अध्यक्ष सुरेश गौतमले नेपाल कम्युनिस्ट पार्टीको संगठन हाँक्ने योग्य नेतृत्व चाहिएको बताए ।
जनप्रगतिशील मञ्चका पूर्व इन्चार्ज पूर्ण लोक्समले सरकारले सम्बृद्धि हासिल गर्न ग्रामीण भेगका जडिवुटी उत्पादनमा जोड दिए । प्रवासी नेपाली मञ्चका महासचिव विजय लिङदेनले स्वागत गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका यूकेमा रहेका नेता तथा कार्यक्रर्ताले सम्बृद्ध नेपालका लागि सहयोग गर्न प्रवासी तयार रहेको सुझाव दिएका थिए ।

यसअघि मन्त्री बस्नेतलाई खादाले स्वागत गरिएको थियो । यसैबीच, मञ्चका अध्यक्ष पुडासैनी र पूर्व इन्चार्ज लोक्समले कार्ल मार्क्सको समाधिस्थल भ्रमण गराएका थिए । मन्त्री बस्नेत वन तथा वातावरण मन्त्रालयको एक गोष्ठीमा भाग लिन तीन दिनअघि बेलायत आएका थिए । उनी आइतवार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री