क्षणभंगुर भोगहरू

अघि भर्खर हाँसिरहेको उ
अहिले नै छैन
कस्तो योजना हो हामीले बनाएको
कसरी निश्चिन्त रह्यौ हामी-
सोच्यौ-
‘बाहिर निस्केको श्वास भित्र पस्नेछ
भित्रको प्यारो ‘म’ ढुक्कले बस्नेछ ।’

क्षण भरको छाँया जस्तो जीवन
तर यो आकांक्षा
अजरामरको सोख-बीणा जस्तो
बजिरहेछ हरपल
लोभको भाउ निरन्तर बढिरहेछ
मात्र आयुको उचाई घटिरहेछ ।

देखेर पनि जीवन चेत खै ?
कति लामो हो भोगको लम्बाई
कति अग्लो हो सौखको उचाई
भोगले नै पो भोगिरहेछ हरपल
के भोगियो र भोगलाई ?

जीवन तिरेर मृत्यु किन्नुमा कस्तो मजा मनाउँछौ हामी?
क्षणभंगुर जीवनमा कति लूतो कनाउँछौ हामी?
रोग शोक नभए पो भोग्नुको अर्थ
मरिजानेको नसकिने तृष्णा हो व्यर्थ ।

अघि भर्खर हाँसेको मुहार
हेर्दाहेर्दै मलिन बनिसक्यो
त्यो म्लान अनुहार हेरेर
समयले दलिन गनिसक्यो ।

कस्तो अहं हो पुतलीको
बत्तीमा परेर डढ्नु अघिको
कस्तो अलमस्ती हो बरै
मरेर जानेको भोगप्रतिको ?

३० सेप्टेम्बर २०१२ लण्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री