लण्डन । नेपथ्य तेश्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ । पाँच वर्षअघि वेम्ब्ली एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ ।
यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो । ब्याण्डले यसै सेप्टेम्बर १ तारिख (भदौ १६ गते) का दिन बेलायतमा प्रदर्शनको तयारी सुरु गरिसकेको छ ।
‘सन् २०१५ मा दोश्रोपटक नेपथ्यले आफूलाई प्रस्तुत गर्दा सबै हिसाबले ब्याण्डका निम्ति त्यसलाई अनुकूल देखिएकोले फेरि त्यसै स्थललाई रोजेका हौं’- ब्याण्डलाई प्रवर्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।
कार्यक्रमका निम्ति ओ टु एकेडेमीले पहिलेजस्तै अनलाइन बुकिङको समेत ब्यवस्था गरेको छ ।
त्यस हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुले आफूलाई उभ्याएर प्रस्तुत गरिसकेका छन् । त्यसैगरि विश्वप्रसिद्ध नामहरु एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता अरु थुप्रै नामहरु ओ टु एकेडेमीसँग जोडिएका छन् ।
दुईसय वर्षअघि नेपालसँग सबैभन्दा पहिलो दौत्य सम्वन्ध स्थापना गर्ने बेलायत नेपालसँग सामाजिक, आर्थिक र साँस्कृतिक हिसाबले नजिक छ । लाहुरे दाजुभाइहरुले दुईवटै विश्वयुद्धमा बेलायतका तर्फबाट लडेका थिए । बेलायती गोर्खा सेनाले आज पनि अटुट रुपले विश्वभर मानवताको सेवा गरिरहेकै छ । पछिल्लो समय उनीहरुमध्ये धेरै सपरिवार कर्मभूमिमा बसोबास गर्दै आएका छन् ।
त्यसैगरि शैक्षिक अवसरदेखि लिएर विभिन्न व्यावसायका हिसाबले बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बढ्दो छ ।
यसरी विदेशिनेहरुले आफूसँगै आफ्नो भाषा, भेष र पहिचान बोकेर जाने गर्छन् । नेपाली लोकगीतलाई नयाँ पुस्ताका श्रोतासँग जोड्दै आएको नेपथ्यले बेलायतमा सदैव न्यानो स्वागत पाउँदै आएको छ ।
‘हामीले घरबाट टाढा पुगेकाहरुलाई घरको माया बोकेर लगिदिने गरेका छौं’- नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ । ‘हामी नेपथ्यको नयाँ अल्बमको काममा अहिले पनि तल्लीन छौं’- अमृतले थपे, ‘लण्डनमा नेपथ्यका सर्वकालीक हिट गीतहरुका साथमा केहि नयाँ गीतहरु पनि पक्कै सुनाउने छौं ।’
बेलायतको शोलाई यसपटक ‘देब्रे इभेन्ट्स्’ का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन् ।
सँधै झैँ यसपटक पनि लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न