‘धरोहर’ लिएर आए पारस

गायक पारस नेपाल

काठमाडौं- व्यवसायिकता र मनोरञ्जनका नाममा नेपाली संगीतमा अचेल बेथिति भित्रिइरहेको गम्भीर खाले गुनासो 
संगीतपारखीहरूको रहंदै आएको छ । नेपाली जातिलाई र नेपालित्वलाई विस्तार गर्ने, यसको जड गहिरो बनाउनेमध्येको एउटा विषय संगीत अर्थोपार्जनको माध्यम मात्रै भयो भन्दै उनीहरूले चित्त दुखाउने गरेका छन् । यो पृष्ठभूमिमा गायक पारस नेपाल कर्णप्रिय कोसेलीसहित आएका छन् ।

राष्ट्रभाव र भाइचाराका गीत कम निस्किरहेका बेला पारसले ‘धरोहर’ श्रोतामाझ ल्याएका हुन् । यो उनको पहिलो गीति एल्बम हो ।
केही वर्षदेखि फाट्टफुट्ट गीत रेकर्ड गर्दै आएका उनले यो एल्बममा पनि देश र जीवनजगतकै सिर्जना समेटेका छन् । यसमा पांच गीत छन्- ‘कस्तो हुन्थ्यो,’ ‘गर्मी भयो रे भन्छन्,’ ‘दायांबायां बेथिति छ,’ ‘सबै भन्छन् तिमीलाई तिमी मान्छे ठूलो’ र ‘तिमीले टेक्ने माटो उही ।’  राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको ‘कस्तो हुन्थ्यो’ गीतमा गांस, बास र कपासको सन्दर्भ कोट्टयाउंदै भ्रातृप्रेम दर्साइएको छ ।

लोकप्रिय कवि-गीतकार क्षेत्रप्रताप अधिकारी लिखित ‘गर्मी भयो रे भन्छन्’ मा रोजगारी वा अन्य कारणले विदेशमा रहेका, विशेषतः खाडी मुलुकमा रहेका नेपालीहरूको राष्ट्रप्रतिको चिन्तालाई अभिव्यक्त गरिएको छ । ‘दायांबायां बेथिति छ’ आर्किटेक्ट अमन मास्केले लेखेका हुन्, जसमा जसले जे जान्दछ, त्यही काम नगरिदिनाले नेपालको बेहाल भएको उल्लेख छ ।

वरिष्ठ कवि-गीतकार दिनेश अधिकारीको ‘सबै भन्छन् तिमीलाई’ गीतमा आफूलाई ठूलाठालु सम्झिनेहरूप्रति व्यंग्य गरिएको छ । कवि-कथाकार फूलमान वल लिखित ‘तिमीले टेक्ने माटो उही’ मा नेपाल सबै जाति र धर्मको फूलबारी रहेको उल्लेखसहित जातीय सद्भावलाई स्वर दिइएको छ । यी सबै गीत जुगल डंगोलले संगीतबद्ध र एरेन्जमेन्ट गरेका हुन् ।

‘आफैं भाषासाहित्यको पनि विद्यार्थी रहेकाले गीत छनोटमा मैले कुनै सम्झौता गरेको छैन,’ पुस्तक सम्पादकसमेत रहेका पारसले भने, ‘यी गीत सुन्दा तपाईंले अर्थपूर्ण कविता सुनेको आनन्द पनि पाउन सक्नुहुन्छ । खांट्टी नेपाली पाराको संगीतमा मैले उत्तिकै मन दिएर गाएको छु ।’

वरिष्ठ गायक प्रेमध्वज प्रधानले पारसका गीतहरूले आफूलाई पुराना दिनको शैली सम्झाएको बताएका छन् । ‘यो एल्बममा हाम्रो पालाको जस्तै आधुनिक गीत शैलीका सिर्जना छन्,’ उनले भनेका छन्, ‘पारस भाइको स्वर मीठो छ । सस्टेन नोट र मिडमा राम्रो सुनिने रहेछ । उहां पत्रकार भए पनि गायनलाई निरन्तरता दिन म सुझाव दिन्छु ।’

वरिष्ठ साहित्यकार प्रा. अभि सुवेदीले ‘धरोहर’ का गीत सुनेर आफूलाई प्रेरणा जागेको टिप्पणी गरेका छन् । ‘भावनाभित्रको अभिव्यञ्जना समाउंदै भित्रै पसेर गाउन सक्ने सामथ्र्य पारसको स्वरमा पाएं,’ उनले भनेका छन्, ‘उनले यो शैलीलाई अझ व्यापक बनाउनु आवश्यक छ । उनको स्वरमा डाइमेन्सन छ । उनले कविता नै गाइदिएका छन् । गीतहरू सुनिरहन मन लाग्ने गरी बनेका छन् ।’

पारसका अनुसार, ‘कस्तो हुन्थ्यो’ गीतको भिडियो पनि बनेको छ, जसलाई युट्युबमा हेर्न सकिन्छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।

कान्तिपुर दैनिकमा कार्यरत पारस यसअघि आफ्नै रचनाको ‘नालापानी कालापानी’ गीतसहित श्रोतामाझ आएका थिए ।

‘कस्तो हुन्थ्यो’ गीतको म्युजिक भिडियो लिंक…

प्रतिक्रिया

सम्बन्धित सामाग्री