भानुजयन्तीका अवसरमा प्रभातफेरी

नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा आदिकवि भानुभक्तको २०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली । साथमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीलगायत । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, २९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘सांस्कृतिक अस्मिताका प्रतीक – तुलसीदास र भानुभक्त’ को विमोचन तथा भानु जयन्तीमा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गर्नुभयो ।

कोलकत्तास्थित आनन्द प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक डा सत्यप्रकाश तिवारीले हिन्दीमा सम्पादन तथा राजेन्द्रप्रसाद उपाध्याय ढकालले नेपालीमा अनुवाद गर्नुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भानु जयन्तीका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको भौगोलिक एकीकरण गरेका पृथ्वीनारायण शाह र भाषाका माध्यमबाट भावनात्मकरुपमा देशलाई एकता गर्ने भानुभक्तलाई सबै नेपालीले सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

भानु प्रतिष्ठानका अध्यक्ष व्रत्तराज आचार्यले भानुभक्तको जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

आदिकवि भानुभक्तको २०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँको कमलादीमा आयाजित प्रभातफेरीमा सहभागी विद्यार्थी । तस्बिर – रोशन सापकोटा, रासस

भानु घाँसीको शालिकमा माल्यार्पण

दमौली, २९ असार – आदिकवि भानुभक्त आचार्यको २०५औं जन्म जयन्तीका अवसरमा भानु घाँसी स्मारक पार्क संरक्षण समिति तनहुँले आज घाँसी कुवामा प्रवचन कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा सहभागीले भानु र घाँसीको शालिकमा माल्यार्पण गरेका थिए । उनीहरुले भानुभक्तको योगदान अहिले पनि त्यतिकै महत्वपूर्ण रहेको बताएका थिए ।

राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नपाका प्रमुख वैकुण्ठ न्यौपाने, संरक्षण समितिका अध्यक्ष तीर्थराज भट्टराई लगायतकाले भानु र घाँसीको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

विसं २०५ औं भानुजयन्तीकै अवसरमा आज चुदी रम्घामा प्रभातफेरी गरिएको छ । कवि एवं साहित्यकारहरुले भानुप्रति श्रद्धा सुमन व्यक्त गर्दै कविता वाचन गरेका थिए ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले दमौलीमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा दुई दर्जनभन्दा बढी साहित्यकारले भाग लिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले बताउनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री