एनआरएनए यूके अपांगता सहयोगार्थ च्यारिटी गर्दै

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले अपांगता भएकाहरुको सहयोगका लागि विशेष च्यारिटी गर्ने भएको छ । च्यारिटी बक्सिङ भएको ६ महिना नबित्दै एनआरएनए यूके च्यारिटी विभागले सेप्टेम्बर १ तारिखका दिन अल्डरसटको एम्पायर हलमा ‘डिसएबिलीटी एड च्यारिटी’ गर्न लागेको हो ।

एनआरएनए यूकेले शुक्रबार सांझ अल्डरसटस्थित भेटघाट 
रेष्टुरेण्टमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे 
जानकारी गराएको छ ।

६ सय जना सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमबाट झण्डै १४ हजार पाउण्डको कोष संकलन गर्ने लक्ष्य छ । कार्यक्रममा सहभागिताका लागि ४० पाउण्डको टिकट लाग्ने आयोजकले बताएका छन् ।

उक्त कार्यक्रममा गोर्खाली चेलीका रुपमा परिचित चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले र बेलायतको प्रतिष्ठित 
ग्यालन्ट्री क्रसबाट सम्मानित गोर्खा सैनिक दीपप्रसाद पुनलाई विशेष अतिथीका रुपमा आमन्त्रण गरिएको छ । च्यारिटी नाइटमा विभिन्न शारिरीक अपांगता भएर पनि समाजमा उदाहरणीय योगदान पुरयाउन सफल आधा दर्जन बढि प्रतिभाले आफ्नो कला देखाउनेछन् ।

कार्यक्रमका लागि एउटा खुट्टाले नाचेर ख्याति कमाउन सफल कलाकार निलम ढुंगाना नेपालबाट आउने भएकी छन् । त्यस्तै, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण गरेका कीर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्य गर्दै आएका विनोद बुढाथोकी, अनिल गुरुङ, नेत्र राना, कौशल लिम्बू र शिव थजालीले कार्यक्रममा आफ्नो प्रतिभा देखाउनेछन् । त्यसैगरी, पछिल्लो सामाजिक कामहरुमा क्रियाशिल कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी रनर अप अमृता गिरी गजुरेलको प्रस्तुति पनि रहनेछ ।

च्यारिटी कार्यक्रमका संयोजक तथा एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगरले च्यारिटीबाट अपांगता भएकाहरुको सहयोगका लागि कोष संकलन गर्नुका साथै शारीरिक अपांगता भएर पनि आफ्नो विशेष कला र प्रतिभाको माध्यमबाट समाजमा उदाहरण प्रस्तुत गर्न सफल पात्रहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य राखिएको बताए ।

कार्यक्रमबाट संकलन हुने कोष नेपाल तथा बेलायतमा अपांगता भएकाहरुको लागि सहयोग गरिने जानकारी संयोजक गाहामगरले दिए ।

पत्रकार सम्मेलनमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले आफ्नो संस्था गैरआवासीय नेपालीहरुको साझा संस्थाका रुपमा समाजका हरेक तप्कासंग पुग्ने क्रममा समाजका फरक क्षमता भएका पात्रहरुलाई हौसला र सम्मान गर्न यो कार्यक्रम गर्न लागेको बताए ।
अध्यक्ष फगामीले च्यारिटी कार्यक्रमबाट कति रकम सहयोग गरिन्छ भन्दा पनि फरक क्षमता भएकाहरुको विशेष प्रतिभा र कलाको सम्मान तथा प्रोत्साहन बढि महत्वपूर्ण हुने भएकाले सोहिअनुसार कार्यक्रम गर्न लागिएको बताए ।

उपाध्यक्ष शेर सुनारले अपांगता भएर पनि समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नेहरुको सम्मानका लागि एनआरएन यूके सदैव तयार रहेको भन्दै उनीहरुलाई प्रोत्साहन गर्न आयोजना हुने कार्यक्रम सफल बनाउन सबैमा अपिल गरे ।

एनआरएनए यूकेका महासचिव आरके त्रिपाठीले यो कार्यक्रम समाजको लागि एउटा नयां र सकारात्मक सुरुआतको उदाहरण बन्ने विश्वास व्यक्त गरे । कार्यक्रमबाट कति पैसा उठ्ने भन्दा पनि कुन अवधारणा र लक्ष्यमा कार्यक्रम गरिंदैछ भन्ने विषयले बढि महत्व राख्ने उनको धारणा थियो ।

च्यारिटी कार्यक्रममा विशेष प्रस्तुति गर्ने हरि बुढा मगर, विनोद बुढाथोकी, नेत्र राना, शिव थजाली र अमृता गिरी गजुरेलले सेप्टेम्बर १ को कार्यक्रम समाजको लागि विशेष र प्रेरणादायक बन्ने भन्दै सहभागिताका लागि समुदायलाई आग्रह गरे ।

शारीरिक रुपमा असमान हुंदैमा व्यक्ति मानसिक तथा अन्य सबै हिसाबले पनि कमजोर नै हुन्छ भन्ने सोच गलत छ भनेर कार्यक्रमले प्रमाणित गरिदिने उनीहरुको दाबी छ ।

‘यो कार्यक्रमबाट हामीले कुनै सहयोगको अपेक्षा गरेका छैनौं, हामी त हाम्रो कला, प्रतिभा देखाएर तपाईं र समाजलाई सहयोग गर्न चाहन्छौं’- कार्यक्रममा सहभागिताका लागि अपिल गर्दै उनीहरुले एक स्वरमा भने, ‘यो कार्यक्रमले कति कोष संकलन गर्छ, कति सहयोग हुन्छ भन्ने महत्वपूर्ण होइन । यस्ता कार्यक्रमको सुरुवात महत्वपूर्ण कुरा हो । त्यसैले यस कार्यक्रम सफल पार्न तपाईंहरुको सहयोग, साथ पाउने हामीले आशा गरेका छौं ।’

कार्यक्रममा सहारा यूके अध्यक्ष मीन साईंला गुरुङ, यती नेपाली एशोसिएसन यूके महासचिव तथा पत्रकार बाचस्पति रेग्मी, एनआरएनए यूके धर्म विभाग प्रमुख होमनाथ पौडेल, सिता भण्डारी, प्रिमा भट्टराई, गिता बस्नेत पाण्डे लगायतले राम्रो उद्देश्यका साथ कार्यक्रम हुन लागेको भन्दै सफलताको शुभकामना दिएका थिए ।

एनआरएनए यूकेले गत 31 मार्चमा मात्र बक्सिङ शो सहितको च्यारिटी कार्यक्रम गरेको थियो । तर, विगतको कार्यक्रममा सहयोग प्रतिवद्धता गरिएको मध्ये केहि रकम अहिलेसम्म पनि उठ्न बांकी रहेको तथ्यलाई ध्यानमा राखेर यसपटक भने सहयोग प्रतिवद्धता भन्दा स्पोन्सर र टिकट विक्रीलाई बढि महत्व दिएर कोष संकलन गर्ने योजना संयोजक गाहामगरले सुनाए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री