बेलायतका नेपाली अकाउन्टेन्टहरुको संस्थामा नजन्मिंदै नेतृत्व हानथाप

लन्डन । बेलायतमा कार्यरत नेपाली अकाउन्टेन्टहरु संगठित हुनु आफैंमा स्वागतयोग्य कदम थियो । तर, एक एक हर हिसाब खोज्ने बौद्धिक पेशेवर ठानिएका अकाउन्टेन्टहरुको पहिलो भेला नेतृत्व चयनमा धेरै अल्झिएर अन्ततः निर्वाचन प्रक्रियामै पुग्यो ।
आइतबार साउथ हयारोस्थित आरएएफ असोसिएसनमा आयोजित नेपाली अकाउन्टेन्टहरुले पहिलो भेला सर्वसम्मत नेतृत्व चुन्न असफल भएपछि चुनावमै होमिएको हो ।

उक्त भेलामा बेलायतमा अकाउन्टिङ क्षेत्रमा काम गर्दै आएका झण्डै ९० जना सहभागी थिए । पहिलो सत्रमा उनीहरुले संस्थाको नाम, उद्देश्य, सञ्चालन विधि तथा संरचना, सदस्यता वितरण लगायतका कैयौं बुंदामा ‘हट डिवेट’ गरे जुन सराहनीय थियो । तर, दोस्रो सत्रमा जब नेतृत्व चयनको मुख्य अजेण्डा आयो तब माहोल तात्यो बेलायतकै तापक्रम जस्तो ।

भेलामा उपस्थित कतिपय सहभागीले धेरै पदहरु सिर्जना गरेर 
बांड्नु भन्दा एक जना संयोजक र अरु सबै साधारण सदस्यकै रुपमा रहेर संस्थाका लागि काम गर्दा उदाहरणीय सुरुआत हुने मत राखेका थिए । निकै बेरको छलफलपछि अन्त्यमा एक संयोजक, एक उपसंयोजक, एक सचिव, एक कोषाध्यक्ष र विभिन्न ५ विषयगत सहसंयोजक राख्ने सहमति बन्यो ।

नवनिर्वाचित संयोजक सरोज सापकोटा

पदहरु के कति राख्ने भन्ने सहमति बनेपनि ती पदहरुमा को को बस्ने भन्नेमा सहमति हुन सकेन । त्यहां कसैले सहमतिको प्रयास गरेको पनि देखिएन । ९ सदस्यीय कोअर्डिनेसन कमिटीमा अरु सबै पदमा सहमति बनेपनि संयोजक र सचिवका लागि निर्वाचन नै गर्नुपरयो । भेलाले 
सरोज सापकोटाको संयोजकत्वमा ९ सदस्यीय कोअर्डिनेसन कमिटी निर्वाचित गरेको हो ।

बेलायतमा कार्यरत नेपाली अकाउन्टेन्टहरुलाई संगठित 
गर्ने अभियानमा सक्रिय भूमिका खेलेका विज्ञान प्रसाईं संयोजक पदमा पराजित प्रसाईं निर्वाचन प्रक्रियालाई अस्वभाविक मान्दैनन् । ‘संस्थाको नेतृत्वमा को, कसरी आए भन्दा पनि कुन उद्देश्य र अवधारणामा संस्था स्थापना भएको छ, त्यो विषय बढि महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ’- प्रसाईंले भने- ‘त्यस हिसावले हामी सफल भएका छौं ।’

संस्था जन्मिन नपाउंदै नेतृत्वका लागि हानथाप गरेको कतिपय सहभागीलाई चित्त बुझिरहेको थिएन ।

भेला संयोजन गर्ने मध्येका एक समिरनाथ प्याकुरेलले भने सहमतिको प्रयास विफल भएपछि निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको दावी गरे । हामीले सहमति गराउने प्रयास गरेपनि कुरा मिल्न नसकेपछि उत्तम विकल्पको रुपमा निर्वाचनमै जानुपरेको हो, प्याकुरेलले प्रष्टिकरण दिए ।

नेपाली अकाउन्टेन्टहरुलाई संगठित 
गर्ने अभियानमा सक्रिय भूमिका खेलेका विज्ञान प्रसाईं

असोसिएसनले बेलायतमा क्रियाशील नेपाली प्रोफेसनल अकाउन्टेन्टहरुलाई संगठित गर्दै उनीहरुको करिअर विकास तथा क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने, उनीहरुबीचको सम्बन्ध र सहकार्य बढाउने साथै 
अकाउन्टिङ्गसंग सम्बन्धित बेलायती निकायहरुसंग सम्बन्ध विस्तार गर्ने लगायतका लक्ष्य लिएको छ । त्यस्तै, नेपालका लागि समेत स्किल ट्रान्सफर गराउने, नेपाल सरकारलाई अकाउन्टिङ्ग सम्बन्धी विषयमा परामर्श उपलब्ध गराउने, बेलायतमा पढाइ पुरा गरेका एसीसीएहरुलाई नेपालमा पनि पूर्ण मान्यता दिलाउन पहल गर्ने लगायतका लक्ष्य अघि सारेर 
संस्था स्थापना गरिएको छ ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री